सामाजिक सञ्जालमा अहिले एउटा अचम्मको प्रवृत्ति देखिन थालेको छ आफ्नो अनुहार लुकाएर अरूको चरित्र उदाङ्गो पार्ने, आफूलाई चिनाउन नसक्ने तर अरूको इज्जतमाथि हिलो छ्याप्नचाहिँ निकै बहादुर हुने । आफू नकाबभित्र सुरक्षित, शब्दचाहिँ अरूको मुटुमा छुरा जस्तै प्रहार गर्ने । अनि कसैले प्रश्न गर्यो भने तुरुन्त जवाफ आउँछ-‘वाक् स्वतन्त्रता हो, बोल्न पाइन्छ ।’ हो, बोल्न पाइन्छ । तर, के बोल्न पाइन्छ ? जे मन लाग्यो त्यही ? गाली गर्न पाइन्छ ? चरित्रहत्या गर्न पाइन्छ ? कसैको व्यक्तिगत जीवनमा अनावश्यक हस्तक्षेप गर्न पाइन्छ ? पीडित व्यक्तिको घाउमा नुन छर्किन पाइन्छ ? अरूको आत्मसम्मान ध्वस्त पारेर त्यसलाई ‘अभिव्यक्ति स्वतन्त्रता’को नाम दिन पाइन्छ ? पक्कै पाइँदैन ।
वाक् स्वतन्त्रता भनेको बोल्ने अधिकार हो । अरूलाई अपमान गर्ने लाइसेन्स होइन । आलोचना गर्ने अधिकार हो । चरित्रहत्या गर्ने छुट होइन । प्रश्न गर्ने अधिकार हो । गाली गर्ने अधिकार होइन । असहमति राख्ने अधिकार हो । अराजकता फैलाउने अधिकार होइन । लोकतन्त्रमा विचार फरक हुन सक्छन् । राजनीतिक आस्था फरक हुन सक्छ । एउटै घटनालाई हेर्ने दृष्टिकोण फरक हुन सक्छ । कसैलाई नेता मन पर्न सक्छ । कसैलाई मन नपर्न सक्छ । कसैले सरकारको प्रशंसा गर्न सक्छ । कसैले कडा आलोचना गर्न सक्छ । यी सबै लोकतन्त्रका स्वाभाविक अभ्यास हुन् । तर, विचार फरक हुँदैमा मानवीय मर्यादा फरक हुँदैन ।
अहिले सामाजिक सञ्जालमा राजनीतिक बहसको नाममा देखिएको सबैभन्दा दुःखद पक्ष यही हो-तर्क कमजोर भएपछि भाषा छाडा हुन्छ । तथ्य सकिएपछि गाली सुरु हुन्छ । जबाफ दिन नसके चरित्रमाथि प्रहार गरिन्छ । आफ्नो विचारको बचाउ गर्न नसके परिवार, व्यक्तिगत जीवन र निजी कमजोरी खोतल्न थालिन्छ । अनि अन्त्यमा त्यसैलाई ‘जनताको आवाज’ वा ‘स्वतन्त्र अभिव्यक्ति’ भनेर प्रस्तुत गरिन्छ । यो अभिव्यक्ति स्वतन्त्रताको रक्षा होइन । अभिव्यक्ति स्वतन्त्रताको बदनाम हो ।
अहिले कसैले ‘घण्टीका समर्थकहरू छाडा भए’, कसैलाई ‘विदेशमा बसेकाहरू सामाजिक सञ्जालमा बढी छाडा भए’ भन्ने आरोप लगाएको सुनिन्छ । यस्ता आरोपमाथि बहस गर्न सकिन्छ । उदाहरण खोज्न सकिन्छ । प्रमाण माग्न सकिन्छ । तर, एउटा कुरा भने स्पष्ट हुनुपर्छ-छाडापनको कुनै पार्टी हुँदैन, कुनै चुनाव चिह्न हुँदैन र कुनै देशको सीमा पनि हुँदैन । यस्ता छाडाहरू समग्रमा गतिछाडा हुन् । मतिछाडा हुन् । यिनीहरूलाई कानुनी कठघराको अर्को कुनै बाटो छैन । तत्काल कारवाही गर्नुपर्छ । जति ढिला गर्यो समाज उति भड्कन्छ । सामाजिक मर्यादा कायम राख्न पनि एकएक गरेर त्यस्ताहरूलाई कारवाही गर्नु आवश्यक छ ।
नेपालमा बसेर गाली गर्ने पनि गलत, विदेशमा बसेर गाली गर्ने पनि गलत । सत्ताको पक्षमा बसेर गाली गर्ने पनि गलत, विपक्षमा बसेर गाली गर्ने पनि गलत । पुरानो दलको समर्थकले गरे पनि गलत, नयाँ दलको समर्थकले गरे पनि गलत । आफ्नो मान्छेले गरेको गालीलाई ‘आक्रोश’ र अरूको मान्छेले गरेको गालीलाई ‘अराजकता’ भन्ने दोहोरो मापदण्डले समाज सुधारिँदैन । यस्तै कूतर्कले समाज बिग्रँदै सपार्न नसक्ने ठाउँमा पुग्छ । बेलैमा ख्याल गरौँ । गलत कार्यलाई अरु गलतसँग तुलना गरेर उम्कने प्रयासमा ढोका लगाइदिउँ । गलत कार्य जुनसुकै थलत कार्यसँग पनि तुलना योग्य हुँदैन । गलत सधैँ गलत हुन्छ । चाहे हिजोको होस् चाहे आजको नै किन नहोस् ।
अहिले राज्यसत्ताको नेतृत्व घण्टीको हातमा छ । त्यसैले घण्टीसँग जोडिएका व्यक्तिहरूका सार्वजनिक अभिव्यक्ति वा समर्थकका गतिविधिमा प्रश्न उठ्दा सरकार र पार्टी नेतृत्वले त्यसलाई केवल ‘व्यक्तिगत अभिव्यक्ति’ भनेर पन्छाउन मिल्दैन । सत्तासँग अधिकार आउँछ, अधिकारसँग जिम्मेवारी आउँछ र जिम्मेवारीसँग जबाफदेहिता पनि आउँछ । त्यसैले अहिलेको सरकार र सम्बन्धित राजनीतिक नेतृत्वले आफ्ना समर्थकलाई स्पष्ट र सार्वजनिक सन्देश दिन सक्नुपर्छ-‘हामीलाई समर्थन गर्नुस्, तर कसैलाई गाली नगर्नुस् । हामीसँग असहमत हुनुस्, तर कसैको चरित्रहत्या नगर्नुस् । हाम्रो पक्षमा बोल्नुस्, तर झुटो सूचना फैलाएर होइन । राजनीतिक आलोचना गर्नुस्, तर व्यक्तिगत अपमान नगर्नुस् । र, पीडितलाई थप पीडा दिने कुनै पनि छाडा गतिविधिमा हाम्रो नाम नजोड्नुस् ।’
यस्तो अपिल गर्न नेतृत्वले किन हिचकिचाउने ? बरु स्पष्ट घोषणा गर्नुपर्छ-छाडा भाषा, धम्की, चरित्रहत्या र अराजक व्यवहार गर्नेहरूलाई राजनीतिक संरक्षण हुँदैन । हाम्रो पार्टीको नाममा कसैले यस्तो गर्छ भने ऊ हाम्रो प्रतिनिधि होइन । तर, यो जिम्मेवारी आज सरकारमा रहेको घण्टीको मात्र होइन । जुनसुकै राजनीतिक दल सत्तामा पुगे पनि यही मापदण्ड लागू हुनुपर्छ । आज एउटा दल सत्तामा छ, भोलि अर्को दल आउन सक्छ । सरकार फेरिन्छ, सत्ता फेरिन्छ, नेताहरू फेरिन्छन् । तर, नागरिकको मानवअधिकार र मर्यादा फेरिनु हुँदैन ।
राजनीतिक दलहरूले आफ्ना समर्थकलाई चुनावका बेला परिचालन गर्छन् । सामाजिक सञ्जालमा अभियान चलाउँछन् । आफ्ना पक्षमा माहोल बनाउन आग्रह गर्छन् । विरोधीको आलोचना गर्न पनि प्रेरित गर्छन् । त्यसैले समर्थकले सीमा नाघ्दा नेतृत्वको जिम्मेवारी सुरु हुन्छ । आफ्नो समर्थकले गाली गर्दा ताली बजाउने र विपक्षीको समर्थकले गाली गर्दा लोकतन्त्रको दुहाई दिने राजनीतिक संस्कार अब बन्द हुनुपर्छ । आफ्नो मान्छेको गल्तीलाई गल्ती भन्न सक्ने नैतिक साहस राजनीतिक नेतृत्वमा हुनुपर्छ । किनकि गालीको राजनीतिले अन्ततः कसैलाई छाड्दैन । आज विपक्षीलाई गाली गर्न लगाइएको समर्थकले भोलि आफ्नै नेतामाथि त्यही भाषा प्रयोग गर्न सक्छ । आज सामाजिक सञ्जालमा कसैको चरित्रहत्या गरेर रमाउने संस्कारलाई संरक्षण गर्ने हो भने भोलि त्यही संस्कार आफ्नै घरको ढोकामा आइपुग्न सक्छ ।
त्यसैले राजनीतिक नेतृत्वले आफ्ना समर्थकलाई ‘हामीलाई समर्थन गर, तर मर्यादा नछाड’ भन्न सक्नुपर्छ । नकाब लगाएर गाली गर्नु बहादुरी होइन । फेक अकाउन्ट बनाएर कसैको चरित्रहत्या गर्नु साहस होइन । अरूको दुःखमा हाँस्नु राजनीतिक चेतना होइन । पीडितलाई थप पीडा दिनु अभिव्यक्ति स्वतन्त्रता होइन ।
बरु तथ्यका आधारमा तर्क गर्न सक्नु, असहमतिसँग सहमत हुन नसके पनि सभ्य भाषामा असहमति राख्न सक्नु र रिस उठ्दा पनि शब्दको सीमा ननाघ्नु नै वास्तविक लोकतान्त्रिक संस्कार हो । अझ पीडित व्यक्तिको सवालमा त हामी सबै थप संवेदनशील हुनुपर्छ । कसैको जीवनमा विपत्ति परेको छ, कसैले अन्याय भोगेको छ, कसैको परिवार सङ्कटमा छ वा कुनै व्यक्ति सामाजिक, राजनीतिक वा व्यक्तिगत कारणले पीडामा छ भने त्यस्तो अवस्थामा उसलाई सहानुभूति, सहयोग र न्याय चाहिन्छ । त्यही बेला सामाजिक सञ्जालमा बसेर उसको पीडामाथि व्यङ्ग्य गर्ने, अश्लील टिप्पणी गर्ने, उसको चरित्रमाथि प्रश्न उठाउने वा पुरानो घाउ कोट्याउने काम दोस्रोपटक पीडा दिनु हो ।
पीडितलाई सहयोग गर्न नसके पनि कम्तीमा थप पीडा नदिऔँ । यो मानवीयताको न्यूनतम सर्त हो । मानवअधिकारको एउटा सामान्य तर गहिरो कुरा हामीले सम्झिनुपर्छ-मेरो अधिकार त्यहाँसम्म हो, जहाँबाट अर्काको अधिकार सुरु हुन्छ । मलाई हात लम्काउने अधिकार छ भन्दैमा हात लम्काउँदा अर्काको नाकमा लाग्ने गरी लम्काउने अधिकार हुँदैन । मलाई बोल्ने अधिकार छ भन्दैमा मेरो शब्दले अर्को व्यक्तिको सम्मान र मर्यादामा अनावश्यक चोट पुर्याउने अधिकार हुँदैन ।
यही कुरा सामाजिक सञ्जालका ‘महाबहादुर’हरूले बुझ्न जरुरी छ । स्क्रिनको पछाडि बसेर गाली गर्न सजिलो छ । आफूलाई लुकाएर अरूलाई कठघरामा उभ्याउन सजिलो छ । तर, लोकतन्त्र भनेको सजिलो बाटो होइन । लोकतन्त्र भनेको आफूलाई मन नपर्ने मानिसको अधिकार पनि आफूजस्तै सम्मान गर्नु हो । हामीले सामाजिक सञ्जालमा छाडापनलाई ‘भ्यु’ दिन बन्द गर्नुपर्छ । गाली गर्ने पोस्ट भाइरल बनाउने, छाडा कमेन्टलाई स्क्रिनसट बनाएर फैलाउने र त्यसको जबाफमा अझ ठूलो गाली गर्ने संस्कारले समस्या समाधान गर्दैन । त्यसले त गालीको बजार अझ ठूलो बनाउँछ ।
गलत अभिव्यक्तिको विरोध गरौँ । कानुन उल्लङ्घन भएको छ भने प्रमाणसहित सम्बन्धित निकायमा उजुरी गरौँ । आवश्यक परे कानुनी कारबाहीको माग गरौँ । तर, गालीको जबाफ गालीले दिएर हामी पनि त्यही भीडको अर्को सदस्य नबनौँ । सामाजिक बहिष्कारको अर्थ कसैलाई कानुन हातमा लिएर सजाय दिनु होइन । यसको अर्थ छाडा भाषा, घृणा, चरित्रहत्या र अराजकतालाई सामाजिक प्रतिष्ठा नदिनु हो । गाली गर्ने मान्छेलाई ‘वाह ! कस्तो कडा बोलेको’ भनेर हिरो नबनाउनु हो । अरूको अपमानलाई मनोरञ्जन नबनाउनु हो ।
हामीले एउटा नयाँ सामाजिक संस्कार निर्माण गर्नुपर्छ-सभ्य भएर पनि कडा हुन सकिन्छ । तथ्यका आधारमा पनि आक्रामक प्रश्न गर्न सकिन्छ । गाली नगरी पनि शक्तिशाली प्रतिवाद गर्न सकिन्छ ।
अरूको मानव मर्यादामाथि प्रहार गर्ने अधिकार कसैलाई छैन । राजनीतिक दलका नेताहरूले पनि अब आफ्ना समर्थकलाई स्पष्ट भन्नुपर्छ-छाडा बोल्ने, गाली गर्ने, चरित्रहत्या गर्ने र पीडितलाई थप पीडा दिनेहरूलाई हाम्रो नाममा राजनीतिक संरक्षण छैन । सरकारले पनि कानुनको सीमा नाघेका गतिविधिमा निष्पक्ष रूपमा अनुसन्धान र कारबाही गर्नुपर्छ । सत्ता पक्षको होस् वा विपक्षको, चिनजानको होस् वा अपरिचित, नेपालमा होस् वा विदेशमा-कानुनको मापदण्ड सबैका लागि एउटै हुनुपर्छ । किनकि लोकतन्त्रमा सबैभन्दा ठूलो कुरा आफ्नो पक्षको जीत होइन, नियम र मर्यादाको जीत हो । पीडितलाई सके सहयोग गरौँ । नसके कम्तीमा मौन बसौँ । तर, कसैको पीडामाथि आफ्नो कुण्ठा पोखेर आफूलाई बहादुर प्रमाणित गर्ने प्रयास नगरौँ ।
बोलौँ-तर जिम्मेवारीका साथ । विरोध गरौँ-तर मर्यादाका साथ । राजनीति गरौँ-तर मानवता नहराई । असहमति राखौँ-तर अधिकार नखोसौँ । हात लम्काउनु तपाईंको अधिकार हुन सक्छ, तर त्यो हात अर्काको नाकमा लाग्न नदिनु तपाईंको जिम्मेवारी हो । यही जिम्मेवारीको नाम मानवता हो । यही मर्यादाको नाम लोकतन्त्र हो । र, यही चेतनाको नाम मानव अधिकार हो । (फोटोः एआइ जेनेरेटेड)