पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले आफ्नो ११औँ चार्टर डे को अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा २०८२ पुस २१ गते पोखराको लेकसाइडस्थित हल्लनचोकमा सम्पन्न उक्त कार्यक्रममा ३० युनिट रगत सङ्कलन गरिएको छ ।
कार्यक्रमको उद्घाटन रोटरी डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले क्लबका पूर्व अध्यक्ष उपेन्द्र अधिकारी तथा उनकी पत्नी कृतिका सुवेदी अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो ।
उद्घाटन समारोहमा गभर्नर कोइरालाले रक्तदानलाई पुण्यको कार्यको रूपमा उल्लेख गर्दै चार्टर डे जस्तो अवसरमा सामाजिक उत्तरदायित्व वहन गरेकोमा क्लबप्रति आभार व्यक्त गर्नु भयो । उहाँले सामाजिक सेवामा रोटरी इन्टरनेशनल सधैँ सक्रिय रहँदै आएको बताउनु भयो ।
कार्यक्रममा रोटरी डिष्ट्रिक्ट सेक्रेटरी सुभाष सिग्देलले मानिसले जीवनकालमै पुण्यको काम गर्नुपर्नेमा जोड दिँदै अरूलाई बुद्धि, ज्ञान र सीप बाँड्न सक्नुपर्ने धारणा राख्नु भयो ।
क्लब अध्यक्ष राजेन्द्र लिगलले ‘लेकसाइड’ नाम अनुरूप पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमै रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । हाल क्लबमा ३१ जना रोटरियन आबद्ध रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू डा. वीरबहादुर कार्की, शोभाकान्त सिग्देल, अर्जुन खनाल, सामुदायिक केन्द्र बैदामका अध्यक्ष ठाकुर बराल, पत्रकार आरजु विष्ट सल्यानी तथा रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले शुभकामना मन्तव्य दिँदै रक्तदानको महत्वमाथि प्रकाश पार्नु भयो ।
क्लबका पब्लिक इमेज चेयर तथा कार्यक्रम संयोजक कृष्ण थापाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पोखरा भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकले समेत रक्तदान गरेका थिए ।
क्लबका एड्मिन चेयर कुलप्रसाद सुवेदीका अनुसार खुला रक्तदान कार्यक्रमबाट ३० युनिट रगत सङ्कलन भएको हो ।
कार्यक्रम संयोजक कृष्णबहादुर थापाले आफूले ८४औँ पटक रक्तदान गरेको जानकारी दिँदै १८ देखि ६५ वर्ष उमेर समूहका ४५ किलोभन्दा बढी तौल भएका स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सकिने बताउनु भयो ।
क्लब अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एड्मिन चेयर पर्सन कुलप्रसाद सुवेदीले गर्नुभएको थियो ।