पोखरा । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन-२०८२ को प्रचारप्रसारका क्रममा नेकपा एमाले कास्की क्षेत्र नम्बर १ का उम्मेदवार वैनबहादुर अधिकारी क्षेत्रीको चुनावी अभियानमा प्रयोग भएका दुई ओटा गाडीमाथि ढुङ्गा प्रहार भएको छ ।
घटना २०८२ फागुन १४ गते कास्कीको मादी गाउँपालिका-११ उपल्लो साप्लेमा कार्यक्रम भइरहेका बेला भएको हो ।
उम्मेदवार अधिकारीका अनुसार तरुण दलसँग सम्बद्ध युवाहरूले ग.४ च.१०१५ र बा.९ च.८९ नम्बरका कारमा ढुङ्गा प्रहार गरेका हुन् ।
उहाँले स्थानीय तरुण दलका नेता रिदम गुरुङसहित चार जनाको समूह संलग्न रहेको आरोप लगाउनु भएको छ । ढुङ्गा प्रहारबाट गाडीका सिसा फुट्नुका साथै ढोकामा क्षति पुगेको बताइएको छ।
उम्मेदवार अधिकारीले घटनामा संलग्नमाथि कडा कारवाही गर्न माग गर्नु भएको छ । “घटनाबाट म विचलित भएको छैन । तर, सुरक्षा चुनौती देखिएको छ । राज्यले तुरुन्त दोषीलाई पक्राउ गरी कारवाही गरोस् ।”-उहाँले भन्नु भयो ।
