मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

रातको सन्नाटा चिर्ने ‘फेरी’को धुन: लोपोन्मुख विरासत जोगाउँदै जोगीहरू

रुदबहादुर खड्का, सिन्धुली ।

किंवदन्तीअनुसार भगवान शिवले मानव जातिको रक्षाका लागि गोरखनाथ, मच्छिन्द्रनाथ र कालभैरवजस्ता पात्रहरूको सृष्टि गरी तन्त्रमन्त्र प्रदान गरेका थिए ।

आजका जोगीहरू तिनै नाथ सम्प्रदायका सन्तान मानिन्छन् । आधुनिकताको प्रभावले धेरै मौलिक संस्कृतिहरू हराउँदै गइरहेका बेला सिन्धुलीका ग्रामीण बस्तीहरूमा गुञ्जिने ‘फेरी’को धुनले हाम्रो प्राचीन पहिचानको झल्को दिइरहेको छ ।

सिन्धुलीमा रातको दोस्रो प्रहरमा गाउँघरका मानिसहरू गहिरो निद्रामा हुन्छन् । त्यस समयमा झ्याउँकिरीको आवाजबाहेक अरू केही सुनिँदैन ।

ठ्याक्कै त्यही बेला सन्नाटा चिर्दै एउटा गम्भीर ध्वनि गुञ्जिन्छ-“आकासै बाँधु, पातालै बाँधु, चारैसुर बाँधु…।”

यो कुनै तान्त्रिक चलचित्रको दृश्य होइन, सिन्धुलीका बस्तीहरूमा वर्षौँदेखि गुञ्जिँदै आएको ‘फेरी’को आवाज हो ।

ओखलढुङ्गाको सुनकोसी गाउँपालिकाका २४ वर्षीय कमल जोगीको ओठमा मन्त्र, हातमा ‘बराँठ’को सिङ र मनमा पुस्तौनी विरासतप्रतिको गर्व झल्किन्छ ।

आधुनिक समयमा कतिपय संस्कृतिहरू इतिहासमा सीमित भइसकेका छन् । तर कमल जोगी र उहाँजस्ता अरू दर्जनौँका लागि यो केवल परम्परा मात्र नभई जीविकोपार्जनको आधार पनि हो ।

ओखलढुङ्गाबाट सिन्धुली आएका कमल भन्नुहुन्छ, “वर्षमा तीन पटक (साउन, कात्तिक र चैत) तीन महिना खट्दा वर्षभरि गुजारा चल्छ भने पुर्खाको पेसा किन छोड्ने?”

यसपटक उहाँले सिन्धुलीका भद्रकाली र रानीचुरी क्षेत्रका दु१०-१२ गाउँहरूमा फेरी लगाइसक्नुभएको छ ।

रातभर गाउँको सुरक्षाका लागि मन्त्र उच्चारण गर्दै हिँड्ने र बिहान घर घरमा पुगेर ‘सिदा’ (अन्न र दक्षिणा) सङ्कलन गर्ने उहाँहरूको दैनिकी हो ।

फेरी लगाउन प्रयोग गरिने ‘बराँठ’ (एक प्रकारको जङ्गली जनावर) को सिङ अहिले पाउन लगभग असम्भव छ । रामेछापका हर्कबहादुर गिरीसँग रहेको सिङ उनका बाजे बुबाको पालाको हो ।

उहाँ भन्नुहुन्छ, “अहिले त जे पाए त्यही सिङ बजाउँछन्, तर मेरो यो बाजेले अंशमा दिएको अमूल्य नासो हो ।”

पहिले यो सिङ कसैलाई देखाउनु हुँदैन भन्ने मान्यता थियो । तर समयसँगै सोच बदलिएको छ । अहिले मानिसहरू शङ्का गर्ने भएकाले देखाउनुपर्ने अवस्था आएको छ ।

जोगीहरू भन्छन्, “नदेखाए के बजाएको भन्छन्, देखाइदियो भने सन्तुष्ट हुन्छन् । तर देखाउनेलाई भन्दा हेर्नेलाई नोक्सान हुन सक्छ ।”

रातभर कसले फेरी लगायो भनेर नदेखे पनि स्थानीय बासिन्दाहरू जोगीहरूलाई ‘सिदा’ दिएर सम्मानपूर्वक बिदा गर्छन् ।

Author

Related News