मानव आवाज

२०८३ जेष्ठ २४ गते
00: 00: 00
२०८३ जेष्ठ २४ गते

रास्वपा कास्की सभापतिमा एक मतको अन्तरले अधिकारी निर्वाचित

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित हुनुभएको छ ।

पोखरामा २०८३ जेठ २३ गते सम्पन्न जिल्ला अधिवेशनमा भएको निर्वाचनमा अधिकारीले प्रतिस्पर्धी एकराज न्यौपाने लाई एक मतले पराजित गर्दै सभापतिमा विजय हासिल गर्नुभयो ।

निर्वाचन परिणामअनुसार अधिकारीले १ सय १५ मत प्राप्त गर्दा न्यौपानेले १ सय १४ मत पाउनुभयो ।

खसेको २ सय ३३ मतमध्ये चार मत ‘कसैलाई पनि मत नदिने’ पक्षमा परेको निर्वाचन समितिले जनाएको छ । २ सय ९० मतदाता रहेकामा सबैले मतदान गरेका थिएनन् ।

सचिव पदमा विश्वराज पौडेल विजयी हुनुभएको छ । उहाँले १ सय २२ मत प्राप्त गर्दा प्रतिस्पर्धी टेकराज सापकोटाले १ सय ६ मत प्राप्त गर्नुभयो ।

उपसभापतिमा चिनबहादुर गुरुङ तथा सहसचिवमा सुजन बस्ताकोटी निर्विरोध निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्ष पदमा भने पछि मनोनयन गरिने जानकारी प्रदेश प्रतिनिधि दिपेन्द्र पोखरेलले दिनुभयो ।

जिल्ला समितिका १० सदस्य पदमध्ये केही सदस्य निर्विरोध चयन भएका छन् भने चार सदस्य पदका लागि मतदान भएको थियो । उक्त पदहरूमा १० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

नवनिर्वाचित सभापति यदुनाथ अधिकारीले अधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने पार्टी पङ्क्ति, प्रतिनिधि, मतदाता, स्वयम्सेवक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो ।

साथै उहाँले आगामी दिनमा पार्टीको सिद्धान्त, सङ्गठन निर्माण तथा जनसेवामा अझ समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कास्की जिल्लामा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै तत्कालीन जिल्ला सचिव तथा हाल प्रदेश प्रतिनिधि दिपेन्द्र पोखरेल (बादशाह)लाई अधिवेशनमा जिल्ला समितिले सम्मान गरेको छ ।

Author

Related News