दाङ । मध्यान्हको चर्को गर्मी । सडकको तापले जुत्तासमेत तातिरहेको थियो । तर, हातमा प्लेकार्ड र आँखामा चिन्ता बोकेका सयौँ सुकुमबासीहरू भने सडकमा उत्रिएका थिए । उनीहरूको एउटै प्रश्न थियो-“बस्दै आएको ठाउँबाट हटाइएपछि हामी कहाँ जाने ?”
रूपन्देहीको बुटवलमा २०८३ जेठ ३ गते भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले गरेको प्रदर्शन केवल विरोध मात्र थिएन, त्यो आफ्नै अस्तित्व जोगाउने प्रयास पनि थियो ।
वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरू विकल्पबिना हटाउन खोजिएको भन्दै उनीहरूले सरकारविरुद्ध आवाज उठाएका हुन् ।
नेपाल भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति, रूपन्देहीको आयोजनामा भएको र्याली राजमार्ग चौराहाबाट सुरु भएर मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकसम्म पुगेको थियो । चर्को घामको पर्वाह नगरी सहभागीहरू लगातार नाराबाजी गर्दै अघि बढिरहेका थिए ।

प्रदर्शनमा विशेषगरी तराईका २२ जिल्लाबाट आएका सुकुमबासीहरूको उपस्थिति उल्लेख्य थियो । धेरै सहभागीहरू परिवारसहित आएका थिए । केहीले बच्चालाई काँधमा बोकेका थिए भने केही ज्येष्ठ नागरिक लठी टेक्दै र्यालीमा हिँडिरहेका देखिन्थे ।
सङ्घर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले गरिब र भूमिहीनमाथि अन्याय गरिरहेको आरोप लगाउनुभयो ।
उहाँका अनुसार कुनै वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर बस्ती हटाउने प्रयास भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको हो ।
सुकुमबासी बस्तीमा डोजर चलाएकोप्रति संयुक्त राष्ट्रसङ्घीय विज्ञहरूको गम्भीर चिन्ता
प्रदर्शनकारीहरूको भनाइमा समस्या केवल जमीनको होइन, सुरक्षित भविष्यको पनि हो । “हामीलाई हटाउने होइन, व्यवस्थापन गर्ने नीति चाहिन्छ ।”- एक सहभागीले भने ।
सडकमा उत्रिएका ती अनुहारहरू केवल विरोधका प्रतीक थिएनन्, राज्यसँग न्यूनतम बाँच्न पाउने अधिकार मागिरहेका नागरिकका प्रतिनिधि पनि थिए ।