काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न अनुमतिपत्र (पास) लिनुपर्ने जनाएको छ ।
मतदानको दिन आवतजावतलाई व्यवस्थित र मर्यादित बनाउनका लागि जारी गरिएको अनुसूची-४ अनुसार, सम्बन्धित निकायको सिफारिसमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा निर्वाचन आयोगबाट पास प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
सवारी पास प्राप्त गर्न उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष आवेदन दिनुपर्नेछ । एउटा चार, तीन वा दुई पाङ्ग्रे सवारी साधन प्रयोगको अनुमति पाइनेछ ।
सुरक्षाकर्मीका लागि आवश्यकता अनुसारको पास सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाटै जारी हुनेछ ।
पर्यवेक्षकहरुको हकमा, उपत्यकाभित्रका लागि निर्वाचन आयोगको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट र उपत्यका बाहिरका लागि मुख्य निर्वाचन अधिकृतको समन्वयमा निर्वाचन अधिकृतको सिफारिसमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।
सञ्चारकर्मीहरुले पास प्राप्त गर्न उपत्यकाभित्र सूचना तथा प्रसारण विभाग वा प्रेस काउन्सिलको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी समक्ष आवेदन दिनुपर्नेछ ।
उपत्यकाबाहिर भने सूचना तथा प्रसारण विभागले तोकेको स्थानीय सञ्चार गृह वा जिल्लास्थित पत्रकार महासङ्घको कार्यालयको सिफारिसमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।