पोखरा । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कास्कीमा सप्ताहव्यापी अभियान सुरु गरिएको छ ।
‘लागुऔषधको चुनौती चिनौं : सामाजिक समाधानको बाटो खोजौं’ भन्ने नारासहित सुरु गरिएको अभियानअन्तर्गत सचेतनामूलक तथा नियन्त्रणमुखी विभिन्न कार्यक्रम सञ्चालन गरिने भएका छन् ।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा कास्कीमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा असल छिमेकी नेपाल नवजीवन पुनर्स्थापना केन्द्रको समन्वयमा २०८३ असार ६ गते पोखरा महानगरपालिका–१, सिमपानीस्थित पुनर्स्थापना केन्द्रमा युवा लक्षित सचेतनामूलक कार्यक्रम गरी अभियानको शुभारम्भ गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले लागुऔषधमुक्त समाज आजको आवश्यकता भएको बताउँदै यसका लागि परिवार, विद्यालय र स्थानीय प्रशासनबिचको त्रिपक्षीय सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो ।
उहाँले लागुऔषध प्रयोगकर्तालाई घृणा गर्नेभन्दा उपचार र पुनर्स्थापनामार्फत समाजको मूलधारमा फर्काउन घरपरिवार, समुदाय र समाजको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।
लागुऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज र सामाजिक सङ्घसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।
प्रजिअ गुरुङका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत वडा तथा टोलस्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
होटल तथा यातायात व्यवसायी, औषधि व्यवसायी र युवा क्लबहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरिनेछ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले लागुऔषध दुर्व्यसन, ओसारपसार तथा बिक्री–वितरण नियन्त्रणका लागि सामूहिक ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो ।
उहाँले अभियान सफल बनाउन सबै सरोकारवाला निकाय तथा आमनागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै असार ६ देखि १२ गतेसम्म विभिन्न सचेतनामूलक तथा नियन्त्रणमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले लागुऔषधको बढ्दो जोखिम र यसले समाजमा पारेको नकारात्मक प्रभावबारे सहजीकरण गर्नुभएको थियो ।
उहाँले युवामा बढ्दो दुर्व्यसनको जोखिमलाई मध्यनजर गर्दै विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
त्यस अवसरमा सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर २४ का सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीकी अनुसन्धान अधिकृत सरस्वती पाण्डे तथा असल छिमेकी नेपाल नवजीवन पुनर्स्थापना केन्द्रका अध्यक्ष मुक्तिनाथ ढकालले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा पुनर्स्थापना केन्द्रमा रहेका युवाहरूले आफ्नो भोगाइ तथा पुनर्स्थापनापछि आएको सकारात्मक परिवर्तनका अनुभव साझा गरेका थिए ।
सहभागीहरूले लागुऔषधमुक्त समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
वडा प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय, सुरक्षा निकाय, निजी क्षेत्र, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।