पोखरा । गण्डकी प्रदेश सरकारले क्यान्सर रोगको उपचारका लागि आर्थिक सहायता कार्यक्रमको घोषणा गरेको स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बताउनु भयो ।
‘क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०७९’ अन्तर्गत प्रदेशका क्यान्सर रोगीहरूलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइने मन्त्री पाठकको भनाइ छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी देशभरका विभिन्न ६ ओटा प्रमुख अस्पतालहरूसँग सम्झौता गरिएको र ती अस्पतालहरूमा उपचार गराउने बिरामीहरूले यो सहायता प्राप्त गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. रमेशकुमार केसीले जानकारी दिनु भयो ।
प्रदेश सरकारले काठमाडौँको वीर अस्पताल, चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौँकै निजामती कर्मचारी अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र काठमाडौँको कान्ति बाल अस्पतालसँग छुट्टाछुट्टै सम्झौता गरेको मन्त्री पाठकले जानकारी दिनु भयो ।
नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम सहुलियत प्राप्त गरिसकेको व्यक्तिलाई सेवा दिइने प्रवक्ता डा. केसीको भनाई छ ।
सहुलियतका लागि बिरामी वा निजको नातेदारले अस्पतालमा पेस गर्नुपर्नेछ । सम्बन्धित अस्पतालले बिरामीको उपचारमा लागेको खर्च मन्त्रालयमा माग गरी शोध भर्नाका रूपमा प्राप्त गर्ने छन् ।
यो सेवा स्थायी ठेगाना गण्डकी प्रदेशका ११ ओटै जिल्लाको जुनसुकै ठाउँका बिरामीले प्राप्त गर्ने स्वास्थ्यमन्त्री पाठकको भनाइ रहेको छ ।
