मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

कर्मफ्लाइट्स फाउण्डेसन नेपालको साधारणसभा तथा अधिवेशन सम्पन्न

पोखरा । दुर्गम तथा पछाडि पारिएका क्षेत्रका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले सक्रिय कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन पोखरामा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका-६, बङ्गलादीमा रहेको फाउण्डेसनको अधिवेशन २०८३ भदौ २० गते नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले सामाजिक संस्थाहरूले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले फाउण्डेसनले विद्यालय शैक्षिक सुधार, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार, खानेपानी तथा सरसफाइ र स्वास्थ्यलगायतका क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभयो ।

फाउण्डेसनका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले यस अवधिमा संस्थाले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) शिक्षक तालिम, आईसीटी कम्प्युटर ल्याब स्थापना, ‘एक विद्यालय एक पुस्तकालय’ कार्यक्रम, विद्यार्थीलाई न्यानो ज्याकेट, जुत्तामोजा तथा स्टेशनरी वितरण, छात्रवृत्ति, स्वास्थ्य शिविर, बर्थिङ सेन्टर, आईसीयू नर्सिङ तालिमलगायतका कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

त्यसैगरी पर्वतीय विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम, पोषण सूचना कर्नर, सामुदायिक स्वास्थ्य दिगोपना कोष स्थापना, अत्यावश्यक औषधि सहयोग, स्यानिटरी प्याड तथा सिलाइ तालिम र सौर्य ऊर्जा प्रणाली मर्मत तथा सर्भिसिङलगायतका कार्यक्रम पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

साधारण सभाका अवसरमा समाज रूपान्तरणमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मानसमेत गरिएको थियो ।

अधिकारकर्मी तथा पत्रकार मधु पन्थी, एक्सन अटोनमि नेपाल पोखराका अध्यक्ष बोधराज पौडेल, एजुकेसन फर लाइफका कृष्ण पोखरेल र पर्यटन व्यवसायी विकास पहारी सम्मानित हुनुभएको थियो ।

संस्थापक सचिव तथा निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर थापाका अनुसार फाउण्डेसनको कार्यक्षेत्र गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, पर्वत, बागलुङ, मुस्ताङ र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेशका गुल्मी र रुकुम पूर्व, कर्णाली प्रदेशका रुकुम पश्चिम, जाजरकोट, डोल्पा र हुम्ला तथा बागमती प्रदेशका सिन्धुपाल्चोक, भक्तपुर र नुवाकोट गरी १८ जिल्ला रहेको छ ।

साधारणसभामा संस्थाको यसअघिको कार्यप्रगतिको समीक्षा गर्दै आगामी योजनाबारे छलफल गरिएको थियो ।

सचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफलपछि सुझावसहित सर्वसम्मत रूपमा पारित गरिएको स्वास्थ्य उपसमिति संयोजक कृष्णप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका-६ का सदस्य पवित्रा थापा, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका निवर्तमान अध्यक्ष डण्डराज शर्मा पौडेल, पोखरा महानगर प्रज्ञा सभा सदस्य तथा पत्रकार रविन्द्र माकाजू, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, नेपाल हवाई खेलकुद संस्थाका महासचिव बलराम आचार्य, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, पंक्षी समाज पोखराका अध्यक्ष शेषकान्त शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिव थापाले स्वागत र सचिव कुलप्रसाद अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार