बिमला देवकोटा आचार्य
कहिलेकाहीँ कुनै घटना देखिन्छ, कानले सुन्छ, आँखाले नियाल्छ । तर, त्यसको कम्पन मनभित्र धेरै दिनसम्म चलिरहन्छ । केही दिनदेखि यस्तै एउटा बेचैनीले मन छोइरहेको छ । यो केवल एउटा अस्पतालमा देखिएको दृश्य होइन, हाम्रो समाज, राज्यव्यवस्था र मानवीय संवेदनाको ऐनामा देखिएको एउटा कठोर अनुहार हो । राजधानीको एउटा प्रतिष्ठित अस्पतालमा पुग्दा देखेको दृश्य अझै आँखामा झलझली आइरहेको छ । २४ वर्षका एक युवक-भर्खरै सुत्केरी भएकी श्रीमती र नवजात शिशुको स्याहारसुसारमा व्यस्त। घरको छतमा कपडा सुकाउन गएका उनी दुई तलामाथिबाट खसेछन्। गम्भीर चोट लागेपछि आफन्तले उनलाई नजिकैको ठूलो अस्पताल पुर्याए ।
चिकित्सकले मेरुदण्डमा गम्भीर चोट भएको र तत्काल शल्यक्रिया गर्नुपर्ने बताए । शल्यक्रियाका लागि करिब ४ लाख रुपियाँ आवश्यक रहेछ । गरिब परिवारका लागि चार लाख रुपैयाँ केवल रकम थिएन, त्यो त उनीहरूको सामर्थ्यभन्दा निकै परको पहाड थियो । आफन्तहरू पैसा खोज्दै भौँतारिए । जसोतसो ३ लाख ५० हजार रुपियाँ जम्मा भयो । उनीहरूले अस्पतालसँग आग्रह गरे-“बाँकी ५० हजार पनि जुटाउँछौँ, कृपया अपरेसन सुरु गरिदिनुस् ।” तर, जबाफ आयो-पूरा रकम नजुटेसम्म उपचार सुरु गर्न सकिँदैन । त्यो क्षणमा मेरो मनमा एउटा प्रश्न उठ्यो-अस्पताल उपचार गर्ने ठाउँ हो कि पहिले आर्थिक हैसियत नाप्ने ठाउँ ?
म अस्पतालको चिकित्सकीय खर्च, स्रोतसाधन र संस्थागत बाध्यतालाई नकार्न खोजिरहेकी छैन । अस्पताल सञ्चालनका आफ्नै आर्थिक र प्रशासनिक संरचना हुन्छन् । चिकित्सक र स्वास्थ्यकर्मी पनि प्रणालीकै एउटा हिस्सा हुन् । तर, प्रश्न त्यसभन्दा ठूलो हो-आपत्कालीन अवस्थामा जीवन र पैसाबिचको दूरी कति हुनुपर्छ ? यही प्रश्नले मलाई केही समयअघिको अर्को दृश्य सम्झायो । प्रसव पीडामा छटपटाइरहेकी एक महिला अस्पतालको गेटअगाडिको सडकमा पुगेकी थिइन् । आवश्यक परीक्षण तथा उपचारका लागि पैसा जुटाउन नसकिएको अवस्थाले उनलाई अस्पतालको ढोकाभित्र होइन, सडकमा पीडा सहनुपर्ने परिस्थितिमा पुर्याएको खबरले पनि मन हल्लाएको थियो ।
अर्को दृश्य पनि सम्झनामा छ-अस्पतालमा आफन्तको मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव बुझ्न प्रतीक्षारत परिवार । घण्टौँसम्मको प्रतीक्षा। मृत्युको पीडा आफैँमा असह्य हुन्छ । त्यसमा प्रशासनिक प्रक्रिया, आर्थिक दायित्व र अनिश्चित प्रतीक्षाले थप पीडा थपिँदा शोकाकुल परिवारले कस्तो मानसिक अवस्था भोग्छ होला ? यी दृश्यहरू अलगअलग घटना हुन सक्छन् । तर, तिनले एउटै ठूलो प्रश्न सोधिरहेका छन्-हाम्रो स्वास्थ्य प्रणालीमा मानिसको जीवन, गरिबी र मानवीय गरिमाबीचको सम्बन्ध कस्तो छ ? पैसा नभएकै कारण पीडा किन बढिरहन्छ ?
हामीले विकासको कुरा धेरै गरेका छौँ । अस्पतालका भवन ठूला भएका छन्, उपकरण आधुनिक भएका छन्, विशेषज्ञ चिकित्सक बढेका छन् । तर, उपचारको ढोकासम्म पुगेपछि पनि यदि बिरामीको पहिलो परिचय “कति पैसा ल्यायो ?” भन्ने बन्न पुग्छ भने विकासको अर्थमाथि पुनर्विचार गर्नुपर्ने हुन्छ । गरिब हुनु अपराध होइन । पैसा नहुनु कमजोरी होइन । तर, गरिबीका कारण उपचारमा ढिलाइ हुनु, प्रसवपीडामा महिला सडकमा पुग्नु वा मृत्यु भइसकेपछि पनि परिवार आर्थिक तथा प्रशासनिक प्रक्रियाको बोझमा थिचिनु भने सामाजिक न्यायको गम्भीर प्रश्न हो ।
अझ गम्भीर कुरा के छ भने यस्ता पीडाको भार परिवारभित्र पनि समान रूपमा बाँडिँदैन । हाम्रो समाजमा महिलाले प्रायः आफ्नै शरीर, समय, श्रम र भावनाको मूल्य चुकाइरहेकी हुन्छिन् । महिलामाथिको हिंसा केवल हातपात होइन । हामीले हिंसा भन्नासाथ कुटपिट, बलात्कार वा शारीरिक आक्रमण सम्झिन्छौँ । तर, महिलामाथिको हिंसाका धेरै अनुहार छन्-आर्थिक हिंसा, मानसिक हिंसा, श्रमको अवमूल्यन, निर्णयबाट वञ्चितीकरण, नियन्त्रण, अपमान र निर्भर बनाइराख्ने सामाजिक संरचना । एक महिला बिहानदेखि बेलुकासम्म घरको काम गर्छिन् । बालबालिकाको हेरचाह गर्छिन् । वृद्ध सासूससुराको सेवा गर्छिन् । श्रीमान्को काममा साथ दिन्छिन् । कहिलेकाहीँ बाहिर रोजगारी पनि गर्छिन् ।
तर, उनको श्रमको आर्थिक मूल्य कहाँ छ ? उनले कमाएको पैसा कसले नियन्त्रण गर्छ ? उनलाई आफ्नै कमाइ खर्च गर्ने अधिकार कति छ ? घरमा भएको आर्थिक निर्णयमा उनको आवाज कति सुनिन्छ ? यी प्रश्नहरू सामान्य देखिए पनि यिनको सम्बन्ध महिलामाथि हुने आर्थिक हिंसासँग गहिरो छ । कसैको कमाइ खोस्नु मात्र आर्थिक हिंसा होइन । कसैलाई आर्थिक रूपमा पूर्ण निर्भर बनाइराख्नु, आवश्यक खर्चका लागि पनि अनुमति लिनुपर्ने अवस्था सिर्जना गर्नु, महिलाको कमाइलाई आफ्नो अधिकार ठान्नु, उनको श्रमलाई “घरको काम त हो नि” भनेर मूल्यहीन बनाउनु पनि आर्थिक हिंसाका स्वरूप हुन सक्छन् । अझ विडम्बना त त्यतिबेला हुन्छ, जब अर्काको पसिनाको कमाइमा रमाउने, ऋण वा विश्वासको दुरुपयोग गर्ने र आफूले गरेको आर्थिक अन्यायलाई सामान्य व्यवहार ठान्ने मानिसहरू हाम्रै सामाजिक परिवेशमा सम्मानितझैँ देखिन्छन् ।
विपद् आउँदा राज्य कहाँ हुन्छ ?
हाम्रो पीडा अस्पतालको ढोकामा मात्र सीमित छैन । प्राकृतिक विपद्ले हामीलाई बारम्बार झस्काइरहेको छ । बाढी, पहिरो, भूकम्प, दुर्घटना-विपद् आफैँमा दुःखद हुन्छ । तर, विपद्पछिको उद्धार, उपचार र पुनर्स्थापनामा हुने ढिलाइले पीडा अझ गहिरो बनाउन सक्छ । भोटेकोशी क्षेत्रमा सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारसँग सम्बन्धित घटनाहरूले पनि यही प्रश्न उठाएका छन् । प्राविधिक कठिनाइ र उद्धारका जटिलताहरू वास्तविक हुन सक्छन् । तर, विपद्को समयमा राज्यको तयारी, उद्धार क्षमता, समन्वय र तत्काल प्रतिक्रिया कति प्रभावकारी छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । प्राकृतिक प्रकोपलाई रोक्न नसकिएला । तर, प्रकोपपछि मानवीय क्षति कम गर्ने जिम्मेवारीबाट राज्य पन्छिन मिल्दैन । विपद्को समयमा राजनीति, प्रतिशोध, प्रशासनिक जटिलता वा अन्य स्वार्थभन्दा माथि मानवीय जीवन हुनुपर्छ ।
विपद्को बोझ महिलाले अझ गहिरो गरी बोक्छिन्
विपद् सबैलाई समान रूपमा असर गर्दैन । महिला, बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रूपमा कमजोर समुदायले फरक किसिमका जोखिम सामना गर्छन् । विपद्पछि पानी, खाना, सुरक्षित आवास, स्वास्थ्य सेवा र सरसफाइको अभाव हुँदा महिलाको जोखिम बढ्न सक्छ । गर्भवती तथा सुत्केरीका समस्या अझ जटिल बन्न सक्छन् । घर भत्किएपछि पुरुषको रोजगारी गुम्नु एउटा समस्या हो भने महिलाको अवैतनिक हेरचाह श्रम बढ्नु अर्को अदृश्य समस्या हो । त्यसैले विपद् व्यवस्थापनलाई केवल उद्धारको प्रश्नका रूपमा हेर्नु पर्याप्त छैन । यसलाई लैङ्गिक न्याय र सामाजिक सुरक्षाको प्रश्नका रूपमा पनि हेर्नुपर्छ ।
आखिर हामी कहिलेसम्म सहने
हामी नेपाली सहनशील छौँ भनेर गर्व गर्छौँ । दुःख सहन्छौँ, अभाव सहन्छौँ, प्राकृतिक विपत्ति सहन्छौँ, महङ्गी सहन्छौँ, बेरोजगारी सहन्छौँ, प्रशासनिक झन्झट सहन्छौँ । महिलाले त झन् पुस्तौँदेखि सहनशीलताको नाममा आफ्नो पीडा लुकाउन सिकेका छन् । सहनशीलता कहिलेसम्म ? सहनु सद्गुण हुन सक्छ । अन्यायलाई निरन्तर सहिरहनु भने समाधान होइन । एक आमाले बच्चा बचाउन अस्पतालको ढोका ढकढक्याइरहेकी हुन्छिन् । एउटा युवा जीवन र मृत्युको दोसाँधमा हुन्छ । एउटा परिवार मृत आफन्तको शव बुझ्न प्रतीक्षामा हुन्छ । एउटा महिला आफ्नो कमाइको अधिकार खोजिरहेकी हुन्छिन् । एउटा श्रमिक विपद्मा उद्धारको प्रतीक्षामा हुन्छ । यी सबै घटनाको केन्द्रमा एउटै कुरा छ-मानिस । हामीले विकासको मापन केवल सडक, भवन, पुल र प्रविधिले गर्ने कि मानिसको जीवन कति सुरक्षित, सम्मानित र न्यायपूर्ण भयो भनेर पनि गर्ने ?
राज्य, समाज र हामी
राज्यको जिम्मेवारी ठूलो छ । आपत्कालीन स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, श्रमिक सुरक्षा, प्रसूति सेवा र कमजोर आर्थिक अवस्थाका नागरिकका लागि उपचारको पहुँचलाई प्रभावकारी बनाउनु राज्यको दायित्व हो । तर राज्य मात्र दोषी देखाएर समाजको जिम्मेवारीबाट पनि उम्कन मिल्दैन । हामीमध्ये कतिपयले महिलाको श्रमलाई सामान्य ठान्छौँ । कतिपयले आर्थिक शोषणलाई “घरायसी कुरा” भनेर पन्छाउँछौँ । कतिपयले ऋण नतिर्नुलाई सामान्य ठान्छौँ । कतिपयले महिलाको पीडामाथि प्रश्न गर्छौँ, पीडकको व्यवहारमाथि होइन । हिंसा रोक्न कानुन चाहिन्छ । तर, कान’नभन्दा अगाडि मानवीय चेतना चाहिन्छ । महिलालाई दया होइन, अधिकार चाहिन्छ । गरिबलाई उपकार होइन, पहुँच चाहिन्छ। बिरामीलाई सहानुभूति मात्र होइन, समयमै उपचार चाहिन्छ । विपद्पीडितलाई भाषण होइन, तत्काल उद्धार चाहिन्छ। शोकाकुल परिवारलाई थप पीडा होइन, मानवीय व्यवहार चाहिन्छ ।
अब प्रश्न उठाउनैपर्छ
आज म यी घटनालाई व्यक्तिगत पीडाका रूपमा लेखिरहेकी छैन । म आफूलाई पनि प्रश्न गरिरहेकी छु-हामी नागरिकहरू किन यति धेरै सहन्छौँ ? अन्याय देख्दा किन चुप लाग्छौँ ? महिलाको आर्थिक शोषणलाई किन पारिवारिक विषय ठान्छौँ ? गरिबको उपचारको प्रश्नलाई किन उसको व्यक्तिगत समस्या मान्छौँ ? विपद्पछिको राज्यको उत्तरदायित्वलाई किन केही दिनको समाचार बनाएर बिर्सन्छौँ ?
समाज परिवर्तन केवल संसद् वा सरकारबाट हुँदैन । नागरिकको प्रश्न, आवाज र दबाबले पनि परिवर्तनको बाटो बनाउँछ । हामीलाई यस्तो समाज चाहिएको छ जहाँ अस्पतालको ढोकामा बिरामीको जीवनभन्दा पहिले उसको आर्थिक हैसियत नतोलियोस् । जहाँ प्रसवपीडामा रहेकी महिलाले उपचारका लागि सडक रोज्नुपर्ने अवस्था नआओस् । जहाँ मृतकका आफन्तलाई अन्तिम संस्कारका लागि अनावश्यक प्रतीक्षामा राख्न नपरोस् । जहाँ विपद्मा राज्यको उद्धार संयन्त्र समयमै सक्रिय होस् र जहाँ महिलाको श्रम, समय, कमाइ र शरीरमाथि उनको आफ्नै अधिकारलाई सम्मान गरियोस् ।
किनकि गरिबी, लैङ्गिक असमानता, आर्थिक शोषण, मानसिक पीडा र राज्यको कमजोर उत्तरदायित्व अलगअलग समस्या होइनन् । यी एकअर्कासँग जोडिएका सामाजिक न्यायका प्रश्न हुन् । हामीले अब सहने होइन, प्रश्न गर्ने संस्कार विकास गर्नुपर्छ । अस्पतालको ढोकामा रोकिएको त्यो ४ लाख रुपियाँको प्रश्न एउटा परिवारको मात्रै होइन । सडकमा प्रसवपीडाले छटपटिएकी महिलाको पीडा एउटी महिलाको मात्रै होइन । विपद्मा उद्धारको प्रतीक्षा गरिरहेका नागरिक तथ्याङ्क मात्रै होइनन् । यि सबै प्रतिनिधि पात्र र प्रश्न हुन् । यी सबै हामी हौँ । र, यदि हामी अझै पनि मौन बसिरह्यौँ भने भोलि प्रश्न यही हुनेछ- मानिसको जीवनभन्दा ठूलो आखिर के थियो, जसका लागि हामीले यति धेरै पीडा सहिरह्यौँ ?
(बिमला प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरमा कार्यरत हुनुहुन्छ ।)