मानव आवाज

२०८३ जेष्ठ २३ गते
00: 00: 00
२०८३ जेष्ठ २३ गते

विना न्यासुर तामाङ

आमा,

तिमी शब्द होइनौ,

मेरो जीवनको सबैभन्दा सुन्दर अनुभूति हौ

तिमी माया होइनौ मात्र,

मायाको सिङ्गो परिभाषा हौ

आमा,

म रोएको बेला आँसु पुछ्ने हात तिमी,

म लडेको बेला उठाउने साहस तिमी

आफू भोकै बसेर पनि

मेरो पेट भरिएको हेर्न चाहने मन तिमी

आमा,

मलाई हाँस्न सिकाउँदा

आफ्ना पीडाहरू लुकायौ,

मेरो भविष्य उज्यालो बनाउन

आफ्ना सपना त्याग्यौ

आमा,

तिम्रा हातका डामहरूमा

सङ्घर्षको कथा लेखिएको छ,

तिम्रा आँखाका रेखाहरूमा

मप्रतिको चिन्ताको इतिहास बसेको छ

आमा,

म सफल हुँदा सबैले ताली बजाउँछन्,

तर मेरो सफलताको जग बसाल्ने

त्यो मौन त्याग तिम्रो हो

म अगाडि बढ्दा सबैले देख्छन्,

तर मलाई अघि बढाउन

कति रात तिमी निदाउन सकिनौ,

त्यो कसैले देख्दैन

आमा,

संसारका सबै धनसम्पत्ति जुटे पनि,

तिम्रो माया किन्ने मूल्य हुँदैन

स्वर्ग कस्तो हुन्छ मलाई थाहा छैन,

तर तिम्रो काखभन्दा सुन्दर ठाउँ

यो संसारमा अरू कतै छैन

आमा,

यदि अर्को जन्म भन्ने केही छ भने,

म फेरि तिम्रै सन्तान बन्न पाऊँ,

फेरि तिम्रै काखमा हुर्किन पाऊँ,

फेरि तिम्रै ममताको छहारीमा

जीवन बिताउन पाऊँ

आमा,

मेरो पहिलो गुरु तिमी,

मेरो पहिलो साथी तिमी,

मेरो पहिलो संसार तिमी

देवी जस्ती आमा बन्न

आयौ मेरो सौभाग्य बनी

(२०८३/२/६)

Author

Share the News

Recent News

Related News