यतिबेला जुन विवाद र गतिविधि टिकाभैरब-टाहाखेल सडक खण्डको एक थुप्रो ढुङ्गा पन्छाउन भइरहेको छ, त्यसले समग्रमा हाम्रो सामूहिक चेतनाको स्तरलाई कुरिकुरि गरिरहेको छ । हाम्रा जनप्रतिनिधिहरू, चाहे त्यो वडा सदस्य होस् चाहे सङ्घीय सांसद नै किन नहोस् ति सबै हाम्रा चेतनाका समष्टिगत रुप हुन् । तिनीहरू समग्रमा हाम्रै चेतनाका प्रतिनिधि हुन् । उनीहरूले गर्ने गतिविधिमा, हामी हाम्रै आफ्नो सोच र अभिव्यक्ति पाउछौँ । एक थुप्रो ढुङ्गा खसेको दशौँ दिनसम्म पनि त्यो सडक एकोहोरो यातायात आवागमन हुने गरी खुलाउन नसक्नुमा हामी ललितपुर क्षेत्र न. १ का आमनागरिकको चेतनास्तर कति तन्नम् स्थितिमा छ भन्ने कुरा उजागर गरेको छ । “जसरी निकृष्टहरूको प्रतिनिधित्व उत्कृष्टले गर्न सक्दैन, त्यसैगरी निकृष्टले उत्कृष्ट नेतृत्व पाउने सम्भावना पनि कमै हुन्छ।”
भलै रुपमा हेर्दा, स्थानीय तह र सङ्घीय सांसद आमनेसामने छन् । ती दुवै निकाय हाम्रो आफ्नै चयन हुन् । उनीहरूले लिएको निर्णय र गरेको व्यवहारमा कहीँ न कहीँ आआफ्नो पक्षधरता अनुकुल समर्थन-विरोध र घोचपेचमा समग्र गोदावरी नगर र क्षेत्र न. १ समावेश छ । त्यसैले यो कुनै मेयर र सांसदको निजी सवाल नभइकन क्षेत्र न. १ को सामूहिक चेतना हो । यो चेतना जसले दशौँ दिनसम्म पनि एक थुप्रो ढुङ्गा पन्छाउन सकेन । व्यक्तिगत रुपमा गजेन्द्र महर्जन र बुध्दरत्न महर्जन यतिबेला गौण पात्र हुन् । ती पात्रको ठाउँमा अन्य कुनै नामधारी मानिसहरू त्यो पदमा भएको भए पनि, अपेक्षित परिणाम भने सोही आउने थियो, किनकि हाम्रो चेतनाको मापन इकाइ मात्र हुन् गजेन्द्र र बुद्धरत्न ।

सन्निकट विगत सम्झौँ
२०८१ असोज १२-१३ गते आएको भीषण वर्षाले टाहाखेल-टिकाभैरब सडक खण्डलाई पुर्ण रुपमा क्षतविक्षत् बनाएको थियो । दक्षिण ललितपुर हुँदै लेले-टिकाभैरब भएर चापागाउँ र पाटन जोड्ने सबै सहायक सडक समेत अवरुद्ध भएका थिए । मुल सडक (टाहाखेल-टिकाभैरब) तत्काल खोल्नुको अर्को विकल्प थिएन । त्यतिबेला स्थानीय तहले आफ्नो क्षेत्रमा भएका डोजर, स्काइभेटर,लोडर/बुल डोजर लगायतका स्रोत – साधन परिचालन गर्दै, सो पहिरो तीन दिन भित्रमा एकोहोरो गाडी आवतजावत गर्ने स्तरमा खुलाएको थियो । पहिरो पन्छाउन परिचालन गरिएका निजी साधन स्रोतलाई आवश्यक इन्धनको व्यवस्था भने स्थानीय तहले गरेको स्थानीय तहका पदाधिकारी बताउँछन् । कैयन व्यवसायीको गुनासो भने-“त्यसरी प्रयोग भएका साधनमा आवश्यक इन्धन खुद व्यवसायीव्यवसायीले नै भरेको र नगरपालिकाबाट केही नपाएको वा आफ्नो स्वेच्छिक योगदान रहेको भन्ने छ ।”
सहायक बाटोहरू समेत पुर्ण अवरुद्ध भएर टिकाभैरब-टाहाखेल सडक वारपार पहिरो खसेको त्यो अवस्थामा समेत तीन दिनमा सडक खुलाइएको थियो । यतिबेला २०८३ असोज १२ गतेको एक थुप्रो ढुङ्गा भने अझै पन्छाउन सकिएको छैन । त्यतिबेला एकोहोरो सडक खोल्न यस कारणले सजिलो भयो कि सडकमा माटोको हिस्सा बढी थियो, जहाँ जहाँ सम्भव भयो त्यहीँ त्यहीँको भिरबाट तल्लो भागमा माटो फालियो । फाल्न नसक्ने वा नमिल्नेलाई सडकको छेउछाउ थुपारियो । कतै अलिक वरपर पुर्याएर थुपारियो । सँगसँगै सहायक सडकहरू पनि खुले, ती सबै सडक खुल्नुमा लेले-टिकाभैरब-चापागाउँमा रहेका निर्माण व्यवसायी, खानी क्रसर व्यवसायी र भट्टा सञ्चालकको ठुलो भुमिका रह्यो । उनीहरूलाई परिचालन र समन्वयको काम स्थानीय तहका जनप्रतिनिधिले गरे ।
सडक खुलिसके पश्चात् टाहाखेल-टिकाभैरब सडक खण्डमा पन्छाउन बाँकी रहेको ढुङ्गा-माटाका थुप्राहरू भने करिब डेढ वर्षसम्म ज्यूँका त्यूँ थियो । तत्काल बाढी पश्चात् सडक खोलेको नगरको जिम्मेवारी बाँकी सडक सफा गर्ने र तन्दुरुस्त हालतमा लैजाने थियो कि थिएन ? वा नगरको थिएन भने सो जिम्मेवारी कसको थियो ? त्यसमा चर्चा गर्न र राय बझाउन त सकियो । तर, आफ्ना नगरबासीको जनस्वास्थ्य र आवागमनको हितलाई ध्यान दिँदै, गोदावरी जस्तो आर्थिक रुपमा सक्षम नगरपालिकाले सो दायित्व आफैँले समयमा बहन गरेको भए राम्रो हुन्थ्यो । यद्यपि कान्तिलोकपथ र सडक डिभिजन कार्यालयको निरन्तरको विवादका कारण, अनेकौं नोकझोक, आरोप-प्रत्यारोपका बिच नगरले आखिर बाँकी ढुङ्गा-माटो समेत आफैँ नपन्छाइ नहुने स्थिति बन्यो र पन्छायो पनि । तथापि चर्किएको, भासिएको र पहिरो गएर क्षति भएको यो सडकको पुनर्निर्माण हुन नसक्नुमा भने केन्द्र सरकारको सडक विभाग र कान्तिलोकपथ बिच सडकको स्वामित्वलाई लिएर हुने गरेको विवाद नै प्रमुख कारण हो । यसको निराकरण नभइकन बाँकीको मर्मतसम्भार हुने स्थिति भने अझै पनि छैन । २०८१ सालको पहिरो नै पुर्ण रुपमा पन्छाइ नसकेको अवस्थामा पुनः २०८३ असोज १२ गते एक थुप्रो ढुङ्गा सोही सडक खण्डमा खस्यो ।
एक थुप्रो ढुङ्गामा अड्किएको हाम्रो सामूहिक विवेकमाथिको केही विवेचना
१) व्यवहारिक निकास र एकोहोरो सडक खुलाउन गर्न सकिने सजिलो उपाय
सडकमा खसेको ढुङ्गे पहिरोले सडक भरिएर सडकको ठिक तल्लो भागमा रहेको राजकुलो समेत पुर्ण रुपमा पुरेको छ । राजकुलोको ठिक तलपट्टि, खोलासँगै नक्खुखोला करिडोरको सडक खण्ड छ । टाहाखेल-टिकाभैरब सडकलाई तत्काल सञ्चालनमा ल्याउन र एकतर्फी सडक खुलाउन बाटोको छेउमा भएका ढुङ्गालाई पहिरो हुँदै राजकुलोमा खसालिएको हुन्थ्यो भने, ती ढुङ्गाहरू खोला छेउको करिडोर सडकमा सहज तवरले पुग्दथे । टाहाखेल-टिकाभैरब सडक तत्काल सुचारु अवस्थामा आउन सक्थ्यो । माथिल्लो सडकबाट सङ्कलन हुने ढुङ्गा, करिडोर सडकबाट सङ्कलन गर्दा ढुङ्गाको परिमाण र गुणस्तर दुवैमा केही फरक पर्ने थिएन । सडक तत्काल खुल्थ्यो र यातायात आवागमन सहज हुने थियो ।
२) राजनितिक दाउपेचमा रुमलिएका सवालहरू
कमजोर नागरिक चेतनाले प्राय जसो नायकहरूको खोजी गर्छ, जसले उनीहरूको भावनाको प्रतिनिधित्व गरोस् । नायक खोज्ने क्रममा, चाटुकारको फेला पर्नु भने नियतिको खेल भइदिन्छ । “कांग्रेस/कम्युनिष्ट र पुराना राजनीतिक दल सबै भ्रष्ट छन् र उनीहरूले गरेको हरेक कार्य र गतिविधि निजी स्वार्थप्रेरित छ” भन्ने भाष्य स्थापित गर्दै, समाजलाई मात्र दुई हिस्सामा बाँड्ने र एउटा हिस्सा आफ्नो पोल्टामा पार्ने राष्ट्रिय स्वतन्त्र पार्टीको नीति यहाँ पनि परीक्षण भयो र धेरै हदसम्म सफल पनि भयो ।
पहिरो पन्छाउन सदा झैँ स्थानीय व्यवसायीलाई गुहार्दै आएको नगरले यो पटक पनि पहिरो खसेको भोलिपल्टै स्थानीय व्यवसायीलाई परिचालन गर्यो । ढुङ्गा पन्छाउँदा, पन्छाएको ढुङ्गा आफैँ लिएर जान पाउने स्थिति भएपछि व्यवसायी पनि उत्साहित हुँदै पहिरो पन्छाउने कार्यमा जुटेका थिए । काम हुँदै थियो, अचानक आएको ललितपुर क्षेत्र न. १ का सांसदको स्थलगत अनुगमनले पहिरो पन्छाउने कार्यमा गतिरोध ल्यायो । सङ्घीय सांसद र उनका समर्थकले त्यहाँ ढुङ्गा मात्र देखेनन् अथाह राज्य स्रोतको आम्दानी पनि देखे । कुरा प्रक्रियाको उठ्यो, निशाना भने सोझै नगरपालिकाको नेतृत्वतिर तेर्सियो । आम मानिसको मन मस्तिष्कमा एउटा शङ्का घोल्नु थियो-“त्यत्रो ढुङ्गा आफू निकटका व्यवसायीलाई सित्तैँमा दिनुमा नगरको केही स्वार्थ पक्कै छ ।” सङ्घीय सांसद र उनको पार्टी, त्यो सवाल र शङ्का उठाउन सफल भयो ।
दुई कार्यकाल नगर चलाएका, अनेकौँ ठक्कर र हैरानी व्यहोरेका मेयर पनि राजनीतिक दाउपेचमा के कम, प्रक्रियागत अलमल, आर्थिक चाँजोपाँजो, व्यवसायीले गर्ने आलटाल सबैको राम्रो लेखाजोखा गर्दै यो घटनाक्रममा आफैँ भुङ्ग्रिन आइपुगेका सङ्घीय सांसदलाई अपजसको भारी मिलाएर बोकाइ दिए । आफू भने साक्षी किनारमा रहने निर्णय लिए । सडक खुल्नलाई जति ढिला हुन्छ, त्यो सबै अपजस सङ्घीय सांसदले व्यहोर्ने चाँजोपाँजो मिलेकोमा नगर यतिबेला खुशी देखिन्छ । आम नागरिकको लागि पनि चापागाउँ आउजाउको लागि भागावनको भन्ज्याङ्गको बाटो खुला छ । कान्ति लोकपथ भएर शहर पस्नको लागि छाम्पी खुला छ । त्यसैले त्यति ठूलो चासो र सरोकार यतिबेला नागरिक स्तरबाट टाहाखेल-टिकाभैरब सडक खण्डको पहिरोले पाएन ।
३) ढुङ्गामा देखिएको पैसा, हाम्रो कृतघ्नता
टाहाखेल-टिकाभैरब सडक खण्डको पहिरो पन्छाउँदा कति ढुङ्गा आउला ? त्यो ढुङ्गा कति रकम बराबरको होला ? सबै कुरा छाडेर, यतिबेला आमनागरिकको चासो र सरोकार त्यतातिर मोडिएको छ । “रास्वपाले त्यो ढुङ्गा ट्रीपरको हिसाबमा गन्न लगाउने छ र प्रति ट्रीपरको दरले कति लाख या करोड भयो भन्ने हिसाब नागरिकलाई दिने छ ।” सम्भवत नगरपालिकाले भने “कति दिन अवरोध भयो र त्यसले नागरिक आवागमनमा पारेको अप्ठेरो प्रचार गर्ने छ ।” सर्वसाधारण नागरिकलाई थप अल्मल्याउने यो नै सर्वोत्कृष्ट राजनीति हो । जुन हाम्रा प्रतिनिधि गर्दै छन् । दलगत रुपमा विभाजित र स्व-विवेक बन्धक भएका, आम नागरिक भने आ-आफ्नै दलीय आबद्धता अनुरुप समर्थन र विरोधको पिङ् मच्चाइ रहने छन् ।
त्यो ढुङ्गा फोर्दा र पन्छाउँदा लागेको मेसिन भाडा, त्यहाँ खटिएका मानिसको श्रम आदिले त्यसको मुल्य निर्धारण गर्छ । थुपारिएको ढुङ्गा कुनै न कुनै निकायले लिलाम गर्ने प्रक्रियामा लगेपछि बल्ल त्यसको वास्तविक मूल्य निर्धारण हुन्छ । ती जो व्यवसायी अहिले गाडिघोडासहित ढुङ्गा फुटाउन र पन्छाउन खटिएका छन्, उनीहरूलाई पाखा लगाएर बाहिरका व्यवसायीले ढुङ्गाको लिलाम बढाबढ सकार्ने सम्भावना भने निकै न्यून हुन्छ । यस्तो अवस्थामा सामान्यतया ‘माननीय’को मान राखिदिन थोर बहुत बचत हुने स्थिति बनाइ दिने बाहेकको ठूलो उपलब्धि अपेक्षा भने गर्न सकिन्न । त्यतिको लागि यति धेरै तमासा, यत्रो दिनको सडक अवरोध किन ? नागरिक नागरिक बिचको यो वैमनस्यता किन ?
पहिरोले खसालेको एक थुप्रो ढुङ्गामा सिङ्गो देशको अर्थतन्त्र देख्ने जनप्रतिनिधि र आम नागरिकले बन्द भएको गोदावरी मार्बल, पुर्णलाल र अग्रवालको खानी, सधैँ विवादमा रहने टिकाभैरब-नल्लु खोला-देवीचौरका खानी सम्बन्धमा भने के कस्तो धारणा राख्छन् होला । पौँठेजोरी कै बिच सञ्चालनमा रहेको युनाइटेड खानी, सञ्चालनको मुखमा रहेको भारदेउ सिमेन्ट, अन्य केही खानी हुन्, जहाँ यस्ता ढुङ्गे पहिरो नियमित जानु नै छ । ग्रेनाइट र बालुवाको विशाल थुप्रो रहेको भट्टेडाँडा, जहाँ उत्खनन् लाइसेन्स समेत राज्यले जारी गरिसकेको छ । त्यस्तै उत्खननको पर्खाइमा रहेको चौघरे-मानिखेल-शङ्खु-दलचोकीको क्षेत्र जहाँ राज्यले विशाल उत्खनन्को लागि आवश्यक सर्भे र वातावरणीय परिक्षणको साथ विस्तृत योजना बनाइरहेको छ । यी सबैको सम्बन्धमा यहाँका प्रतिनिधि र आम नागरिकले कस्तो व्यवहार गर्लान त्यो भने हेर्न बाँकी नै छ ।
४) भाष्य परिवर्तन गरौँ, सोचको स्तर उठाऔँ, प्राकृतिक स्रोतको न्यायोचित वितरणमा स्थानीयको हिस्सा कायम गरौँ
“नाफा, अतिरिक्त श्रमको शोषण हो । उद्योगी प्राकृतिक स्रोतको दोहन गर्दछन्” भन्ने पुरातन चेतबाट माथि उठौँ । “व्यवसायी, निजी लगानी र जोखिम मोलेर बजारको लागि सामग्री, आम नागरिकको लागि रोजगारी र राज्यको लागि राजश्व दिने सित्तैँका नोकर हुन्” भन्ने स्तरमा नागरिक चेतना उठ्नु जरुरी छ । हाम्रा सबै शासन-प्रशासन व्यवसायीलाई चोर देखाउन कै लागि सिर्जना गरिएका छन् । स्वयम् व्यवसायी पनि खुलेर यो परिस्थितिको सामना गर्नुको साटो लुकिछिपी त्यही शासनमा भएको नेता र प्रशासनमा भएको प्रहरी-कर्मचारीको ‘जिउहजुरि’मा लागेको छ । कतिपय अवस्थामा उनीहरूलाई किनेको र आफ्नो स्वार्थमा परिचालन गर्न सकेकोमा पुरुषार्थ गरेको सम्झन्छ । तिनै शासक र प्रशाशक जब आम नागरिकमा जान्छन्, उनीहरू पर्यावरण र उद्योगले आम नागरिकको स्वास्थ्य र जनजीवनमा पारेको असरबारे ठुलाठुला व्याख्या विश्लेषण गर्छन् । हो, समस्या यहीँ छ ।
सामन्ती राज्य व्यवस्थाबाट नेपाल लोकतान्त्रिक युगमा त आयो तर आर्थिक स्वतन्त्रता र उदारीकरण बेगर आएको लोकतन्त्रमा पुँजीको विकास हुन सकेन । “साधन-स्रोत सबै राज्यको हो” भन्ने मान्यताले, हाम्रा प्राकृतिक स्रोत-साधनलाई परिचालन हुनै दिइएन । ती सबै प्राकृतिक साधनस्रोत त्यहीँका नागरिकको साझा सम्पत्ति हुन्। ती साधनस्रोतको उचित र दिगो उपयोग गरी व्यवसायीले पुँजी निर्माण गर्न सक्ने वातावरण बनाउनु राज्यको दायित्व हो। व्यवसायीले स्रोतको उपयोगबाट पुँजी निर्माण गरे पनि त्यसबाट सम्बन्धित क्षेत्रका नागरिक वञ्चित हुनु हुँदैन। स्रोतको उपयोगबाट सिर्जित आम्दानी तथा पुँजीमा स्थानीय नागरिकले रोयल्टीका रूपमा न्यायोचित हिस्सा पाउने सुनिश्चितता राज्यले गर्नुपर्छ।
५) ढुङ्गाले नै समृध्द बनाउन सक्छ समग्र ललितपुर क्षेत्र न.१ लाई
ढुङ्गामा पैसा छ भन्ने पुष्टि टाहाखेल-टिकाभैरब खण्डमा झरेको एक थुप्रो पहिरोले प्रमाणित गर्यो । सम्झनुहोस त त्यही पहिरो भन्दा अलिक माथि बाटोमै एउटा खानी चल्थ्यो केही अघिसम्म । त्यही डाँडोको भागावन भन्ज्याङमा अग्रवालको खानी र टाहाखेलमा भएको पुर्णलालको खानी त बिर्सेको छैन होला । लेले-टिकाभैरब-देवीचौर अहिले पनि ढुङ्गाको हब नै हो । जहाँबाट गोदावरी नगरले वार्षिक सरदर २० करोड रुपियाँभन्दा बढी राजश्व उठाउँदै आएको छ । सिमेन्ट उद्योगले राजश्वको ठूलो हिस्सा केन्द्र सरकारलाई बुझाएका छन् र त्यस्ता खानीको सङ्ख्या पनि अब भारदेउमा समेत थपिँदा उल्लेख्य हुन्छ । अर्कोपट्टि लाइसेन्स लिएर, चलाउने वातावरण पर्खेर बसेको भट्टेडाँडाको ग्रेनाइट उद्योग छ भने, चौघरे-मानिखेल-शङ्खु र दलचोकीको विशाल क्षेत्रमा सञ्चालनको तयारीमा रहेको राष्ट्रिय स्तरको खानी क्षेत्र, यी सबै हाम्रा सम्भावना हुन् । ढुक्कसाथ लगानी गर्ने वातावरण र बिना झन्झट काम गर्ने परिस्थिति मिल्ने मात्र हो भनेव्यवसायीले यहाँको हरेक ढुङ्गालाई पैसामा परिणत गर्ने छन् ।
प्राकृतिक स्रोत-साधान व्यवसायीलाई उपयोग किन गर्न दिने ? भन्ने आम नागरिकको प्रश्न जायज छ । बस्, यत्ति प्रश्नको उतार चाहिएको छ, आम नागरिकलाई । ललितपुर क्षेत्र न. १ को कुल जनसङ्ख्या मात्र १ लाख ३० हजार हाराहारी छ । मार्बल-ग्रेनाइट-चुन्ढुङ्गा-डोलोमाइट र बालुवाको भण्डार यति ठूलो छ कि, भट्टेडाँडाको पहाड मात्र चलाउने हो भने पनि सिङ्गो काठमाडौँ उपत्यकालाई १ सय वर्षको लागि पुग्ने निर्माण सामग्री त्यही एउटा डाँडोले दिन सक्छ । यसरी अपार सम्भावना रहेको ललितपुर क्षेत्र न.१, पहिरोको एक थुप्रो ढुङ्गामा अल्झिएको छ । जनप्रतिनिधि त्यसैमा कृतघ्न नाच नचाइ रहेकाछन् र मजा लिइरहेका छन् ।
त्यही पहिरोले खसालेको एक थुप्रो ढुङ्गालाई साक्षी राखेर संकल्प गरौँ । ललितपुर क्षेत्र न.१ का सबै ढुङ्गालाई यहाँको आम नागरिकको हितमा परिचालन गरौँ । व्यवसायीलाई निर्धक्क, मापदण्डमा रहेर काम गर्ने वतावरण बनाऔँ । प्राकृतिक स्रोत-साधनबाट प्राप्त हुने मुनाफाको न्यायोचित वितरणको व्यवस्था गरौँ । क्षेत्र न.१ का सबै नागरिकले ती खानी क्षेत्रबाट लाभ पाउने सुनुश्चित गरौँ । सम्बन्धित खानी क्षेत्रमा रहेका नागरिकको हकमा रोयल्टी पाउने व्यवस्था गरौँ । ढुङ्गाले जुन समृद्धि, ललितपुर क्षेत्र न. १ लाई दिन सक्छ, त्यो अन्य कुनै क्षेत्रले दिन सक्दैन । कृतघ्नताबाट माथि उठौँ । व्यवसायिक वातावरण बनाऔँ । प्राकृतिक स्रोत-साधनलाई पुँजीमा परिणत गरौँ । यसरी सिर्जित पुँजीको न्यायोचित वितरणको व्यवस्था बसालौँ ।