मानव आवाज

२०८३ भदौ १८ गते
00: 00: 00
२०८३ भदौ १८ गते

भोटेकोशीको कहरमा उत्तरगया: ८ हजार ५ सय ५५ जनाको जीवनमाथि विपद्को प्रहार

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको उत्तरगया गाउँपालिकालाई मानवीय र भौतिक रूपमा गम्भीर प्रभावित बनाएको छ ।

बाढीले नदी किनारका बस्ती, सडक, विद्यालय तथा गाउँपालिकाका प्रशासनिक संरचनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन् ।

गाउँपालिकाका दुई ओटै प्रशासनिक भवनमा क्षति पुगेको र भोटेकोशी तटीय क्षेत्रमा करिब दर्जन बस्ती प्रभावित भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

तर बाढीले पुर्‍याएको क्षति बुझ्न भत्किएका घर, सडक र भवन गनेर पुग्दैन । बाढीले कति मानिसलाई जोखिममा पार्‍यो भन्ने बुझ्न प्रभावित क्षेत्रको जनसाङ्ख्यिक संरचनासँग विपद्को प्रभावलाई जोडेर हेर्न आवश्यक हुन्छ ।

तथ्याङ्कअनुसार उत्तरगया गाउँपालिकामा ८ हजार ५ सय ५५ जना मानिस बसोबास गर्छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्तरगयाका पाँच ओटै वडा बाढी प्रभावित छन् ।

उत्तरगया गाउँपालिकाको वडा नं १ मा १ हजार २ सय ५, वडा नं २ मा १ हजार २ सय ७७, वडा नं ३ मा १ हजार १ सय १३, वडा नं ४ मा २ हजार ४८ र वडा नं ५ मा २ हजार ९ सय १२ जनसङ्ख्या रहेको छ ।

उत्तरगयाका स्थानीय विक्रम थापामगरका अनुसार सबैभन्दा बढी क्षति वडा नं १ ४ र ५ मा भएको छ ।  अर्थात् कुल जनसङ्ख्याको करिब ५०.४५ प्रतिशत महिला र ४९.५५ प्रतिशत पुरुष छन् । गाउँपालिकामा २,४५८ घरधुरी रहेका छन् । यस आधारमा एउटा घरधुरीमा औसत करिब ४.३० जना बसोबास गर्छन् ।

उत्तरगया गाउँपालिकाको वडा नं ४ मा रहेको पैरेबेशीमा मात्रै ६० जना बाढीले सम्पर्कविहीन भएका छन् । उत्तरगयाको वडा नं ५ मा रहेका खाल्टे र बेत्रावतीको अवस्था भयावह रहेको पत्रकार हेमनाथ खतिवडाले जानकारी दिनुभयो ।

१०४.५१ वर्ग किलोमिटरमा ८ हजारभन्दा बढी मानिस

उत्तरगया गाउँपालिकाको क्षेत्रफल १०४.५१ वर्ग किलोमिटर छ । उपलब्ध जनसङ्ख्यालाई क्षेत्रफलसँग तुलना गर्दा यहाँ प्रतिवर्ग किलोमिटर करिब ८२ जना मानिसको बसोबास देखिन्छ ।

यो तथ्याङ्क बाढीको सन्दर्भमा महत्वपूर्ण छ । किनकि गाउँपालिकाको भौगोलिक क्षेत्रफल ठूलो भए पनि नदी तथा तटीय क्षेत्रमा बस्ती केन्द्रित हुँदा जोखिम समान रूपमा वितरण हुँदैन ।

भोटेकोशी र त्रिशूली आसपासका बस्तीमा बाढीको प्रत्यक्ष प्रभाव बढी देखिएको प्रारम्भिक विवरणले पनि यही कुरा देखाउँछ ।

उत्तरगयाका स्याफ्रुबेँसी, बेत्रावती, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेँसी, खाल्टे तथा आसपासका बस्तीमा क्षति पुगेको रिपोर्ट सार्वजनिक भएका छन् ।

२३७ अपाङ्गता भएका नागरिक : विपद्मा थप जोखिम

उत्तरगया गाउँपालिकामा २ सय ३७ जना अपाङ्गता भएका व्यक्ति रहेको तथ्याङ्कले विपद् व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष देखाउँछ ।

सामान्य अवस्थामा पनि सेवा तथा पहुँचका चुनौती सामना गरिरहेका यस्ता नागरिकका लागि अचानक आउने बाढी, सुरक्षित स्थानमा स्थानान्तरण, उद्धार, औषधि, खाना र अस्थायी आवासको व्यवस्थापन थप जटिल हुन्छ ।

त्यसैले उत्तरगयाको बाढीसम्बन्धी क्षति मूल्याङ्कन गर्दा कति घर बगे भन्ने मात्र होइन, ती घरमा रहेका अपाङ्गता भएका नागरिकको अवस्था के भयो भन्ने तथ्याङ्क पनि अलग्गै सङ्कलन गर्नुपर्ने देखिन्छ ।

तामाङ समुदायको ठूलो उपस्थिति

उत्तरगयाको सामाजिक संरचनामा तामाङ समुदायको जनसङ्ख्या ३ हजार ८ सय २१ अर्थात ४४.७ प्रतिशत छ । त्यसपछि ब्राह्मण २ हजार २ सय २९ अर्थात २६.१ प्रतिशत छन् । बाँकी जनसङ्ख्या अन्य समुदायमा विभाजित छ ।

यसले बाढीपछिको पुनर्स्थापना पनि भौतिक पुनर्निर्माणको विषय नभएको देखाउँछ । भाषा, संस्कृति, परम्परा, सामाजिक सञ्जाल र समुदायको जीवनपद्धतिलाई समेत पुनर्स्थापनाको योजनामा समेट्नुपर्ने हुन्छ ।

बौद्ध बहुल गाउँपालिका

धार्मिक संरचनामा बौद्ध धर्मावलम्बी ५४.३ प्रतिशत छन् । हिन्दू धर्मावलम्बी ४३.३ प्रतिशत, इसाई २.२ प्रतिशत छन् ।

अर्थात् उत्तरगयामा बाढीपछिको पुनर्स्थापना गर्दा धार्मिक तथा सांस्कृतिक संरचनालाई पनि बेवास्ता गर्न मिल्दैन ।

विस्थापित परिवारको अस्थायी आवास, सामुदायिक संरचना तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय सामाजिक संरचनाको भूमिका महत्वपूर्ण हुन सक्छ ।

बाढीले प्रशासनिक संरचनामै प्रहार

उत्तरगया गाउँपालिकाको बाढीको अर्को गम्भीर पक्ष के हो भने विपद् व्यवस्थापन गर्नुपर्ने स्थानीय सरकारकै संरचना प्रभावित भएको छ ।

गाउँपालिकाका नयाँ र पुराना दुवै प्रशासनिक भवनमा क्षति पुगेको उपाध्यक्ष चमेली गुरुङले सञ्चारकर्मीलाई बताउनुभएको छ ।

यसको अर्थ बाढीले नागरिकलाई मात्र होइन, नागरिकलाई राहत, उद्धार र सेवा दिनुपर्ने संस्थागत क्षमतामाथिसमेत प्रहार गरेको छ ।

खाल्टे क्षेत्रमा गाउँपालिकाको कार्यालय भवन बगेपछि महत्वपूर्ण अभिलेखसमेत नष्ट भएको र प्रहरी संरचनासमेत प्रभावित भएको स्थानीय विवरण सार्वजनिक भएको छ ।

सडक सम्पर्क विच्छेद हुँदा राहतमा थप चुनौती

बाढीले उत्तरगया-५ खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्डमा समेत ठूलो क्षति पुर्‍याएको छ । यसले प्रभावित बस्तीमा राहत तथा उद्धार सामग्री पुर्‍याउने कामलाई थप कठिन बनाएको छ ।

सडक अवरुद्ध हुनुको अर्थ खाद्यान्न, औषधि, पानी, लत्ताकपडा र अन्य राहत सामग्रीको आपूर्ति प्रभावित हुनु मात्र होइन ।

बिरामी, गर्भवती, बालबालिका, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षित स्थानान्तरणसमेत कठिन हुनु हो ।

अब राहतसँगै तथ्याङ्कमा आधारित पुनर्स्थापना

भोटेकोशी बाढीको प्रारम्भिक क्षतिको विवरण अझै पूर्ण भइसकेको छैन । जिल्ला प्रशासन कार्यालय, रसुवाले समेत बाढीपछि सम्पर्कविहीन व्यक्ति, उद्धार गरिएका नागरिक, शव सङ्कलन तथा अन्य विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

त्यसैले उत्तरगयाका लागि अबको प्राथमिकता घरधुरीगत क्षति विवरण, मृतक तथा बेपत्ता, विस्थापित परिवार, बालबालिका, अपाङ्गता भएका व्यक्ति, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, सडक, पुल, विद्युत् र सरकारी संरचनाको छुट्टाछुट्टै तथ्याङ्क तयार गर्नु हो ।

उद्धार, उपचार, राहतलगायतका पहिलो चरणका काम नै एक साता बितिसक्दा हुनसकेको छैन । पुनर्स्थापनाको काम त दोस्रो चरणमा हुने हो ।

उत्तरगयामा बाढीले बगाएको कुरा घर र भौतिक संरचना होइन । ८ हजार ५ सय ५५ मानिसको सामाजिक जीवन र एउटा स्थानीय सरकारको सेवा प्रवाह गर्ने क्षमतामाथि एकैपटक प्रहार भएको छ ।

यही कारण उत्तरगयाको बाढीलाई ‘कति घर बगे ?’ भन्ने प्रश्नबाट मात्र होइन, ‘कति मानिसको जीवन कति तहमा प्रभावित भयो ?’ भन्ने प्रश्नबाट हेर्नुपर्छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार