सिन्धुली । सडक दुर्घटना न्यूनीकरण तथा सार्वजनिक यातायातको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले बीपी राजमार्गमा सञ्चालन हुने सवारीसाधनका चालकहरूको मादक पदार्थ सेवन (मापसे) जाँच तथा स्वास्थ्य परीक्षण गरिएको छ ।
सिन्धुली ट्राफिक प्रहरी र स्वास्थ्य कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा २०८३ कात्तिक २० गते सिन्धुलीमाढीमा सार्वजनिक यातायातका चालकहरूको मापसे परीक्षण तथा स्वास्थ्य जाँच गरिएको हो ।
कार्यक्रममा ५० जना चालकको मापसे परीक्षणसँगै स्वास्थ्य परीक्षणसमेत गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्निसियन अधिकृत गङ्गाराम कार्कीले जानकारी दिनुभयो । परीक्षणका क्रममा पाँच जना चालकले मादक पदार्थ सेवन गरेको पाइएको उहाँले बताउनुभयो ।
बीपी राजमार्गमा दैनिक ठूलो सङ्ख्यामा सार्वजनिक तथा निजी सवारीसाधन आवतजावत गर्ने भएकाले चालकको स्वास्थ्य अवस्था र मादक पदार्थ सेवनको स्थितिबारे जाँच गरिएको हो ।
चालकलाई जिम्मेवार बनाउनुका साथै यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
विशेषगरी लामो दूरीमा सवारी चलाउने सार्वजनिक यातायातका चालकको स्वास्थ्य अवस्था र मादक पदार्थ सेवनको अवस्थाले सडक सुरक्षामा महत्वपूर्ण प्रभाव पार्ने भएकाले यस्ता परीक्षणलाई अभियानकै रूपमा अघि बढाइएको जनाइएको छ ।
सडक दुर्घटनाका विभिन्न कारणमध्ये चालकको लापरबाही, मादक पदार्थ सेवन तथा स्वास्थ्य अवस्थासमेत महत्वपूर्ण पक्षका रूपमा रहने गरेका छन् । यस्ता परीक्षणले चालकलाई सवारी सञ्चालन गर्दा थप सचेत र जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सडक सुरक्षाका लागि ट्राफिक प्रहरी, स्वास्थ्यकर्मी, यातायात व्यवसायी तथा चालक सबैबीच सहकार्य आवश्यक रहेको कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
नियमित मापसे परीक्षण, स्वास्थ्य जाँच र ट्राफिक नियमको पालना गराउन सके सडक दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो ।