मानव आवाज

२०८२ फाल्गुन २९ गते
00: 00: 00
२०८२ फाल्गुन २९ गते

प्रदूषित हावाले घटाउँदै नेपालीको आयु, बर्सेनि ४२ हजारको ज्यान जोखिममा

काठमाडौँ । नेपालमा बढ्दो वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर चुनौती खडा गरिरहेको छ । प्रदूषित हावाकै कारण बर्सेनि झण्डै ४२ हजार नेपालीले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ । तीमध्ये उल्लेख्य हिस्सा साना बालबालिकाको रहेको चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वायु प्रदूषणका कारण ज्यान गुमाउनेमध्ये करिब २१ प्रतिशत पाँच वर्षमुनिका बालबालिका हुने गरेका छन् ।

यसले वायु प्रदूषणले विशेष गरी संवेदनशील समूह-बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई बढी प्रभावित पारिरहेको देखाउँछ ।

चिकित्सकका अनुसार प्रदूषित हावाले श्वासप्रश्वाससम्बन्धी रोग, दम, मुटुरोग, हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा स्मरणशक्ति कमजोर हुने जस्ता समस्या निम्त्याउने गर्छ ।

बालबालिकामा भने श्वासप्रश्वासको समस्या, मस्तिष्क विकासमा ढिलाइ, असामान्य व्यवहार, कुपोषण तथा बाल्यकालीन क्यान्सरको जोखिमसमेत बढ्ने गरेको विज्ञहरू बताउँछन् ।

प्रदूषणको असर गर्भवती महिलामा समेत देखिने गरेको छ । कम तौलका शिशु जन्मिनु, रक्तअल्पता, बाँझोपन, गर्भकालीन मधुमेह र मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने जोखिम बढ्ने चिकित्सकहरूको भनाइ छ ।

मन्त्रालयका अनुसार नेपालमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डभन्दा झण्डै आठ गुणासम्म बढी पुगेको छ । हाल देशका केही स्थानमा वायु गुणस्तर सूचक १८५ सम्म पुगेको तथ्याङ्कले अवस्था अस्वस्थकर रहेको देखाउँछ ।

डब्ल्यूएचओका अनुसार स्वास्थ्यका लागि सुरक्षित मानिने सूक्ष्म कण (पीएम २.५) को वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा कम हुनुपर्छ ।

तर, नेपालमा यसको मात्रा धेरै भएकाले हावामा तैरिने सूक्ष्म कण सिधै श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेर स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने खतरा बढेको छ ।

विशेषज्ञहरूका अनुसार यदि नेपालले वायु प्रदूषणलाई डब्ल्यूएचओको मापदण्डभित्र ल्याउन सके नेपालीको औसत आयु झण्डै ३.३ वर्षले बढ्न सक्ने अनुमान गरिएको छ ।

विश्वव्यापी रूपमा पनि वायु प्रदूषणका कारण हरेक वर्ष करिब ७९ लाख मानिसको ज्यान जाने गरेको र तीमध्ये ९० प्रतिशत कम तथा मध्यम आय भएका देशका नागरिक पर्ने गरेका छन् ।

नेपालमा सवारीसाधनबाट निस्कने धुँवा, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहर जलाउने चलन, सडक र निर्माण कार्यको धुलो, वन डढेलो तथा कीटनाशक र विषादीको अत्यधिक प्रयोग वायु प्रदूषणका मुख्य कारण मानिन्छन् ।

जनस्वास्थ्य विज्ञहरूले वायु प्रदूषणलाई नियन्त्रण गर्न सवारी उत्सर्जन नियन्त्रण, खुला रूपमा फोहर जलाउने प्रवृत्ति रोक्न, हरित क्षेत्र विस्तार गर्न तथा वातावरणमैत्री विकास नीतिमा जोड दिन आवश्यक रहेको बताएका छन् । (फोटोः उकेराबाट)

Author

Related News