मानव आवाज

२०८३ कात्तिक २२ गते
00: 00: 00
२०८३ कात्तिक २२ गते

तिहार नजिकिएसँगै सिन्धुलीमाडी बजारमा किनमेलको चहलपहल बढ्यो

सिन्धुली । तिहार नजिकिएसँगै सिन्धुलीमाडी बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ । तिहारमा घर, पसल तथा सार्वजनिक स्थान सजाउन प्रयोग हुने सामग्री र भाइटीकाका लागि आवश्यक भाइमसलाको बिक्री बढेसँगै बजारमा रौनक थपिएको हो ।

लक्ष्मीपूजा, दीपावली तथा दाजुभाइ र दिदीबहिनीबिचको आत्मीय सम्बन्ध प्रकट गर्ने पर्वका रूपमा मनाइने तिहारमा सजावट, पूजा तथा भाइटीकामा प्रयोग हुने सामग्रीको माग बढ्ने गरेको छ ।

सिन्धुलीमाडी बजारका पसलहरूमा रङ्गीचङ्गी बत्ती, झिलिमिली माला, कृत्रिम फूल, तोरण, रङ्गोली, दीप तथा विभिन्न पूजा सामग्री बिक्रीका लागि राखिएका छन् ।

त्यस्तै, भाइटीकाका लागि आवश्यक ओखर, काजु, बदाम, किसमिस, नरिवल, छोकडा, मिठाईलगायतका भाइमसला खरिद गर्ने उपभोक्ताको सङ्ख्या पनि बढेको छ ।

परिवारका सदस्य तथा आफन्तलाई कोसेलीका रूपमा दिनसमेत भाइमसला खरिद गर्ने चलन रहेकाले यसको व्यापार बढेको व्यवसायीहरू बताउँछन् ।

तिहारलाई लक्षित गरी व्यापारीहरूले विभिन्न मूल्य र गुणस्तरका सामग्री बजारमा ल्याएका छन् । उपभोक्ताले आफ्नो आर्थिक क्षमताअनुसार साना प्याकेटदेखि आकर्षक उपहार प्याकेजसम्मका सामग्री खरिद गरिरहेका छन् । विशेषगरी साँझको समयमा बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढी देखिन थालेको छ ।

तिहारमा घरआँगन सफा गरी फूलमाला र बत्तीले सजाउने, लक्ष्मीपूजा गर्ने तथा भाइटीकाका दिन दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिएर मिठामिठा परिकार खुवाउने परम्परा छ ।

यही सांस्कृतिक परम्पराका कारण तिहार नजिकिँदै गर्दा बजारमा सजावट, पूजा तथा भाइटीकासम्बन्धी सामग्रीको कारोबार बढेको देखिन्छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार