मानव आवाज

२०८३ भदौ १० गते
00: 00: 00
२०८३ भदौ १० गते

फोहोर व्यवस्थापनसहितका विषयमा प्रधानमन्त्रीसँग छलफलः मेयर्स फोरम

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

फोरमको २०८३ भदौ ९ गते बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग भेट गरी उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

फोरमका अनुसार प्रधानमन्त्रीसँगको भेटमा २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकका क्रममा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत गम्भीर आपत्ति जनाइनेछ ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा समाधान गर्न यसअघि पनि पटक–पटक छलफल हुँदै आएको फोरमले जनाएको छ ।

फोरमका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाका प्रमुख हुँदादेखि नै उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेप वेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनका लागि मार्ग प्रशस्त गर्ने विषयमा छलफल हुँदै आएको थियो ।

फोरमले फोहोर व्यवस्थापन तीनवटै तहका सरकारको साझा सरोकारको विषय भएकाले दीर्घकालीन समाधानका लागि सबै पक्ष गम्भीर हुनुपर्ने जनाएको छ ।

स्थानीय सरकार फोहोर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सधैँ प्रतिबद्ध रहेको पनि फोरमले स्पष्ट पारेको छ ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उपत्यकाको फोहोर व्यवस्थापनसँगै स्थानीय तहका अन्य महत्वपूर्ण विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय भएको उल्लेख छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार