सिन्धुली । सिन्धुलीमा एक वर्षको अवधिमा २० वर्षभन्दा कम उमेरका ३ सय ४६ जना महिला सुत्केरी भएका छन् । त्यस्तै, जिल्लामा सोही अवधिमा २ सय ११ जना महिला घरमै सुत्केरी भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा कुल १ हजार ९ सय ५५ जना महिला सुत्केरी भएका थिए । तीमध्ये १ हजार ७ सय ४४ जना स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा र २ सय ११ जना घरमै सुत्केरी भएका हुन् ।
स्वास्थ्य संस्थामा सुत्केरी हुनेमध्ये १ हजार ४ सय २३ जना २० वर्षभन्दा माथिका र ३ सय २१ जना २० वर्षभन्दा कम उमेरका महिला छन् । त्यस्तै, घरमै सुत्केरी हुनेमध्ये १ सय ८६ जना २० वर्षभन्दा माथिका र २५ जना २० वर्षभन्दा कम उमेरका महिला रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
स्थानीय तहगत विवरणअनुसार स्वास्थ्य संस्थामा सबैभन्दा बढी कमलामाई नगरपालिकामा ६ सय ८९ जना महिला सुत्केरी भएका छन् । दुधौली नगरपालिकामा ३ सय ६७, हरिहरपुरगढी गाउँपालिकामा १ सय ७०, मरिण गाउँपालिकामा १ सय ६८ र तीनपाटन गाउँपालिकामा १ सय २९ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।
त्यस्तै, फिक्कल गाउँपालिकामा ७६, गोलन्जोर गाउँपालिकामा ६९, सुनकोशी गाउँपालिकामा ४६ र घ्याङलेख गाउँपालिकामा ३० जना महिला स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी भएका छन् ।
घरमै सुत्केरी हुने महिलाको सङ्ख्या पनि दुधौली नगरपालिकामा सबैभन्दा बढी छ । दुधौलीमा ४० जना महिला घरमै सुत्केरी भएका छन् । त्यस्तै, तीनपाटनमा ३९, हरिहरपुरगढीमा ३६, मरिणमा ३३, कमलामाईमा २१, गोलन्जोरमा १६, घ्याङलेखमा १४, सुनकोशीमा आठ र फिक्कलमा चार जना महिला घरमै सुत्केरी भएको तथ्याङ्कमा उल्लेख छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले २० वर्षभन्दा कम उमेरमा शिशु जन्माउने क्रम अपेक्षाअनुसार घटाउन नसकिएको बताउनुभयो ।
कम उमेरमा हुने विवाह र गर्भधारण न्यूनीकरणका लागि स्वास्थ्य संस्था, स्थानीय तह, विद्यालय, परिवार तथा समुदायस्तरबाट निरन्तर पहल आवश्यक रहेको उहाँले बताउनुभयो ।
“२० वर्षभन्दा कम उमेरमा शिशु जन्माउने क्रम पनि कायम नै छ ।”-उहाँले भन्नुभयो-“यसलाई घटाउन बालविवाह न्यूनीकरणमा सबै सरोकारवाला लाग्न आवश्यक छ ।”