मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

योग र साधना: स्थायी शान्तिको आधार

मधु पन्थी, पोखरा

“नियमित योग गरौं, स्वस्थ बनौं” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा पोखराको रङ्गशालामा वृहद् योग शिविर सम्पन्न भएको छ।

पोखरा महानगरपालिका, भारतीय दूतावास, राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त आयोजनामा २०८२ असार ७ गते आयोजित उक्त शिविरमा योग र साधनाका प्रेमीहरूको उल्लेखनीय सहभागिता रह्यो।

शिविरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई योग र साधनाको हबको रूपमा विकास गर्न सकिने प्रसस्त सम्भावनाहरू रहेको उल्लेख गर्दै, हिमाल र तालतलैयाको काखमा रहेको शान्त, सुन्दर र स्वाभाविक वातावरणले पोखरालाई योग अभ्यासका लागि अत्यन्त उपयुक्त बनाउने धारणा व्यक्त गर्नुभयो।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरामा योग संस्कृतिको प्रवर्द्धनका लागि महानगरस्तरीय योग केन्द्र स्थापना गरिएको जानकारी गराउँदै, महानगर क्षेत्रमा सक्रिय योग केन्द्रहरूलाई आवश्यक सामग्री तथा अन्य सहयोग प्रदान गरिँदै आएको बताउनुभयो।

आनन्दमार्ग प्रचारक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष तथा नागरिक समाजका अगुवा विष्णुप्रसाद बरालले कार्यक्रम परम्परागत कर्मकाण्डी शैलीमा नभई योग दर्शनमा आधारित भावनात्मक र साधनात्मक स्वरूपमा सम्पन्न गरिएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार, “योग दर्शनले जीवनलाई शिवसँग एकाकार गराउने साधनाको बाटो देखाउँछ, जुन नियमित अभ्यासमार्फत मात्र सम्भव हुन्छ।”

बरालले नेपालमा योग र तन्त्र साधनामा रुचि राख्ने जोकोहीलाई ‘आनन्दमार्ग’मार्फत सहभागी भई साधनाबाट समाजमा स्थायी शान्ति स्थापनामा योगदान दिन सकिने सन्देश दिनुभयो।

कार्यक्रममा सहभागी भारतीय राजदूत नवीन श्रीवास्तवले योगलाई मानव जीवनको महत्त्वपूर्ण पक्षका रूपमा चित्रण गर्दै सबैका लागि योग अनिवार्य रहेको धारणा राख्नुभयो।

शिविरमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गण्डकी प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारी, प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्य, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी, सञ्चारकर्मी, खेलप्रेमी तथा स्थानीय समुदायका सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

Author

Related News