मानव आवाज

२०८३ मङ्सिर २ गते
00: 00: 00
२०८३ मङ्सिर २ गते

कास्कीका मतदानस्थल पुनरावलोकन गर्न सर्वदलीय तथा सर्वपक्षीय छलफल

पोखरा । आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीस्वरूप कास्की जिल्लाका मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सर्वदलीय तथा सर्वपक्षीय छलफल सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा २०८३ मङ्सिर १ गते जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा मतदानस्थल पुनरावलोकनसम्बन्धी बैठक तथा छलफल सम्पन्न भएको हो ।

यसअघि स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलहरूले विभिन्न मतदानस्थल संशोधन गर्न माग गर्दै आएका थिए ।

तल्लो तहबाट प्राप्त माग र सुझावका आधारमा निर्वाचन आयोगले मतदानस्थल पुनरावलोकन प्रक्रिया अघि बढाएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा भएको छलफलमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग जिल्लाका मतदानस्थलको अवस्थाबारे प्रारम्भिक समीक्षा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गुरुङले जिल्लामा रहेका मतदानस्थलको अवस्था पुनरावलोकन गर्न समितिमार्फत प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

मतदानस्थल थप्ने, घटाउने, नाम परिवर्तन गर्ने वा गाभ्ने विषयमा जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधिसहितको पुनरावलोकन समिति रहने व्यवस्था छ ।

वडा तथा स्थानीय तहबाट सिफारिस प्राप्त भएपछि जिल्ला प्रशासनले आवश्यक अध्ययन गरी निर्वाचन आयोगमा सिफारिस गर्ने र अन्तिम निर्णय आयोगले गर्ने प्रक्रिया रहेको उहाँले बताउनुभयो ।

प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशका प्रदेश निर्वाचन अधिकारी जीवन ज्ञवालीले कास्कीमा हाल १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्र रहेको जानकारी दिनुभयो । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको उहाँले बताउनुभयो ।

छलफलमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाका प्रमुख, प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपाने, जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा जिल्ला समन्वय अधिकारी नवराज बराललगायत सहभागी थिए ।

छलफलमा सहभागी जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूले केही मतदानस्थलको स्थान र नाम सच्याउनुपर्ने, अपायक परेका मतदानस्थल सार्नुपर्ने तथा केही वडामा नयाँ मतदानस्थल थप्नुपर्ने सुझाव दिएका छन् ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार