काठमाडौँ । कात्तिक १७ गतेका लागि तय गरिएको मनाङ प्रदेशसभा (क) क्षेत्रको उपचुनाव स्थगित गरिएको छ ।
सरकार र निर्वाचन आयोगका पदाधिकारीबिच २०८२ असोज १९ गते भएको छलफलपछि उक्त मितिमा उपचुनाव नगर्ने गरी स्थगित गरिएको जनाइएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले नयाँ मिति पछि तय गर्ने जानकारी दिनु भएको छ ।
उहाँका अनुसार असोज २२ र २३ गते दल दर्ताका लागि कार्यतालिका सार्वजनिक भइसकेको भए पनि पछिल्ला घटनाक्रमले चुनावी तयारी प्रभावित भएको छ ।
भण्डारीका अनुसार जेन जेड आन्दोलनपछिको राजनीतिक अवस्था र अहिलेको विपदपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै आयोगले उपचुनाव स्थगित गर्ने निर्णय गरेको हो ।
यसअघि प्रतिनिधिसभा विघटनसँगै रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव पनि रद्द भइसकेको थियो ।
गत भदौ १३ गते बसेको आयोगको बैठकले मनाङमा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो।
सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि त्यो क्षेत्र रिक्त छ।
