चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीको रूपान्तरणका लागि तयार गरिएको विस्तृत ‘रिफर्मेसन मार्गचित्र’ केन्द्रीय समितिको विस्तारित बैठकमा प्रस्तुत गर्नु भएको छ ।
उहाँले २०८२ असोज २ गते पार्टी केन्द्रीय कार्यालयमा आधिकारिक रूपमा दर्ता भएको पत्रमार्फतै सुधारको माग उठाएको स्मरण गराउँदै, अहिलेको संवेदनशील राजनीतिक अवस्थाले पार्टीभित्र निर्णायक सुधार आवश्यक रहेको स्पष्ट धारणा राख्नु भयो ।
डा. कार्कीले हालैको जेनजी आन्दोलनमा राज्यद्वारा भएको दमन, व्यापक क्षति र देशभर देखिएको राजनीतिक–सामाजिक असन्तोषका कारण देश महत्वपूर्ण मोडमा पुगेको बताउनु भयो ।
उहाँका अनुसार यस्तो परिस्थितिमा प्रत्येक जिम्मेवार राजनीतिक संरचनाले आफ्नो कार्यप्रणाली, विचार र संगठनमा गहिरो पुनरावलोकन तथा सुधारका कदम चाल्नैपर्ने आवश्यक छ।
महाधिवेशनलाई ‘पार्टीको अक्सिजन’
मार्गचित्रमा उहाँले २०८२ मङ्सिरमै रास्वपाको महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ ।
महाधिवेशनले पार्टीमा नयाँ उर्जा, वैचारिक स्पष्टता र सङ्गठन विस्तार हुने भएकाले आगामी निर्वाचनमा रास्वपालाई बलियो मुख्यधारको पार्टीका रूपमा उभ्याउने उहाँको तर्क छ ।
उहाँका अनुसार करिब एक वर्षअघि भएको राष्ट्रिय भेलाले हालको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिका रूपमा परिणत गरिसकेको हुँदा, अहिले अस्तित्वमा रहेको पदाधिकारी र सचिवालयलाई भङ्ग गरी केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता छ ।
साथै, जेनजी, वैकल्पिक शक्ति र बौद्धिक समुदायलाई महाधिवेशन प्रक्रियामा सहभागी गराएर समावेशी र विविधतामूलक संरचना बनाउनुपर्नेमा उहाँको जोड छ।
साझा चुनाव चिन्हसहित पार्टी एकताको प्रस्ताव
डा. कार्कीले वैचारिक रूपमा नजिक राजनीतिक शक्तिहरूसँग घण्टी चुनाव चिन्ह साझेदारी गर्दै एकता प्रक्रिया अघि बढाउन रास्वपाले अग्रसारी भूमिका खेल्नुपर्ने बताउनु भयो ।
ठूला वा साना, दुवै प्रकारका दलप्रति पार्टीले उदार र समावेशी व्यवहार प्रदर्शन गर्नुपर्ने समेत उहाँको प्रस्तावमा उल्लेख छ ।
मध्यमार्गी ध्रुवीकरणको नयाँ नेतृत्व गर्ने लक्ष्य
उहाँले नेपाली राजनीति लामो समयदेखि वाम–दक्षिण ध्रुवीकरणमा बाँधिएको भन्दै, रास्वपाले स्वयम्लाई स्पष्ट मध्यमार्गी राजनीतिक शक्तिका रूपमा पुनर्संरचना गर्दै नयाँ प्रकारको ध्रुवीकरण–लोककल्याणकारी, दिगो र नागरिक–केन्द्रित राजनीति–को नेतृत्व गर्नुपर्ने धारणा राख्नु भयो ।
देशमा आर्थिक सुशासन, शिक्षा–स्वास्थ्य, रोजगारी, प्राविधिक विकास र सांस्कृतिक आत्मविश्वासजस्ता मूल एजेण्डा उपेक्षित हुनु र परम्परागत दलहरूको गैरजिम्मेवार अभ्यासले राज्यको क्षति बढाएको बताउँदै नेतृ कार्कीले रास्वपालाई वैचारिक, सैद्धान्तिक र व्यवहारिक रूपान्तरणतर्फ लैजानै पर्नेमा जोड दिनु भयो ।
“रिफर्मेसन पदका लागि होइन, पार्टीको मुख्य धार निर्माणका लागि”
हालै सचिवालय विस्तारका क्रममा आफूलाई पदमा समावेश गर्ने प्रस्तावसमेत आफूले अस्वीकार गरेको जानकारी दिँदै डा. कार्कीले रिफर्मेसनको एजेण्डा कुनै पदोनोन्नतिका लागि नभई “सबै अट्ने, सबै खट्ने” पार्टी–संस्कृति निर्माणका लागि उठाइएको बताउनु भयो ।
आफूले पेश गरेको मार्गचित्र लागू भए रास्वपा वैचारिक, सङ्गठनात्मक र नीतिगत रूपमा अझ सुदृढ, समावेशी र जनउत्तरदायी दलको रूपमा उदाउने विश्वास उहाँले बैठकमा व्यक्त गर्नु भयो ।