सिन्धुली । घ्याङलेख गाउँपालिकाले नवनिर्मित प्रशासनिक भवन जग्गादातामध्येका ज्येष्ठ नागरिक ८२ वर्षीय औतारसिंह भ्लोनबाट उद्घाटन गराएको छ ।
राजनीतिक दलका नेता तथा उच्च तहका जनप्रतिनिधिबाट सरकारी भवन उद्घाटन गराउने प्रचलित अभ्यासलाई छाड्दै गाउँपालिकाले २०८३ मङ्सिर ९ गते भवन उद्घाटन गराएको हो ।
भवन उद्घाटनका क्रममा भ्लोनले स्थानीय स्रोत र साधनको उपयोग गर्दै गाउँपालिकाले नागरिकलाई सेवा तथा सुविधा उपलब्ध गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
विकास निर्माणका कामलाई जनतासँग जोड्दै आधारभूत आवश्यकता पूरा गर्ने दिशामा स्थानीय सरकार अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले गाउँका नागरिकलाई विकासबारे थप ज्ञान र चेतना प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै विकास, सुशासन, समृद्धि र मानवअधिकारलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि स्थानीय नागरिकले गाउँपालिकाबाट प्रदान गरिने सेवा तथा सुविधा सहज रूपमा प्राप्त गर्न सक्ने बताउनुभयो ।
लामो प्रतीक्षापछि आफ्नै भवनबाट प्रशासनिक सेवा सञ्चालन गर्न पाउने भएपछि स्थानीयवासी उत्साहित भएको उहाँले बताउनुभयो ।
अध्यक्ष भोलनका अनुसार आफ्ना दुई कार्यकालको अवधिमा पालिकाका नागरिकले आफ्नै प्रशासनिक भवनबाट सेवा प्राप्त गर्ने अवसर सुनिश्चित हुनु महत्वपूर्ण उपलब्धि हो ।
भवन निर्माणमा ढिलाइ भए पनि निर्माण कार्य सम्पन्न भएपछि नागरिकलाई सेवा प्रवाहमा सहजता आउने उहाँको भनाइ थियो ।
गाउँपालिकाका उपाध्यक्ष शङ्करमान घलानले भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलाइ भएको बताउनुभयो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदार कम्पनी पीपी-ईश्वरी जेभीले तीन पटक म्याद थप गर्दै पाँच वर्षमा निर्माण कार्य पूरा गरेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले नयाँ प्रशासनिक भवनबाट नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्न सहज हुने बताउनुभयो ।
उहाँले भवनबाट सेवा सञ्चालन गर्दा सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।
भवन निर्माणका लागि जग्गा दान गर्ने दातामध्येका ज्येष्ठ सदस्यबाट उद्घाटन गराउने निर्णय गाउँपालिकाको कार्यपालिकाले गरेको गाउँपालिकाका कर्मचारी भरतजङ्ग थापाले जानकारी दिनुभयो ।
सामान्यदेखि ठूला सरकारी संरचनासमेत उच्च तहका नेता तथा जनप्रतिनिधिबाट उद्घाटन गराउने परम्परालाई तोड्दै जग्गादातामध्येका ज्येष्ठ नागरिकबाट भवन उद्घाटन गराउने निर्णय गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका अनुसार ६ करोड ९५ लाख रुपियाँ लागतमा प्रशासनिक भवन निर्माण गर्न २०७८ असोजमा काम सुरु गरिएको थियो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन ठेकेदार कम्पनीले तीन पटक म्याद थप गर्दै पाँच वर्षमा पूरा गरेको हो ।