सिन्धुली । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा कमलामाई नगरपालिकाले बहिरा तथा कान नसुन्ने अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
कमलामाई नगरपालिका-६ स्थित नवज्योति बहिरा माध्यमिक विद्यालयको परिसरमा आयोजित शिविरमा विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य परामर्श, पोषण अवस्था मूल्याङ्कन तथा महिनावारी स्वच्छतासम्बन्धी सेवा प्रदान गरिएको थियो ।
विद्यार्थीलाई सरसफाइका सामग्री तथा आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।
बहिरा तथा कान नसुन्ने अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले विद्यालयमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा सिन्धुली अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सिन्धुलीको प्राविधिक समन्वय रहेको थियो ।
सोही अवसरमा कमलामाई नगरपालिकाले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न शैक्षिक तथा खेलकुद सामग्रीसमेत विद्यालयलाई हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा, नगर उपप्रमुख शान्ता कार्की, प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीलगायत जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कर्मचारी र सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाको पहुँच विस्तार गर्दै नागरिकप्रतिको स्थानीय सरकारको जिम्मेवारीलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
स्थानीय सरकार नागरिकको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा निरन्तर जिम्मेवार भएर काम गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
सञ्चारमा हुने कठिनाइका कारण स्वास्थ्य सेवा लिन असहज महसुस गर्नुपर्ने बहिरा विद्यार्थीलाई आफ्नै विद्यालयमा आधारभूत स्वास्थ्य परीक्षण, परामर्श, औषधि तथा सरसफाइका सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
स्वास्थ्य सेवासँगै शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराउँदा विद्यार्थीको अध्ययन, स्वास्थ्य र सर्वाङ्गीण विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।