मानव आवाज

२०८३ मङ्सिर ७ गते
00: 00: 00
२०८३ मङ्सिर ७ गते

पोखराका कृषकले गरे वातावरणमैत्री कृषि प्रविधिको अवलोकन

कृषि यान्त्रीकरण प्रदर्शनी र इसिमोडको ज्ञान केन्द्र अवलोकन, ३५ जना सहभागी

पोखरा । पोखरा महानगरपालिकाका वडा स्तरीय कृषि सञ्जालका पदाधिकारी, कृषि प्राविधिक तथा सञ्चारकर्मीले आधुनिक कृषि प्रविधि र वातावरणमैत्री खेती प्रणालीको अध्ययन तथा अवलोकन गरेका छन् ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको आयोजनामा महाशाखा प्रमुख मनहर कडरियाको नेतृत्वमा २०८३ मङ्सिर ५ र ६ गते दुईदिने अध्ययन अवलोकन भ्रमण गरिएको हो ।

भ्रमणका क्रममा सहभागीले काठमाडौँको भृकुटीमण्डपमा आयोजित ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ नारासहितको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ तथा ललितपुरको गोदावरी नगरपालिका-३ स्थित इसिमोडको ज्ञान तथा सिकाइ केन्द्र अवलोकन गरेका थिए ।

महाशाखा प्रमुख कडरियाले किसानलाई प्रविधिबारे सैद्धान्तिक जानकारी दिनुभन्दा त्यसको प्रयोग भइरहेको स्थानमै लगेर देखाउँदा बढी प्रभावकारी हुने भएकाले अवलोकन भ्रमण आयोजना गरिएको बताउनुभयो ।

प्रत्यक्ष अवलोकन र प्रयोगको विधि बुझ्न पाउँदा किसानलाई आफ्नो खेती प्रणालीमा नयाँ प्रविधि अपनाउन सहज हुने उहाँको भनाइ थियो ।

गोदावरीस्थित इसिमोडको ज्ञान तथा सिकाइ केन्द्रमा सहभागी टोलीले कृषि उत्पादनसँगै प्राकृतिक स्रोत संरक्षणलाई जोडेर गरिएका विभिन्न नमुना अभ्यासको अवलोकन गरेको थियो ।

त्यहाँ भिरालो जमिनमा खेती गर्ने प्रविधि, माटोको उर्वराशक्ति जोगाउने उपाय, प्राङ्गारिक मल उत्पादन, थोपा सिँचाइ, मौरीपालन, च्याउ खेती तथा फलफूल उत्पादनसम्बन्धी गतिविधिबारे जानकारी लिइएको थियो ।

इसिमोडका प्रतिनिधि जम्बु शेर्पाले संस्थाले गोदावरीमा वन संरक्षण, क्षयग्रस्त जमिनको पुनःस्थापना, पानीका मुहानको संरक्षण, वर्षाको पानी संकलन, दिगो कृषि तथा वैकल्पिक ऊर्जासम्बन्धी प्रविधिको परीक्षण र प्रदर्शन गर्दै आएको जानकारी दिए ।

भ्रमणको उद्देश्य पोखराका कृषकलाई आधुनिक कृषि प्रविधि, वन संरक्षण, पानीका मुहानको पुनर्जीवन तथा वातावरणमैत्री खेती प्रणालीबारे व्यावहारिक ज्ञान प्रदान गर्नु रहेको महाशाखाले जनाएको छ ।

अवलोकनमा सहभागी कृषकहरूले विभिन्न कृषि प्रविधि र वातावरणमैत्री अभ्यासबारे प्रत्यक्ष जानकारी लिन पाएको भन्दै भ्रमण प्रभावकारी भएको बताएका छन् । आफ्नो खेतीको प्रकृति र आवश्यकताअनुसार उपयोगी प्रविधि अपनाउने उनीहरूको भनाइ थियो ।

काठमाडौं र ललितपुरमा गरिएको अध्ययन अवलोकनले कृषि उत्पादन बढाउन, लागत घटाउन तथा प्राकृतिक स्रोतको संरक्षण गर्दै दिगो खेती प्रणाली विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अवलोकन भ्रमणमा पोखरा महानगरपालिकाका वडा स्तरीय कृषि सञ्जालका पदाधिकारी, कृषक, कृषि प्राविधिक तथा सञ्चारकर्मीसहित ३५ जनाको सहभागिता थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार