मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कौसीमा उम्रिएको हरियाली सपना

फोहोरलाई मोहोरमा बदल्दै पोखराका घरघरमा खेती

पोखरा । बिहानको चिया पकाउँदै गर्दा सावित्री घिमिरे अधिकारी आफ्नो घरको कौसीमा पुग्नुहुन्छ । माटो छोएर हेर्नुहुन्छ, सागका पातहरूमा टाँसिएका शीतका थोपा टिप्नुहुन्छ र मुस्कुराउँदै भन्नुहुन्छ-“यो कौसी अब खाली छत होइन, हाम्रो सानो बारी हो ।”

पोखरा महानगरपालिका वडा नम्बर-८, नागढुङामा बसोबास गर्ने घिमिरे जस्तै धेरै घरधुरीका लागि कौसीखेती अहिले केवल रहर मात्र होइन, दैनिकी र आम्दानीको आधार बन्दै गएको छ ।

कुहिने फोहोरबाट बनेको मल, आफ्नै हातले तयार पारेको जैविक विषादी र सीमित ठाउँमै उत्पादन हुने ताजा तरकारीले शहरी जीवनशैलीलाई हरियालीतर्फ मोडेको छ ।

“पहिले फोहोर फाल्ने चिन्ता हुन्थ्यो ।”-घिमिरे भन्नुहुन्छ-“अहिले फोहोर नै मल बन्छ ।” घरबाट निस्कने तरकारीका बोक्रा, कुहिएका पात, भान्साको जैविक फोहोर-यी सबै कम्पोस्ट बिन, भर्मी कम्पोस्ट र झोल मलमा रूपान्तरण हुन्छन् । यसरी बनेको मलले कौसीमा गोलभेँडा, साग, धनियाँ, खुर्सानी, काउली, बन्दा जस्ता तरकारी सहजै फलिरहेका छन् ।

पोखरा महानगरपालिकाको केही क्षेत्रमा घरघरबाट फोहोर सङ्कलन नहुँदा पनि स्थानीयहरूले समस्या होइन, समाधान खोजेका छन् । कुहिने फोहोर घरमै व्यवस्थापन हुन्छ, नकुहिने प्लास्टिकजन्य फोहोर बेचिन्छ । बाँकी फोहोर न्यून हुन्छ । “फोहोरलाई मोहोर बनाउने भनेको यही रहेछ ।”-घिमिरे हाँस्दै भन्नुहुन्छ ।

कौसीखेतीको यो अभियान पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत कृषि विकास शाखाको पहलमा अघि बढिरहेको छ । कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा : संरक्षण, प्रवर्धन र उपयोगमा युवा सहभागिता’ भन्ने नारासहित महानगरले ३३ वटै वडामा कौसीखेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ ।

आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार शहरी फोहोर व्यवस्थापन, हरियाली विस्तार, स्वस्थ्य खाद्य उत्पादन र आत्मनिर्भरता कार्यक्रमको मुख्य उद्देश्य हो । “घरमै अर्गानिक तरकारी उत्पादन हुँदा स्वास्थ्य र खर्च दुवैमा फाइदा हुन्छ ।”-उहाँ भन्नुहुन्छ-“यसले शहरलाई पनि सफा र हरियो बनाउँछ ।”

पोखरा महानगरपालिका वडा नम्बर-८ को समन्वय र कृषि महाशाखाको ५० प्रतिशत अनुदानमा वडास्तरीय कृषि सञ्जालमार्फत कौसी तथा करेसाखेती गर्ने कृषकलाई प्रोत्साहन गरिएको छ । पहिलो चरणमै ३५ घरधुरीलाई ५-१० केजीका दरले आलुको बीउ र ४३० घरधुरीलाई ५/५ केजी प्राङ्गारिक मल वितरण गरिएको छ ।

वडास्तरीय कृषि सञ्जाल पोखरा-८ की अध्यक्ष समेत रहेकी घिमिरे भन्नुहुन्छ-“सिक्ने–सिकाउने अवसरले आत्मविश्वास बढाएको छ । अब हामीले आफैँ उत्पादन गर्छौं, आफैँ खान्छौं ।”

पोखरा महानगरपालिका वडा नम्बर-७ की गङ्गा अर्याल सुवेदीका लागि कौसीखेती बिहानको व्यस्तताबिचको सन्तोष हो । “दैनिक भान्सामा चाहिने तरकारी कौसीमै पाइन्छ ।”-उहाँ भन्नुहुन्छ-“फोहोर पनि मल बन्छ, तरकारी पनि फल्छ-दुबै फाइदा ।”

उहाँका अनुसार वडा कार्यालयबाट समयसमयमा पाइने प्राविधिक र सामग्री सहयोगले कौसीखेतीलाई निरन्तरता दिन सहज भएको छ ।

नागढुङा क्षेत्रबाट करिब १० प्रतिशत मात्र फोहोर डम्पिङ साइटमा जाने गरेको तथ्यले कौसीखेती र फोहोर व्यवस्थापनको प्रभाव देखाउँछ । कुहिने फोहोरबाट मल, नकुहिनेबाट आम्दानी र कौसीमा हरियाली-यो संयोजनले शहरी जीवनशैलीमा नयाँ सोच भित्र्याएको छ ।

घिमिरे जस्तै धेरै स्थानीयको अनुभवले देखाउँछ-कौसीखेती केवल तरकारी उत्पादन होइन, शहरसँगको सम्बन्ध पुनः परिभाषित गर्ने अभियान हो ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाले मौरी तथा मह मेला, सुन्तला महोत्सव, कृषि जैविक विविधता प्रदर्शनी, कृषि क्विज लगायतका कार्यक्रममार्फत स्थानीय कृषि र जैविक विविधताको प्रवर्द्धन गर्दै आएको छ ।

पोखराका घरघरमा फैलिँदै गएको यो हरियाली यात्राले एउटा सन्देश दिन्छ-ठूलो खेत नभए पनि सानो कौसीमै आत्मनिर्भरता, स्वास्थ्य र आम्दानी सम्भव छ । फोहोरलाई मोहोरमा बदल्ने यही यात्रामा पोखरा अघि बढिरहेको छ ।

Author

Related News