ललितपुर । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।
यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
भूकम्प नियमित प्राकृतिक प्रक्रिया, भविष्यवाणी सम्भव छैन : विज्ञ
भूकम्प पृथ्वीमा निरन्तर भइरहने नियमित प्राकृतिक प्रक्रिया भएको विज्ञहरूले बताएका छन् । पृथ्वीका सातओटा मुख्य टेक्टोनिक प्लेट निरन्तर सर्दै रहने क्रममा एक–आपसमा ठोक्किँदा भूकम्प जाने गर्छ ।
भूकम्प उत्पत्तिको गहिराइका आधारमा स्यालो, मिडियम र डिप गरी तीन प्रकारका हुन्छन् । पृथ्वीको सतहदेखि ३० किलोमिटरभित्र उत्पन्न हुने स्यालो भूकम्पले सबैभन्दा बढी क्षति पुर्याउने गर्छ । नेपालमा २०७२ वैशाख १२ गतेको भूकम्प पनि स्यालो प्रकृतिको थियो ।
भूकम्पका क्रममा उत्पन्न हुने तरङ्ग (वेभ) दुई प्रकारका हुन्छन्—बडी वेभ र सर्फिस वेभ । बडी वेभअन्तर्गत प्राइमरी र सेकेण्डरी तथा सर्फिस वेभअन्तर्गत रेली र लभ वेभ पर्छन् ।
सर्फिस वेभले बढी क्षति पुर्याउने गर्छ । भूकम्प होरिजेण्टल र भर्टिकल दुवै दिशामा फैलिन सक्छ, कहिलेकाहीँ दुवै एकैसाथ आएमा ठूलो विनाश हुने विज्ञहरूको भनाइ छ ।
भूकम्प रेक्टर स्केल र इन्टेन्सिटीमार्फत मापन गरिन्छ । रेक्टर स्केलले भूकम्पको शक्ति नाप्छ भने इन्टेन्सिटीले क्षतिको आधारमा अनुमान गर्छ, जसलाई कम विश्वसनीय मानिन्छ । १ देखि ४ रेक्टर स्केलसम्मका भूकम्पले सामान्यतया क्षति गर्दैनन् भने ५ रेक्टर स्केलभन्दा माथिका भूकम्प क्षतिकारक हुन्छन् ।
हालसम्म विश्वकै सबैभन्दा ठूलो भूकम्प सन् १९६० मा चिलीमा गएको ९.५ रेक्टर स्केलको भूकम्प हो । नेपालमा वि.सं. १९९० मा ८.४ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।
विज्ञहरूका अनुसार नेपालमा करिब ८० देखि १ सय वर्षको अन्तरालमा ठूलो भूकम्प आउने गरेको इतिहास छ, जसलाई ‘रिटर्न पिरियड’ भनिन्छ ।
भूकम्पको ठोस भविष्यवाणी भने अहिलेसम्म सम्भव भएको छैन । विज्ञानले पनि भूकम्पको ठ्याक्कै समय र क्षमताबारे भविष्यवाणी गर्न नसक्ने स्पष्ट गरेको छ ।
हाल फैलाइने भूकम्पसम्बन्धी भविष्यवाणीहरू निराधार हल्ला मात्र भएको विज्ञहरूको भनाइ छ । भूकम्प प्रायः पूर्वसङ्केत, मुख्य झड्का र त्यसपछिका सहायक झड्काका रूपमा आउने गर्छन् ।
सहायक भूकम्प (आफ्टरसक) मुख्य झड्काभन्दा ठूलो नहुने भए पनि कमजोर बनेका संरचनामा भने थप क्षति हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
फाइल फोटोः ललितपुर बुगमतीको २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त मन्दिर परिसर ।