दृष्टान्तः
प्रसिद्ध उक्ति, ‘एउटा पहाडको चुचुरो चढेपछि थाहा हुन्छ कि अन्य चुचुरा चढ्न बाँकी कति छन् ।’ यो उक्तिको तात्पर्य एउटा सफल नमूना योजना हात लाग्दा अन्य योजनाहरूको खाका बुन्न वा कोर्न सहजै सकिन्छ र सक्नुपर्छ भन्ने नै हो ।
दक्षिण ललितपुरको विद्युतीकरण एउटा सफल र सार्थक नमूना आयोजना हो भन्ने बारेमा यो स्मारिकाले छर्लङ्ग पारेको छ । कसरी सुरुवात भयो ? यसका अवयव कसरी पार गरिए ? सफलता हात पार्न गरिएका कसरतका कथा व्यथा यो लेखमा दोहोर्याउनु सान्दर्भिक हुन्न ।
सोचाइ, सपना र दृष्टिकोण निरुपण गर्दै योजनाहरूका खाका कोर्ने र त्यसलाई निरन्तर रुपमा पाइताला खियाउने हो भने त्यसको सफलता हात लाग्ने कुरा विश्वास गर्न सकिन्छ । पाइताला खियाइको उदाहरण हो दक्षिण ललितपुरको विद्युतीकरण । यो एउटा सफल दृष्टान्त हो । यसबाट हात लागको उपलब्धिहरूको सानो फेहरिस्त पनि हो यो स्मारिका । यस्ता स्मारिका प्रकाशमा ल्याउँदा समाजमा आसा र भरोसा भर्ने छन् । जसरी बिजुलीले हरक चुलोचौकोमा उज्यालो भरेको छ र अँध्यारो चिरेको छ ।
उद्देश्यको दोस्रो भागः
‘विद्युतीकरण गर्ने र सामाजिक आर्थिक विकास गर्ने,’ विद्युत सहकारीको मूल उद्देश्य राखिएको थियो । यसको पहिलो भाग विद्युतीकरण गर्ने कार्य पूरा भएको छ । यसको कार्य गर्ने रणनीतिक ढाँचा भने सामुदायिक ढङ्गको हुने किटान त्यतिबेला नै गरिएको थियो । जुन ढाँचामा एक रत्ति पनि नबिराई गन्तव्यमा पुगियो । यो ज्यादै महत्वपूर्ण कुरो हो । विकासका अनेक ढाँचा हुन सक्छन् । तर त्यतिबेला तय गरिएको बाटो सही साबित भएको छ ।
अब उद्देश्यको दोस्रो भाग, ‘सामाजिक आर्थिक विकास गर्ने,’ तिर विद्युत सहकारीले जोड दिनुपर्छ । यसका केही अङ्श त गरिएको छ तर योजनाबद्ध रूपमा खाका बनाइएको छैन । विद्युतीकरणको अभिभारा पूरा भएसँगै ग्राहक सेवाको व्यवस्थापनमा कुशलता जरुरी देखिएको छ । ग्राहक सेवाको कुशलताले मात्रै अन्य योजनाहरूमा सहभागिताको विश्वास हासिल गर्न सकिन्छ । यो पक्ष भुल्नै हुन्न । त्यसपछि मात्रै आफ्ना ग्राहकहरूको सामाजिक आर्थिक विकासका खाका कोर्नुपर्छ । ति खाका बुन्ने कार्यसँगै कार्यान्वयनमा हिजोको जस्तै पाइताला खियाउनुपर्ने छ । सबै घरधुरीसँग विद्युतजस्तो दैनदिनको उपभोग्य विषयसँग जोडिएका ग्राहकसँग साँझेदारी गर्न पाउनु जुन सुकै योजना, आयोजना वा परियोजनाहरू पनि सहजै हाँक्न सकिन्छ र परिणम ल्याउन सकिन्छ ।

खाका वा मार्गचित्रः
काठमाडौँका अक्कलमान नकर्मीको पेल्ट्रिक सेटको प्रविधि दक्षिण ललितपुरमा पुर्याउन जो जसले योगदान पुर्याए ती अग्रज हुन् । मार्गदर्शक हुन् । उज्यालोको खातिरदारी पाइताला खियाएका हुन् । आवश्यकका आधारमा पनि कतिपय विषय उब्जिन्छन् । आवश्यकताको सिद्धान्तले पनि धेरै काम गर्छ । त्यसपछि दृष्टिगोचरको कुरो गर्न सकिन्छ । ‘बर्ड साइड भ्यु,’ अर्थात् आकाशबाट जमिन अवलोकन गर्ने विधि अवलम्बन गर्न सकिन्छ । धरातलीय यथार्थताको आधारमा विषयवस्तुको खोजी गर्ने वा पत्ता लगाउने विधि । विषयवस्तुमा केन्द्रित बहस, अन्तक्र्रिया, स्थलगत भ्रमण पनि अन्य विधि हुन सक्छन् । अर्थात् विज्ञ व्यक्तित्वहरूको अनुसन्धानका निष्कर्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । द्रष्टाका सपना, परिकल्पना वा अठोट पनि हुन सक्छन् । खाका बुन्न र उजागर गर्न लाग्ने कुरोचाहिँ मुख्य विषय हो ।
दक्षिण ललितपरको सन्दर्भमा उर्जा र उर्जाको ‘एन्ड युज’ प्रयोगलाई आधार बनाउन सक्छौँ । विद्युत सहकारी संस्थाको आफ्नो स्थायी संरचना छ । हरेक घरधुरी मिटर जडान गर्ने ग्राहक हुन् । ग्राहक मात्रै होइनन् उनीहरू सहकारी संस्थाका शेयर सदस्यसमेत हुन् । यहाँका मिटर जडित ग्राहकले बिजुली बालेबापत बिलअनुसार पैसा त तिर्छन् साथै सहकारी संस्थाबाट शेयरधनी भए वापत उल्टै बोनस पनि पाउँछन् । यिनै व्यक्तिहरू नयाँ आयोजनाका लागि भरोसिलो र भरपर्दो साझेदार हुन सक्छन् । उनीहरुको शेयर पुँजीलाई वृद्धि– विकास गर्दै लगानीका अन्य क्षेत्र तय गर्न सकिन्छ । शेयर पुँजीको लगानीबाट उद्यमका लागि स्वपुँजी विकास गर्न सकिन्छ । त्यही स्वपुँजीले यहाँको उद्यम र लगानीको जग बसाल्न सकिन्छ । स्वपुँजीका आधारमा बैंक तथा वित्तीय संस्थालाई सहजै जोड्न सकिन्छ । यसको खाका र मार्गचित्र बनाउन ढिला भइसकेको छ । २५ वर्षअघि विद्युत सहकारीमा राखेको शेयर पुँजीको अवस्थामा धेरै परिवर्तन भएको छैन । शेयर पुँजीको परिवर्तन भनेको वृद्धि हुनु नै हो । किनकि सहकारीले लगानीका खाका र मार्गचित्र बनाएको पनि छैन । अब विद्युतीकरणको मूख्य कामले सफलता पाएपछि यही कार्यमा लाग्नु उत्तम विकल्प हो ।
सुनको थालीः
दक्षिण ललितपुरबाट बसाइँ सराइ भो भनेर रोइलो रोक्नुपर्छ । खासमा दक्षिण ललितपुर मानव वस्ती बस्न योग्य भूगोल होइन । जमानाको कुरो आज दाँज्न मिल्दैन । त्यतिबेला शिक्षा, स्वास्थ्य, बाटो, बिजुली, पानी, सञ्चार आदिको सेवा सुविधा थिएन । जीविकोपार्जन प्रकृतिसँग मात्रै निर्भर थियो । धान्थ्यो पनि । तर, आजको समयले जीविकोपार्जनका लागि अत्यावश्यक सुविधाहरू पुर्याउन भौगोलिक अवस्थाकै कारणले कठिन छ । महँगो छ । समय स्रोतसाधन ज्यादै धेरै लाग्छ । जसो तसो पुर्याउँदा पनि धान्न र चलाउन कठिन छ । त्यसकारण दक्षिण ललितपुर वस्तीका लागि भन्दा ठुला उद्योग र औद्योगिक विकासका लागि उपयुक्त क्षेत्र हो । औद्योगिक क्षेत्रका लागि जे जति जनशक्ति आवश्यक पर्छ त्यसका आधारमा वस्ती बन्न सक्छ ।
पर्यटन उद्यमको प्रचुर सम्भावना छ । पर्यटन विकासका लागि यसको पुर्वाधार ज्यादै ठुलो कुरो हो । हामीसँग पर्यटनको पूर्वाधार केही छैन । पूर्वाधार नभई पर्यटन विकास गर्ने भनेर मुख जमानी बनेर हुन्न । खानी खनिज उद्यमको झन् धेरै सम्भावना छ । वन र वनजन्य उद्यम त्यत्तिकै अथाह सम्भावना छ । जल, जलासय र जल उद्यम अर्को व्यापक सम्भावना छ । पशुपालन र पशुजन्य उद्यम, कृषि र कृषिजन्य उद्यम । यी सब सुनको थाली हुन् । सुनको थाली थापेर मागन्ते बन्नु हुन्न । मगन्ते सोचाइले नै हाम्रा अथाह स्रोतले हामीलाई नै गिज्याइरहका छन् ।
हरेक उद्यम र औद्योगिक कार्यका लागि निजी क्षेत्र नै अग्रसर हुनुपर्छ । निजी क्षेत्र अग्रसर हुने वातावरण बनाउने, प्रवर्धन गर्ने, उद्योगका लागि पनि पूर्वाधारको आवश्यक हुन्छ । लगानीमैत्री वातावरण अर्को त्यति नै महत्वपूर्ण पक्ष हो । त्यो पूरा गर्ने कार्य स्थानीय समुदायको हो । यसमा स्थानीय, प्रदेश वा सङ्घीय सरकारको अभिभारा हुने भुल्न सकिन्न । लगानीमैत्री वातावरण पहिलो शर्त पनि हो ।
परम्परागत गुजारा गर्ने खेतीपातीको तहबाट माथि उठ्ने र हरेक व्यक्ति उद्यमी बन्ने सवाल सामाजिक जागरणको विषय बन्नुपर्छ । दक्षिण ललितपुरको सुनको थालीलाई बहुउपयोगका लागि विद्युत सरकारी संस्था समन्वयकारी भूमिकाको माध्यम बन्नुपर्छ ।
चेत खुलोस्ः
दक्षिण ललितपुरको विद्युतीकरण योजना सफल हुनुमा एउटा महत्वपूर्ण पक्ष भनेको त्यतिबेलाका जनप्रतिनिधिहरूले अगुवाई गरेका थिए । आफ्नो तहको निर्णय गराउन सक्थे र माथिल्लो तहको निर्णयका लागि बलियो दबाब दिन सक्थे । अनि निरन्तर लागिरहँदा परिणाम पाउन सकियो ।
हिजो गाविस थियो । आज गाउँपालिका छ । हिजो स्थानीय निकाय थियो । आज स्थानीय तह छ । तीन तहको सरकार संविधानमै किटान गरिएको छ । त्यसैमध्ये स्थानीय सरकार एक हो । स्थानीय सरकारको दुई कार्यकाल पूरा हुनै लागेको छ । दक्षिण ललितपुरका तीन ओटै पालिकाहरूले अमुक अमुक दलका नेतृत्वले निर्वाचन जितेका छन् । तर, यी तीनै पालिका मध्ये कुनैले पनि कर्मकाण्ड धान्नेभन्दा नयाँ कार्य केही गरेको आभास पाइएको छैन । दुई कार्यकाल भनेको १० वर्ष व्यतीत हुनु लामो समय हो । यहाँहरूको बल, बर्कत, बुद्धि, विचारमा थपथाप गर्न परे यो पनि भनियोस् तर सिन्को नभाँच्ने प्रवृत्तिको चेत खुलोस् ! पालिकाहरूको अगुवाइमा यहाँको गर्भमा रहेको सुनको थालीलाई समृद्धिका खाका, योजना, आयोजना, परियोजना बुन्न थालौँ ।
(दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्थाको रजतवर्ष २०८२ को स्मारिका ‘सामुदायिक विद्युत’मा प्रकाशित)