मानव आवाज

२०८३ असार ८ गते
00: 00: 00
२०८३ असार ८ गते

अल्बिनिज्म अपाङ्गता भएका व्यक्तिका लागि क्षमता विकास तथा वकालत तालिम

पोखरा अल्बिनिज्म भएका व्यक्तिहरूको अधिकार संरक्षण, सामाजिक समावेशीकरण तथा नीतिगत वकालतलाई सशक्त बनाउने उद्देश्यले पोखरामा क्षमता विकास तथा वकालत तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, गण्डकी प्रदेशको आयोजनामा तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा आयोजित उक्त तालिम २०८३ असार ८ गते पोखरामा सम्पन्न भएको हो ।

तालिममा गण्डकी प्रदेशका मुस्ताङ र मनाङ बाहेकका जिल्लाबाट ५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव हरिबहादुर खपाङ्गीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले अल्बिनिज्म भएका व्यक्तिहरूको हकअधिकार संरक्षण, आत्मविश्वास अभिवृद्धि तथा नीति निर्माण तहमा उनीहरूको आवाज सशक्त बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै अल्बिनिज्मलाई अपाङ्गताको दायराभित्र समावेश गरी नीतिगत रूपमा स्थापित गर्न सामूहिक ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष हेमबहादुर गुरुङले अन्तर्राष्ट्रिय स्तरमै अल्बिनिज्म भएका व्यक्तिविरुद्ध हुने भेदभाव अन्त्य गर्न तथा उनीहरूको मानव अधिकार संरक्षण गर्न नेपाल सरकारको नैतिक र कानुनी दायित्व रहेको बताउनुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (यूएनसीआरपीडी) ले मानव अधिकारको सम्मान, समानता र पूर्ण समावेशीकरणको वकालत गरेको उल्लेख गर्दै प्रादेशिक कानुन निर्माण गर्दा अन्तर्राष्ट्रिय मानव अधिकारका सिद्धान्त र संवैधानिक व्यवस्थालाई आत्मसात गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले कानुनी शब्दावलीका सीमित घेराभन्दा बाहिर गएर अल्बिनिज्म भएका व्यक्तिहरूलाई समान हक, अवसर र सम्मानका साथ अघि बढाउन आवश्यक परे कानुन संशोधन तथा थप नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । समाजका सबै पक्ष मिलेर अघि बढे समावेशी समाज निर्माण सम्भव हुने उहाँको भनाइ थियो ।

प्रदेशस्तरीय अपाङ्गता निर्देशन समितिका सदस्य विष्णु सिग्देलले अपाङ्गताको वर्गीकरणलाई समयसापेक्ष र वैज्ञानिक बनाउनुपर्ने आवश्यकता औँल्याउँदै कुनै पनि व्यक्ति पहिचानको अभावमा सेवा तथा अधिकारबाट वञ्चित हुन नहुने बताउनुभयो ।

 गण्डकी प्रदेशका अनुभवका आधारमा सङ्घीय कानुनलाई थप प्रभावकारी बनाउन निरन्तर पैरवी आवश्यक रहेको उहाँको भनाइ थियो।

समितिका अर्का सदस्य परशुराम भट्टले अल्बिनिज्म भएका व्यक्तिहरूले भोग्दै आएका विभेद र लाञ्छनाको अन्त्यका लागि समाजको दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

उहाँले यस अभियानलाई केवल कानुनी सुधारको विषय नभई सामाजिक चेतना परिवर्तनको अभियानका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।

तालिममा राष्ट्रिय अपाङ्ग अल्बिनो नेपालका कार्यकारी निर्देशक प्रखरदिप गुप्ताले अल्बिनिज्म भएका व्यक्तिहरूको अधिकार, सामाजिक समावेशीकरण तथा उनीहरूसँग सम्बन्धित अन्धविश्वास र गलत धारणाविरुद्ध सहजीकरण गर्नुभएको थियो ।

उहाँले नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएकाले अल्बिनिज्म भएका व्यक्तिहरूलाई पनि समान हक र सम्मानका साथ अघि बढाउन कानुन तथा नीतिहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिममा सहभागीहरूले अल्बिनिज्म भएका व्यक्तिहरूका लागि आवश्यक सनस्क्रिन, विशेष चश्मालगायत सुरक्षात्मक सामग्रीमा राज्यले सहयोग गर्नुपर्ने, साथै अल्बिनिज्मलाई अन्धविश्वाससँग जोडेर हेर्ने गलत सोचविरुद्ध व्यापक जनचेतना फैलाउनुपर्ने माग राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशमा अल्बिनिज्म पहिचान भएका व्यक्तिको संख्या १५० भन्दा बढी रहेको जानकारी दिइएको थियो ।

गण्डकी प्रदेशका अध्यक्ष हेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष विशाल विकले गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News