मानव आवाज

२०८३ कात्तिक १७ गते
00: 00: 00
२०८३ कात्तिक १७ गते

यस वर्षको भाइटीका कात्तिक २५ गते, उत्तम साइत कति बजे ?

ललितपुर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटका लागि निर्धारण गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गत पर्ने चाडपर्व तथा तिनका साइत सार्वजनिक गर्दै भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको जनाएको हो ।

समितिका अनुसार यस वर्ष भाइटीकाका दिन टीका लगाउँदा दाजुभाइ पश्चिम मोहडा फर्कनुपर्नेछ भने दिदीबहिनी पूर्व मोहडा फर्केर टीका लगाइदिनुपर्नेछ ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धनतेरस) तथा धनदीपदान, कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।

त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा (दीपमालिका) तथा सुखरात्रि, कात्तिक २३ गते सोमबार गाईपूजा र कात्तिक २४ गते मङ्गलबार गोवर्धनपूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइने समितिले जनाएको छ ।

कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ । त्यसैगरी, कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका (किजापूजा) परेको छ ।

समितिले सार्वजनिक गरेको पर्व तथा साइतसम्बन्धी विवरण कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालले हस्ताक्षर गरी जारी गरेका हुन् ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार