मानव आवाज

२०८३ मङ्सिर २ गते
00: 00: 00
२०८३ मङ्सिर २ गते

पोखरामा ‘आरयू फेस्ट २०२६’ आयोजना, के हो आरयू फेस्ट ?

पोखरा । फोहोरलाई आम्दानी र रोजगारीको स्रोतका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरामा ‘आरयू फेस्ट २०२६’ आयोजना गरिएको छ ।

पोखरा महानगरपालिकाको आयोजना तथा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा २०८३ मङ्सिर २ र ३ गते फेस्ट आयोजना गरिएको हो ।

‘फोहोरलाई नयाँ दृष्टिकोणबाट हेरौँ, यसको मूल्य पहिचान गरौँ र पोखराको भविष्यलाई चक्रीय बनाऔँ’ भन्ने नारासहित आयोजना गरिएको दोस्रो संस्करणको ‘आरयू फेस्ट-२०२६ : रि-थिङ्क २०२६’ बारे जानकारी दिन २०८३ मङ्सिर १ गते पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेस्टको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रमुख आचार्यका अनुसार फेस्टले पुनः प्रयोग तथा पुनर्चक्रण (रियुज एन्ड रिसाइकल) मा संलग्न उद्यमी, युवा नवप्रवर्तक, विद्यार्थी, समुदाय, निजी क्षेत्र र सर्वसाधारणलाई एउटै साझा मञ्चमा जोड्नेछ ।

फालिएका तथा प्रयोग भइसकेका सामग्रीलाई नवीन, उपयोगी र वातावरणमैत्री उत्पादनमा रूपान्तरण गर्ने सम्भावना र अभ्यासलाई प्रवर्द्धन गर्नु यसको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

स्थानीय उद्यमशीलता, हरित रोजगारी सिर्जना, दिगो उपभोग तथा उत्पादन र चक्रीय अर्थतन्त्रको अवधारणालाई जनस्तरसम्म विस्तार गर्न फेस्टले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

के हो आरयू फेस्ट ?

आरयू फेस्ट भनेको फालिएका तथा प्रयोग भइसकेका सामग्रीलाई पुनः प्रयोग र पुनर्चक्रण गरी उपयोगी वस्तु तथा व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने सम्भावना प्रवर्नध गर्ने महोत्सव हो । यसले फोहोरलाई आम्दानी र रोजगारीको स्रोत बनाउँदै हरित उद्यमशीलता, वातावरण संरक्षण र चक्रीय अर्थतन्त्रको विकासमा जोड दिन्छ ।

पोखरामै स्थापना तथा विकास भएका पुनः प्रयोग र पुनर्चक्रणमा आधारित उद्यम तथा महिला उद्यमीको सहभागितालाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ । फेस्टमा पाँच हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ ।

महानगरपालिकामा सञ्चालित ‘पुनः प्रयोग तथा पुनर्चक्रणमार्फत हरित रोजगारी सिर्जना परियोजना’ (जीसीआरयू) अन्तर्गत फेस्ट आयोजना गरिएको हो ।

फोहोर व्यवस्थापनलाई वातावरण संरक्षणमा मात्र सीमित नराखी उद्यमशीलता, बजार र रोजगारीसँग जोड्नु परियोजनाको उद्देश्य रहेको छ ।

प्रमुख आचार्यले फेस्टले पुनः प्रयोग तथा पुनर्चक्रणमा संलग्न उद्यमी, पर्यटन क्षेत्र, निजी कम्पनी र सर्वसाधारणबीच सहकार्य विस्तार गर्ने बताउनुभयो ।

विशेषगरी पुनः प्रयोग तथा पुनर्चक्रणमा आधारित उद्यमका उत्पादनलाई बजारसम्म पुर्‍याउने र बिक्रीका अवसर सिर्जना गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

फेस्टमा पुनः प्रयोग तथा पुनर्चक्रणमा आधारित उद्यमका उत्पादन र नवीन अभ्यास प्रदर्शन गरिनेछ । साथै दिगो फोहोर व्यवस्थापन, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जनचेतना अभिवृद्धि गरिनेछ ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले फेस्ट विद्यार्थीका लागि सिकाइ तथा अनुभव आदानप्रदानको अवसरसमेत हुने बताउनुभयो ।

उहाँका अनुसार पोखरामा ‘ग्रीन भेन्चर जोन’ अवधारणा प्रवर्धन गर्दै पुनः प्रयोग तथा पुनर्चक्रणमा संलग्न उद्यमी र नवप्रवर्तनशील विद्यार्थीलाई लगानी तथा व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना छ ।

फेस्टबाट पुनः प्रयोग तथा पुनर्चक्रणमा आधारित उद्यमको पहिचान र बजार पहुँच विस्तार हुनुका साथै निजी क्षेत्र, पर्यटन व्यवसायी र उद्यमीबीच सहकार्य सुदृढ हुने आयोजकको विश्वास छ ।

यसले चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका उपायबारे नागरिकस्तरमा बुझाइ बढाउने अपेक्षा गरिएको छ ।

परियोजनाअन्तर्गत सन् २०२५ मा गरिएको प्रतिबद्धताअनुसार तीन हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। विस्तारित उत्पादकको दायित्व (ईपीआर) सम्बन्धी नियामकीय अनुगमन र संवादलाई समेत परियोजनाले महत्त्व दिएको छ ।

पोखरा-६, बुलौदीस्थित पोखरा इभेन्ट सेन्टर परिसरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने फेस्टमा विभिन्न स्टल राखिनेछन् । ती स्टलमा पुनः प्रयोग तथा पुनर्चक्रणमा संलग्न उद्यमीले उत्पादन गरेका सामग्री प्रदर्शन गरिनेछ ।

फेस्टलाई पोखराको वार्षिक कार्यक्रमका रूपमा स्थापित गर्दै हरित उद्यमशीलता, वातावरण संरक्षण र दिगो आर्थिक विकासको साझा मञ्च बनाउने आयोजकको लक्ष्य छ ।

पत्रकार भेटघाटमा पत्रकारहरूले राखेका जिज्ञासा तथा प्रश्नको जबाफ नगर प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत पौडेलले दिनुभएको थियो । कार्यक्रमको सहजीकरण महानगरपालिकाका इन्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार