मानव आवाज

२०८३ भदौ २२ गते
00: 00: 00
२०८३ भदौ २२ गते

भोटेकोशी बाढीका मृतकप्रति राष्ट्रको सम्मान, आज देशभर शोक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्मानमा नेपालले आज राष्ट्रिय शोक मनाउँदै छ ।

२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय ‘हिमाली सुनामी’ले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सरकारले मृतकप्रति सम्मान व्यक्त गर्दै आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

२०८३ भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

राष्ट्रिय शोकका अवसरमा आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी अहिलेसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको पुष्टी भएको छ । बाढीपछि ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन छन् भने ६ हजार ८३ जना घाइते भएका छन् ।

विपद्मा परेकाहरूको खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको जनाइएको छ ।

राष्ट्रिय शोकले भोटेकोशी बाढीमा ज्यान गुमाउने नागरिकप्रति राज्यको औपचारिक सम्मान व्यक्त गरे पनि ठूलो सङ्ख्यामा नागरिक अझै सम्पर्कविहीन रहेको अवस्थाले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनर्निर्माण पनि अहिलेको अर्को महत्वपूर्ण चुनौती बनेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार