मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नेकपा (एस) को बैठक: निर्वाचन, एकता र संविधान रक्षा प्राथमिकतामा

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको एघारौँ बैठक सम्पन्न भएको सो पार्टीले जनाएको छ ।

पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा असोज २४ र २६ गते काठमाडौंमा बसेको बैठकले देशको वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पाँच ओटा निर्णयहरू गरेको छ ।

बैठकले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै निर्वाचनको भरपर्दो वातावरण बनाउन सम्वाद र सहकार्यलाई अघि बढाउने निर्णय गरेको छ ।

बैठकले गणतन्त्र र संविधानको पक्षमा रहेका शक्तिहरूसँग संवादको प्रक्रिया विस्तार गर्ने र सहकार्यलाई सुदृढ बनाउने नीति लिएको छ ।

त्यसैगरी, वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरूसँगको एकतासम्बन्धी वार्ता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दशौँ बैठकबाट गठन गरिएको वार्ता समितिलाई जिम्मेवारी दिइएको छ । पार्टीले छिट्टै सार्थक नतिजा आउने अपेक्षासमेत व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै पार्टीले निर्वाचनको तयारीमा जुट्ने बताएको छ ।

साथै, पार्टीले असोज २९ गते स्थायी कमिटीको बैठक तथा असोज ३० गते केन्द्रीय कमिटीको भर्चुअल बैठक गर्ने निर्णय पनि गरेको छ ।

निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ मतदाताको नाम दर्ता गर्ने प्रक्रियालाई अगाडि बढाइरहेकाले, उक्त प्रक्रियामा सक्रिय सहभागिता जनाउन पार्टी र जनवर्गीय सङ्गठनका सबै कमिटीहरूलाई निर्देशन दिइएको उपाध्यक्ष तथा केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जनाएका छन् ।

पार्टीले सबै नयाँ योग्य मतदाताहरुलाई नाम दर्ता प्रक्रियामा सहभागी हुन अपिल गर्दै लोकतान्त्रिक अभ्यासमा जनसहभागिताको सुनिश्चितता गर्न आह्वान गरेको छ ।

Author

Related News