ललितपुर । गोदावरीमा रात्रीकालीन साझा बस सेवा सञ्चालन भएको छ । यात्रुको सहजताका लागि राति १२ बजेसम्म बस सञ्चालन गरिएको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिनुभएको छ ।
रात्रीकालीन साझा बस सेवा दुई ओटा रुटमा सञ्चालन हुनेछ । पहिलो रुटअन्तर्गत टाहाखेल बसपार्क-लगनखेल-बुढानीलकण्ठ र दोस्रो रुटअन्तर्गत गोदावरी बसपार्क-लगनखेल-बुढानीलकण्ठ बस सञ्चालन हुने जनाइएको छ ।
रातिको समयमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरी सुरु गरिएको सेवाले गोदावरी तथा आसपासका क्षेत्रबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जाने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।
राति सार्वजनिक यातायातको पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको सेवाबाट विशेषगरी अबेरसम्म काम गर्ने तथा रातिको समयमा यात्रा गर्नुपर्ने यात्रु लाभान्वित हुनेछन् ।