मानव आवाज

२०८३ भदौ १३ गते
00: 00: 00
२०८३ भदौ १३ गते

हिमाली सुनामीका कारण नेपालमा ठुलो जनधनको क्षति

काठमाडौँ । तिब्बततिरबाट नेपालको रसुवा हुँदै नुवाकेटतिर आएको भीषण बाढी (हिमाली सनामी)ले यस क्षेत्रको जनजीवन त्रस्त बनाएको छ । २०८३ भदौ १० गते बुधबार बिहान करिब नौ बजेतिर भएको यो घटनाबाट सयैँका सङ्ख्यामा हतहती भएको जनाइएको छ । २०८३ भदौ १२ गते शुक्बिरबार दिउँसोसम्म मृत्यु हुनेको सङ्ख्या ५ सयको हाराहारी पुगेको छ । यो सङ्ख्या थपिने देखिएको छ । हराएकाहरूको सङ्ख्या सयौँ भएको सरकारी अधिकारीहरूले जनाएका छन् । यस क्षेत्रमा हराएकाहरूको सङ्ख्या अझै यकिन भइसकेको छैन । रसुवाको गोसाइकुण्डमा जनैपूर्णिमाको दिन लाग्ने मेला भर्न हजारौँको सङ्ख्यामा तीर्थयात्री र आन्तरिक तथा बाह्य पर्यटक त्यसतर्फ गएको हुँदा हताहती हुनेको सङ्ख्या यकिन हुन कठिन देखिन्छ । अकस्मात् आएको यो अकल्पनीय सङ्कटलाई पत्रकार केदार शर्माले हिमाली सुनामी नाम दिनुभएको हो ।

बुधबार बिहान हिमालय क्षेत्रमा रहेको एउटा हिमनदीको तल्लो भाग भत्किएर उपत्यकाको फेदीमा खसेको थियो । प्रारम्भिक विवरणमा उक्त हिमनदी भत्किनुको कारण सम्भवतः भूकम्प भएको बताइएको थियो । तर अमेरिकी भूगर्भ सर्वेक्षणले उक्त कम्पन वास्तवमा हिमनदीको चट्टान र बरफ भत्किएर खस्दा उत्पन्न भएको भूकम्पीय ऊर्जा भएको जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । त्यसपछि त्यस क्षेत्रमा मलबे बग्ने (debris flow) घटना भएको थियो ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीका कारण पूर्वाधार क्षेत्रमा करिब दुई खर्ब रुपियाँ बराबरको क्षति भएको बताउनुभएको छ । उहाँले सडक र पुलमा ठूलो क्षति पुगेकाले पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागको प्रारम्भिक विवरण अनुसार बाढीले ३५ ओटा पक्की पुल र ४५ ओटा झोलुङ्गे पुल बगाएको छ ।

बिहिबार प्रधानमन्त्री बालेन्द्र साह स्थलमार्गबाट नुवाकोटसम्म पुगेर क्षतिको अवलोकन गर्नुका साथै केही घाइतेलाई भेट्नु भएको थियो । त्यसक्रममा प्रधानमन्त्रीले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनस्र्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

वैज्ञानिकहरूले यसै वर्ष जुनमा प्रकाशित एक प्रतिवेदनमा विश्वव्यापी तापक्रम वृद्धिका कारण यस शताब्दीको अन्त्यसम्म हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरूले आफ्नो कुल आयतनको ७५ प्रतिशतसम्म गुमाउन सक्ने बताएका थिए । यसबाट हिमताल तथा हिमनदी पग्लिने क्रम बढेर विनाशकारी बाढीको जोखिम बढ्नुका साथै पहाडी क्षेत्रमा बसोबास गर्ने करिब २४ करोड मानिसका लागि पानीको अभाव निम्तिन सक्नेसमेत चेतावनी दिएका थिए ।

भोटेकोशी तथा त्रिशुली क्षेत्रमा अइपरेको यो विपत्ति हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा विभिन्न सङ्कटले सिर्जेको परिणाम भएको विज्ञहरूले बताएका छन् ।  त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्री रन्जन दाहालले यसलाई महा विपत्ति भन्दै माथिल्लो भागबाट आएको बाढी यति विध्वंशक भएको अनुमान पनि नगरेको बताउनुभएको छ ।

नेपाल-चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति बिहिबार बसेको सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ । सिंहदरबारमा बसेको बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय सङ्कटप्रति राष्ट्रिय पीडा व्यक्त गरेको हो ।

संयुक्त अपिल जारी गर्ने ८ दलमा रास्वपाका सभापति रवि लामिद्धछाने, कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक प्रचण्ड, एमालेका महासचिव शङ्कर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता चन्दन सिंह छन् ।

नेपालको पूर्वी क्षेत्रमा रहेको कोशी प्रदेशमा रहेका त्यस्तै प्रकृतिका करिब ४२ ओटा हिमताल विस्फोटको उच्च जोखिममा रहेको सरकारी तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशले दुई महिना अगाडि सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना, २०८३’ ले प्रदेशका नदी बेसिनमा रहेका हिमतालहरू कुनै पनि समय विस्फोट हुन सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा प्रलय निम्त्याउन सक्ने उल्लेख गरेको छ । २०८२ असोज १८ र १९ गते मोन्था आँधीका कारण आएको वर्षा र बाढी, पहिरोबाट इलाम र झापा जिल्ला प्रभावित भएका थिए । त्यसबेला बाढीपहिरोका कारण ४० जनाको मृत्यु हुनुको साथै ४२ जना घाइते भएका थिए भने अर्बौंको सम्पत्ति नष्ट भएको थियो । हजारौँ मानिस विस्थापित भएका थिए ।

रसुवाका पत्रकार हेमनाथ खतिवडाका अनुसार रसुवाको अवस्था कोलाहालपूर्ण रहेको र आएका सूचना कुन सही र कुन गलत हो भनेर पुष्टी गर्न प्रशासनलाई हम्मेहम्मे परेको छ । आधिकारिक पुष्टी नभएका खबरले त्रास बढाउने भएको हुँदा आधिकारिक पुष्टिका लागि पत्रकार तथा अन्यले घण्टौँ कुर्नुपर्ने बताउनुभयो । फोन सम्पर्कसमेत कठिन भएको हुँदा थप तनावको अवस्था रहेको उहाँको भनाइ छ ।

तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको भयानक बाढीले नुवाकोटको ढुङ्गे बजारमा ठुलो क्षति पुर्‍याएको छ । बाढीले बगाएर ल्याएको माटो, ढुङ्गा, बालुवा तथा अन्य सामग्रीले बजार क्षेत्र पुरिएको छ । फेरि बाढी आउने सूचनापछि प्रहरीले बस्ती खाली गराइरहेको छ । यो बाढीबाट कतिले ज्यान गुमाए र कति पशु चौपाय मरे कति सम्पति क्षति भयो यकिन ववरण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार