मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

एमालेको घरदैलो अभियान पोखरा-२१ मा तीव्र

पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रश्मि आचार्यको उपस्थितिमा पोखरा महानगरपालिका-२१ मा घरदैलो तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । कार्यक्रम २०८२ फागुन २ गते आयोजना गरिएको थियो ।

निर्वाचन परिचालन कमिटीका संयोजक राजेन्द्र थापाको नेतृत्वमा अभियान थप व्यवस्थित र प्रभावकारी बन्दै गएको जनाइएको छ ।

वडास्तरमा बुथ केन्द्रित परिचालनलाई प्राथमिकता दिँदै सङ्गठन सुदृढीकरण र जनसम्पर्क विस्तारलाई तीव्र पारिएको संयोजक थापाले बताउनु भयो ।

अभियानअन्तर्गत रामदि आधारभूत विद्यालय अन्तर्गतको बुथ केन्द्रित निर्वाचन परिचालन कमिटीको कार्यालय जेष्ठ नागरिक हुमबहादुर थापाले ब्यानरमा हस्ताक्षर गरी विधिवत् उद्घाटन गर्नु भयो ।

ज्येष्ठ नागरिकबाट उद्घाटन गरिनुले अभियानमा सम्मान, अनुभव र प्रेरणाको सन्देश प्रवाह भएको सहभागीहरूको भनाइ थियो ।

घरदैलो कार्यक्रमका क्रममा रामदि, फुर्सेखोला, डुड्खु, बक्रेक, बिर्ता तथा खामपुर क्षेत्रका बासिन्दासँग उम्मेदवार आचार्यले प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नु भयो ।

स्थानीय समस्या, पूर्वाधार विकास, शिक्षा, रोजगारी तथा जनजीविकाका विषयमा खुला छलफल गरिएको थियो ।

अन्तरक्रियाका क्रममा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूले स्पष्ट रूपमा आफ्ना धारणा राख्दै भन्नु भयो-“हामी समय–समयमा यस्तै अन्तरक्रियामा जुट्न चाहन्छौँ । चुनावको बेला मात्र होइन, सधैँ हाम्रो बिचमा आउनुहोस्। गर्न नसक्ने ठूलो आश्वासन होइन, गर्न सक्ने कामको मात्र वाचा गर्नुहोस् ।”

स्थानीयवासीले विकास, स्थायित्व र सक्षम नेतृत्वका लागि ‘सूर्य’ चिन्हमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अभियानमा निवर्तमान केन्द्रीय सदस्य भिम कार्की, प्रदेश कमिटी सदस्य हिरा गिरि, निर्वाचन परिचालन क्षेत्र नं. २ का सचिव झपट रानाभाट, महानगर कमिटी अध्यक्ष जीवन आचार्य, जिल्ला कमिटी सदस्यहरू कृष्ण थापा र रमा आचार्य, महानगर सदस्य वीर गुरुङ, क्षेत्रीय सदस्यहरू नगेन्द्र पोखरेल, राम गुरुङ, उमनाथ सुवेदी, डीएन लामिछाने, पूर्व प्रदेश कमिटी सदस्य तेजनारायण अधिकारी, चिरञ्जीवी पोखरेल, खगराज आचार्य, दीपक प्रसाद सुवेदी, रोशन भट्टराई, विजय पौडेल, कुल्दिप आचार्य लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्थानीय जनताले “विश्वास शब्दले होइन, व्यवहारले जितिन्छ” भन्ने सन्देश दिँदै जिम्मेवार र परिणाममुखी नेतृत्वको अपेक्षा व्यक्त गरेका छन् ।

Author

Related News