सिन्धुली । कुनै समय सिन्धुलीमा छठ पर्वको खासै चहलपहल देखिँदैनथ्यो । तर, पछिल्ला वर्षहरूमा जिल्लामा छठ पर्वको रौनक र आकर्षण बढ्दै गएको छ । तराई समुदायको बाक्लो बसोबास र सांस्कृतिक विविधताका कारण सिन्धुलीमा पनि छठ पर्वले व्यापकता पाउँदै आएको हो । यतिबेला सदरमुकाम तथा आसपासका खोलानाला, पोखरी र जलाशयहरू छठ पर्वको उल्लासले भरिएका छन् ।
छठ पर्वको आज तेस्रो दिन हो । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने भएकाले सिन्धुलीका विभिन्न पोखरी, तलाउ तथा कमला नदी किनारमा बिहानैदेखि चहलपहल बढेको छ । व्रतालु तथा श्रद्धालुहरू पूजाका सामग्री जुटाउन र घाट सजाउन व्यस्त देखिएका छन् ।
छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न जलाशय तथा घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका काम भइरहेका छन् । जलाशयका किनारमा पूजास्थल निर्माण गर्ने, घाट सफा गर्ने तथा बत्ती र सजावटका सामग्री राख्ने कामले पर्वको रौनक थपिएको छ ।
तराई समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छठ पछिल्लो समय सिन्धुलीमा पनि लोकप्रिय बन्दै गएको छ । केही वर्षअघिसम्म जिल्लामा छठ पर्वको उपस्थिति न्यून रहे पनि अहिले सदरमुकामलगायत विभिन्न स्थानका जलाशय र नदी किनारमा भक्तजनको बाक्लो उपस्थिति देखिन थालेको छ ।
आफूले चिताएका मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ व्रतालुहरू छठी माता र सूर्यदेवको श्रद्धापूर्वक पूजा आराधना गर्ने गर्दछन् । छठ पर्वको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरिन्छ ।