मानव आवाज

२०८३ जेष्ठ १० गते
00: 00: 00
२०८३ जेष्ठ १० गते

सीप, श्रम र आत्मनिर्भरताले बदलिएको आहाले

सिन्धुली । सिन्धुली यतिबेला हरियालीले ढाकिएको छ । वरिपरि फैलिएको हरियो वातावरणबिच जस्तापाताले छाएका सानासाना घरहरू देखिन्छन् । तर, ती सामान्य घर होइनन्, श्रम, सिर्जना र आत्मनिर्भरताको पाठ सिकाउने जीवित उदाहरण हुन् ।

घरको आँगन पुराना कपडाबाट बनाइएका आकर्षक गमलाले सजिएको छ, जहाँ रङ्गीबिरङ्गी फूलहरू फुलेका छन् । करेसाबारीमा विभिन्न प्रकारका सागसब्जी लहलहाएका छन् । गोठमा पालिएका भैंसीबाट उत्पादन भएको गोबरबाट बायोग्यास निकालिएको छ । गोबर व्यवस्थापनका लागि सुधारिएको भकारो, झोल मल र गड्यौला मल उत्पादनको तयारीसमेत गरिएको छ ।

भाँडा माझ्ने ठाउँबाट निस्कने पानीसमेत करेसाबारीमा प्रयोग गरिएको छ । घरअगाडि फलले झुकेका लिचीका बोटहरू छन् । यो दृश्य कुनै आधुनिक कृषि फार्मको होइन, सिन्धुलीको कमलामाई नगरपालिका-५, आहालेकी ३५ वर्षीया इन्द्रक्रान्ती तामाङको घरपरिसरको हो । यही परिवेशलाई थप व्यवस्थित, विस्तार र दिगो बनाउने अभियानमा सक्रिय इन्द्रक्रान्ती अहिले आफ्नो परिवार मात्र होइन, समग्र समुदायकै प्रेरणाको स्रोत बन्नुभएको छ ।

कुनै समय आफ्नो नाम भन्नसमेत सङ्कोच मान्ने इन्द्रक्रान्ती अहिले बैठक सञ्चालन गर्नुहुन्छ, माइन्युट लेख्नुहुन्छ, समूहको हिसाबकिताब राख्नुहुन्छ, औपचारिक कार्यक्रम सञ्चालन गर्नुहुन्छ र अरूलाई नेतृत्व विकाससम्बन्धी तालिमसमेत दिनुहुन्छ । “पहिले परिचय दिन उठ्नुपर्दा पनि डर लाग्थ्यो । बोल्नै सक्दिनथेँ । तर, सिकाइ केन्द्रमा आबद्ध भएर विभिन्न तालिम पाएपछि मेरो आत्मविश्वास र क्षमता दुवै बढ्यो ।”-उहाँले भन्नुभयो ।

सिड्स नेपाल सिन्धुलीले सञ्चालन गरेको नेपाल एकीकृत ग्रामीण विकास परियोजनाअन्तर्गत २०७७ पुस २५ गते दलित तथा जनजातिको बाहुल्य रहेको आहालेमा ‘आहाले सिकाइ केन्द्र’ गठन गरिएको थियो । इन्द्रक्रान्ती उक्त केन्द्रकी सचिव तथा व्यवस्थापन समिति सदस्य बन्नुभयो ।

जहाँ पहिले कुनै सङ्घसंस्थाको पहुँच थिएन, ‘समूह’ भन्ने शब्दसमेत अपरिचित थियो, त्यही बस्ती आज सामूहिक सिकाइ र सामाजिक रूपान्तरणको केन्द्र बनेको छ । कृषि, वन, पशुपालन र जैविक खेतीले अहिले आहालेका धेरै परिवारलाई आत्मनिर्भर बनाएको छ । इन्द्रक्रान्तीले १ हजार ३ सय ओटा भुँईकटहर रोप्नुभएको छ भने पाँच कठ्ठा क्षेत्रफलमा कृषि वन विस्तार गर्नुभएको छ । अम्रिसो, किम्बु, मेन्दोला लगायत पशुका लागि पोषिलो घाँस उत्पादन गरेपछि पहिलेजस्तो दिनभर जंगल धाउनुपर्ने बाध्यता हटेको छ ।

बाँझो जमिनमा लगाइएको घाँसले पशुपालन सहज बनाएको छ भने अतिरिक्त घाँस बिक्री गरेर आम्दानीसमेत हुन थालेको छ । परियोजना सुरु हुनुअघि आहालेमा घरायसी तरकारी खेतीसमेत न्यून थियो । अहिले अधिकांश घरमा सुधारिएको करेसाबारी निर्माण गरिएको छ भने टनेलमार्फत व्यावसायिक तरकारी खेती सुरु भएको छ । स्थानीयले पशुचौपायाबाट उत्पादन हुने प्राङ्गारिक मल, झोल मल, गहुँत सङ्कलन, चिया मल, इएम टु मल र गड्यौला मल उत्पादन गर्न सिकेका छन् । यसले रासायनिक मल तथा विषादीमा हुने खर्च घटाएको छ ।

इन्द्रक्रान्तीले गोठ सुधार, भकारो व्यवस्थापन, रैथाने बाली संरक्षण, माटो परीक्षण, बेमौसमी तरकारी उत्पादन तथा नेतृत्व विकाससम्बन्धी तालिम प्राप्त गर्नुभएको छ । ती तालिमका प्रमाणपत्र अहिले पनि उहाँसँग सुरक्षित छन् । उही सीप र अनुभवका आधारमा उहाँ अहिले विभिन्न स्थानमा पुगेर अरूलाई तालिम दिन थाल्नुभएको छ ।

जैविक खेती र व्यवस्थित ग्रामीण जीवनशैलीका कारण आहाले अहिले उदाहरणीय गाउँका रूपमा परिचित बन्दै गएको छ । कृषि विद्यालयका विद्यार्थी, कृषक तथा विभिन्न क्षेत्रका व्यक्तिहरू अवलोकन भ्रमणका लागि यहाँ आउने गरेका छन् । कतिपयले तालिम लिएर मात्रै फर्किने गरेका छन् । ३२ जना सदस्य आबद्ध रहेको आहाले सिकाइ केन्द्रले गाउँमा सामूहिकता र एकताको भावना विकास गरेको छ ।

पहिले घरभित्र सीमित महिलाहरू अहिले समूहमा छलफल गर्छन्, उत्पादन गर्छन्, बजारसम्म पुगेर आफ्ना उत्पादन बिक्री गर्छन् र आफूले सिकेका सीप अरूलाई पनि सिकाउँछन् । यसले उनीहरूलाई आत्मनिर्भर मात्र बनाएको छैन, आत्मसम्मान र आत्मसन्तुष्टि पनि दिलाएको छ । “पहिले घर खर्चका लागि पतिसँग पटकपटक पैसा माग्नुपर्थ्यो । अहिले आफ्नै आम्दानी छ, तरकारी बेचेर बचत गर्न थालेकी छु ।”-इन्द्रक्रान्तीले सुनाउनुभयो ।

उहाँका अनुसार आत्मनिर्भर बनेपछि सम्मान स्वतः बढ्ने रहेछ । “आफू सक्षम भएपछि कसैले हेप्न सक्दैन ।”-उहाँले मुस्कुराउँदै भन्नुभयो । परिवर्तन आर्थिक अवस्थामा मात्र होइन, जीवनशैलीमा पनि देखिएको छ । पहिले व्यक्तिगत सरसफाइसमेत कमजोर थियो । अहिले पोषणयुक्त खाना पकाउने, सन्तुलित आहार खाने र आफ्नै करेसाबारीमा उत्पादन भएका सातदेखि नौ प्रकारसम्मका तरकारी उपभोग गर्ने बानी बसेको छ ।

जुठेल्नोको पानी पुनः प्रयोग गर्ने, फोहोर व्यवस्थापन गर्ने र आफ्नै उत्पादनको अर्गानिक खाद्य प्रयोग गरेर परिवारलाई स्वस्थ बनाउने अभ्यास घरघरमा विकास भएको छ । सिकाइ केन्द्रका सदस्यहरूको जीवनशैलीमा आएको परिवर्तन र नेतृत्व क्षमताको विकाससँगै गाउँमा होमस्टे सञ्चालनको पहलसमेत गरिएको छ । स्वच्छ वातावरण, हरियाली, जैविक खेती, सामुदायिक जीवनशैली र स्थानीय संस्कृतिले आहालेलाई ग्रामीण पर्यटनको सम्भावना बोकेको गाउँका रूपमा चिनाउँदै लगेको छ ।

कुनै बेला अभाव र निर्भरताले थिचिएको आहाले अहिले सीप, श्रम र स्वरोजगारको उदाहरण बनेको छ । सही अवसर, सामूहिक अभ्यास र सीप विकासले गाउँको मुहार कसरी बदल्न सक्छ भन्ने सन्देश आहालेले दिएको छ । आत्मनिर्भरताको दर्शन, महिलाको नेतृत्व र सामुदायिक रूपान्तरणको केन्द्रमा अहिले दृढतापूर्वक उभिनुभएको छ-इन्द्रक्रान्ती तामाङ ।

Author

Share the News

Recent News

Related News