मानव आवाज

२०८३ असोज २८ गते
00: 00: 00
२०८३ असोज २८ गते

पहिरोको तीन आयाम र राजनीतिको दुई पक्ष

टाहाखेल-टिकाभैरब सडक खण्डमा खसेको ढुङ्गे पहिरो, समग्र ललितपुर क्षेत्र न.१ को चेतनास्तरको मापन हो, भन्ने सन्दर्भमा “ कुरो कन्थो-२” मा चर्चा भयो । आम नागरिकले गरेका प्रतिक्रियाको आधारमा पहिरोलाई हेर्ने तीन आयाम (दृष्टिकोण)  र  दुई राजनीतिक पक्षको सन्दर्भमा आजको कुरोकन्थोमा चर्चा गरेको छु ।

राजनीतिको अँध्यारो पक्ष

राजनीतिको अँध्यारो पक्षको चर्चा नगरी उज्यालो पक्षको चर्चा गर्न सकिन्न । यो पक्ष समाजको मानवीय पक्ष हो । स्वार्थ, द्वेष, घृणा र घात-प्रतिघात राजनीतिको एक सशक्त पक्ष हो । “ढुङ्गे पहिरो” लाई हेर्ने तीन प्रमुख आयाम यसकै हरूशाखाहरू हुन् ।

पहिरोलाई हेर्ने पहिलो आयाम (दृष्टिकोण) : यसलाई रास्वपाली आयाम वा पहिरोलाई हेर्ने राष्ट्रिय स्वतन्त्र पार्टिको दृष्टिकोणको रुपमा लिन सकिन्छ । यो दृष्टिकोणले भन्छ-“आफू बाहेक सबै गलत छन् । सबै पुराना पार्टी भ्रष्ट छन् । उनीहरूले गरेका हरेक गतिविधि निजी स्वार्थप्रेरित छन् ।” रास्वपाले एक थुप्रो ढुङ्गे पहिरोमा समेत आफू बाहेक समाजका अन्य सबै पार्टी र पक्षलाई एकातिर धकेल्दै आफूलाई नितान्त भिन्न राख्न चाह्यो । सिङ्गो समाजलाई दुई हिस्सामा बाँड्दै समाजको आधा हिस्सा आफ्नो पोल्टामा पार्ने यो राजनीतिक चालबाजी, दाउपेचको हिसाबले उसको लागि ठिकै हो ।

पहिरोलाई हेर्ने दोश्रो आयाम (दृष्टिकोण) : यसलाई कांग्रेसी आयाम वा पहिरोलाई हेर्ने स्थानीय कांग्रेस पार्टिको दृष्टिकोणको रुपमा लिन सकिन्छ । यो नै गोदावरी नगरको अनौपचारिक धारणा समेत हो । यो दृष्टिकोणले भन्छ-“अधिकार क्षेत्र मिचेर सङ्घीय सांसदले हस्तक्षेप नगर्नु पर्ने थियो । गरे । आफैँ दशाले भुङ्ग्रीन आइपुगेका सांसदले आफ्नो औकात देखुन्, सडक समयमा नखुल्दाको जस अपजस उनैले लिउन् ।” एउटा निरपेक्ष भाव-“के के गर्दा रहेछन्, हेरौँ न ” भन्ने खालको देखियो । (यद्यपी सांसद बुध्दरत्न महर्जनको पहलमा प्रदेश पुर्वाधार कार्यालयले लिएको सडकको जिम्मा पुनः गोदावरी नगरकै दायित्वमा फिर्ता भएको छ । त्यो अलग कुरा भयो ।)

पहिरोलाई हेर्ने तेश्रो आयाम (दृष्टिकोण) : समग्रमा तेश्रो दृष्टिकोण कम्युनिष्टहरूको दृष्टिकोण हो । यो दृष्टिकोणले भन्छ-“अरु कुरा हामीलाई मतलब छैन, सडक तत्काल खुल्नु पर्‍यो ।” यो दृष्टिकोणले एकातिर सङ्घीय सांसदको गतिविधिलाई अनावश्यक हस्तक्षेप मानेको छ भने अर्कोतर्फ पहिरो पन्छाउँदा आएको ढुङ्गा व्यवसायीलाई दिने गोदावरी नगरपालिकाको निर्णयलाई समेत शङ्काको दृष्टिकोणले हेर्छ । 

 “बिग्रेको घरको भत्केको चाल, जता हेर्‍यो झ्यालै झ्याल” भने जस्तो समाजको चेतनास्तर हरितन्नम हुँदै जादा, त्यो समाजमा राजनीतिकर्मीले गर्ने व्यवहारको नमुना हो “ढुङ्गे पहिरो” । सामान्य एउटा पहिरो र सडक खुलाउने विषयमा समेत एक अर्कालाई हिलो छ्यापिरहेका पार्टी, तिनका प्रतिनिधि र जनप्रतिनिधिबाट कस्तो विकास र विवेकको अपेक्षा गर्ने ? राजनीतिको एउटा अँध्यारो पक्षको सम्बन्धमा यो भन्दा धेरै टिप्पणी गरिरहनु जरुरी छैन ।

राजनीतिको उज्यालो पक्ष 

सामाजिक मुल्यमान्यता, प्रचलित कानुन र प्रशासनिक प्रक्रियाले काम गर्न नसक्ने अवस्थामा समेत राजनीतिले काम गरिरहेको हुन्छ । सहमति, सहकार्य, नयाँ सामाजिक मुल्यमान्यता, मानवीय आवश्यकता आदिलाई सम्बोधन गर्न राजनीतिले विवेकसम्मत निर्णय लिँदा राजनीतिको उज्यालो पक्ष उजागर हुन्छ । त्यस्ता केहि किस्सा यस पटकको कुरोकन्थोमा चर्चा गर्न चाहन्छु ।

किस्सा न. १ : चापागाउँ बैङ्क टोलमा पसलघर हटाएर घुम्ती फराक बनाउने कार्य

केही वर्ष अगाडि चापागाउँ बैङ्क टोलको मुखैमा रहेको पसलघर हटाइयो र घुम्तिको मुखलाई चौडा बनाइयो । बढ्दो जनसङ्ख्या र सवारी साधनको चापका कारण त्यो घुम्तिमा घण्टौको जाम पर्न थालेको थियो । सडक बन्नु भन्दा अघिदेखि बसेको नेवारी बस्तिको घर, पुर्खादेखि रहँदै बस्दै आएको पैतृक सम्पत्तिमा बनेको थातथलो, सडक जाम भएकै कारण छाडिदिनु पर्ने कुनै सामाजिक र कानुनी बाध्यता थिएन । नेपाल सरकारको कुनै निकायसँग घरधनीलाई हटाउन मिल्ने र सक्ने कुनै आधार पनि थिएन । सडकको बढ्दो जाम खुलाउनको लागि  नछोडी र नहटाइ पनि नहुने भयो । राजनीतिक सहमतिको आधारमा उक्त बसोबास गर्दै आएको घर हटाएर, आफ्नो जमिन घरधनीले नेपाल सरकारको नाममा दिए । 

किस्सा न. २ : भुमिहिन सुकुम्बासिलाई जग्गा वितरण

देशै भर फरकफरक सरकारको पालामा अनेकौं पटक भुमिहिन र सुकुम्बासिलाई बसोबास र जिविकोपार्जनका लागि सार्वजनिक र सरकारी जग्गा दिइएको छ । पछिल्लो नगर कार्यपालिकाको अवधिमा समेत गोदावरी नगरपालिकाको वडा न.३ स्थित नहरबासिलाई प्रक्रिया पुर्‍याएर अस्थायी निस्सा वितरण गरिएको छ भने, अस्थायी निस्सा पाउनेहरू लालपुर्जाको पर्खाइमा छन् । यसैबिच बालेन सरकार बनेपछि सयौँको सङ्ख्यामा विभिन्न जिल्लाका सुकुम्बासिलाई जग्गा धनी पुर्जा दिलाइएको खबर नेपाल सरकार, भुमिसुधार मन्त्रालयले गर्दै आएको छ ।

किस्सा न. ३ : रारा राष्ट्रिय निकुन्ज

२०३३ सालमा रारा राष्ट्रिय निकुन्ज घोषणा भयो । ४ सय ५० घरधुरी भएको रारा र छाप्रु गाउँका बस्ती निकुन्ज क्षेत्र भित्र पर्‍यो । २०३५ सालमा ती बस्ती हटाइयो र खाली गरिएको क्षेत्र राष्ट्रिय निकुन्जले लियो । ती बस्तिका बासिन्दालाई बाँकेको कोहलपुर र चिसापानी आसपासको चारकोशे झाडी फडानी गरेर बसोबास गराइयो । मुगुका रारा र छाप्रु बस्तिको जमिन राष्ट्रिय निकुन्जले पायो । रारा र छाप्रुका बासिन्दाले बाँकेको कोहलपुर-चिसापानी क्षेत्रको जङ्गल, बस्ती बसाउनको लागि पाए ।

किस्सा न. ४ : अमलेखगञ्ज 

१९८१ सालमा चन्द्र शम्शेरले कमारा-कमारी प्रथा उन्मुलन गरे । कमारा-कमारिबाट अमलेख (मुक्त भएका) ठूलो सङ्ख्यालाई राख्न बाराको भिक्षाखोरी जङ्गल फडानी गरेर बस्ती बसालियो । त्यस ठाउँको नाम अमलेखगञ्ज रहन गयो । अमलेखगञ्ज आजको दिनमा देशकै ठूलो व्यापारिक केन्द्र हो ।

निष्कर्ष

राजनीति बिग्रँदै जाँदा सडकमा खसेको एक थुप्रो पहिरो पन्छाउनु पनि ठुलै महाभारत हुँदोरहेछ भन्ने उदाहरण हो, टाहाखेल-टिकाभैरबको “ढुङ्गे पहिरो ।” राजनीतिले सहि दिशा लिँदा र नेतृत्वले विवेकसम्मत निर्णय गर्दा- “व्यक्तिको निजी जग्गा राज्यलाई, राज्यको सार्वजनिक जग्गा व्यक्तिलाई दिन सकिने रहेछ भन्ने उदाहरण हो, किस्सा न.१ र २ । आवश्यक पर्दा बस्तिका बस्ती मानिसहरूको स्थानान्तरण हुन सक्छ, आवाद भएका बस्ती क्षेत्र जङ्गल बनाउन सकिन्छ र  भइरहेको जङ्गल क्षेत्रलाई फडानी गरेर बस्ति बसाल्न सकिन्छ भन्ने उदाहरण हो किस्सा न. ३ । आवश्यक परेको खण्डमा आफ्ना नागरिकको लागि नयाँ  खाली ठाउँ राज्यले मानवीय बस्ति प्रयोजनमा भोगचलन गर्न सक्छ भन्ने उदाहरण किस्सा न.४ ले स्थापित गरेको छ । विविध कालखण्डमा हामी आफैँले गरेका यी सबै हाम्रा आफ्नै उदाहरण हुन्।

एउटा नयाँ किस्सा भागावनको किन नबनाउने ?

 “भागावन” को कुल क्षेत्रफल ७.९६ वर्ग किलोमिटर छ । एक वर्ग किलोमिटरमा १ हजार ९ सय ६५ रोपनी हुने हुँदा भागावनको कुल क्षेत्रफल १५ हजार ६ सय ४२ रोपनी छ । यस क्षेत्रमा अहिले एउटा स्टेडियम, आनन्दवन अस्पताल, पिआइए पार्क, पाँच ओटा सामुदायिक वन र  १० किलोमिटर सडक सञ्जाल छ । 

केही सवाल

के यो डाँडोलाई मासेर मानवीय उपयोगमा ल्याउन सकिन्न ? हिजोको दिनमा पुर्णलाल महर्जनले ढुङ्गा खानी सन्चालन गरेकै कारण, खाली हुन गएको समतल जमिनमा आज स्टेडियम बन्दै गरेको होइन र ? त्यहाँ  बन्दै गरेको स्टेडियमका कारण टाहाखेल आसपासका क्षेत्र, नयाँ व्यवसायिक क्षेत्रको रुपमा रुपान्तरण हुँदै गएको तथ्यलाई नकार्न मिल्छ ?

एउटा कल्पना

सोच्नुहोस त, सिङ्गो भागावनको डाँडो अब छैन ! कस्तो दृश्य आउँछ, तपाइँको मन-मस्तिष्कमा ? सिङ्गो लेले-टीकाभैरब-छम्पी- देवीचौर एकाएक शहरको नजिक पुगेका हुन्छन् । सडक खुम्चिएर छोटिएको हुन्छ । कान्ति लोकपथको लागि टिकाभैरब बसपार्क बनाउँदा, अब केही फरक पर्दैन । आज विकट गाउँ जस्ता देखिने क्षेत्रफल एकाएक विकसित शहरमा रुपान्तरण भएको हुन्छ । आसपासका सबै क्षेत्र नयाँ आर्थिक क्षेत्र भएका हुन्छन् । व्यापार व्यवसायले गति लिएको हुन्छ । अर्को भाषामा भन्ने हो भने विकासले एकाएक फड्को मारेको हुन्छ ।

के यो सम्भव छ  त ?

विल्कुल सम्भव छ । समस्या एउटै मात्र छ, त्यो हो-“नेपालको कुल वन क्षेत्र घटाउन नपाइने नेपाल सरकारको कानुन” यो कानुन हामीले अन्तर्राष्ट्रिय महासन्धिमा साझेदारी गरेका कारण बाध्यकारी व्यवस्था हो । नेपाल सरकार आफैँले वन क्षेत्रको जमिन उपयोगमा ल्याउँदा समेत, प्रयोग गरिएको जमिन बराबर अर्को जमिनको प्रवन्ध गर्दै आएको छ । भागावनलाई मानवीय प्रयोगमा ल्याउने हो भने सो बराबरको निजी जमिन बनपैदावरको लागि प्रबन्ध गरेर भागावनलाई प्रयोगमा लिन सकिन्छ ।

वन क्षेत्रको सट्टापट्टा दक्षिण ललितपुरसँग किन नगर्ने ?

दक्षिण ललितपुरको २ सय ३१ वर्ग किमि जमिनको ४० प्रतिशत (९२.२ वर्ग किमि ) जमिन निजी जमिन हो । दक्षिण ललितपुरका बासिन्दाले काँठक्षेत्र र शहरमा घरजम गर्नुलाई समृध्दिको रुपमा लिएका छन् । दक्षिण ललितपुरका नागरिकलाई सट्टापट्टाको अवसर दिँदा भागावनको जमिनलाई उपयोगमा ल्याउन सकिन्छ । उनीहरूले भागावनमा पाउने घर घडेरिको मुल्याङ्कनमा सो रकम बराबरको मुल्याङ्कन भएको निजी जमिन दक्षिण ललितपुरमा दिन सक्ने व्यवस्था मिलाउनु जरुरी छ । यसो गर्दा दक्षिण ललितपुरको आवादी भागावनको नयाँ क्षेत्रमा सहज स्थानान्तरण हुन्छ भने वनको क्षेत्र सो सट्टापट्टाबाट मिलान हुन जान्छ ।

भागावन सम्याएर मैदान र बस्ती विकास

भागावनलाई मानवीय उपयोगमा ल्याउन पहिलो काम त्यसलाई सम्याउन पर्‍यो । सम्याउने क्रममा त्यहाँबाट आउने विशाल ढुङ्गा र माटोको व्यवसायीकरणको योजना जरुरी छ । पाँच वर्षभित्र त्यसलाई सम्याउने योजना राख्ने हो भने कम्तिमा पनि दश क्षेत्रबाट विशाल खानी र आधुनिक क्रसर प्लान्ट लगाउन जरुरी छ । काठमाडौँलाई आवश्यक निर्माण सामग्री सस्तोमा, सरकारी योजना अन्तर्गत रहेर उत्पादन गर्न पाउने स्थितिमा, निजी लगानी कर्ताले आवश्यक लगानी प्रवर्धन गर्नेछन् । गोदावरी नगरलाई विशाल र पर्याप्त राजश्व प्राप्त हुन्छ । 

त्यसरी प्राप्त भएको राजश्वबाट सिङ्गो दक्षिण ललितपुरलाई आकर्षण र व्यवस्थापन गर्ने गरि आधुनिक शहरलाई चाहिने सबै भौतिक पुर्वाधार नगरले विकास गर्न सक्छ । यी सबै कामको लागि स्पष्ट गुरु योजना र समय सिमा सहित सिङ्गै परियोजना निजी क्षेत्रलाई जिम्मा दिएर, नियमनकारी भुमिकामा मात्रै सरकारी निकाय रहनु, अर्को विकल्प हुनसक्छ । जसले गर्द पुर्वाधार सहितको आधुनिक बस्ति विकास निर्माणमा सहज तबरले आर्थिक प्रवन्ध जुट्न सकोस् ।

सिङ्गो दक्षिण ललितपुर भागावन क्षेत्रमा स्थानान्तरण हुन सक्ने सम्भावना

दक्षिण ललितपुरसङ्गको सट्टापट्टामा भागावन क्षेत्रलाई खाली गराएर मानवीय उपयोमा लिन सकिने सम्भावनाको चर्चा गरि रहँदा, सिङ्गो दक्षिण ललितपुर एकै साथ भागावनमा स्थानान्तरण हुन सक्ने सम्भावनालाई समेत विचार गर्न सकिन्छ । मानिसहरू जहाँ जहाँ छन्, त्यहीँ त्यहीँ विकास पुर्‍याउने मोडालिटी लगभग असफल सिध्द भयो । जहाँ विकास छ, त्यहीँ मानिसहरूलाई ल्याउने र व्यवस्थापन गर्ने उपायमा अबको दिनमा काम गर्नु आवश्यक देखिन्छ ।

दक्षिण ललितपुरका तीन गाउँपालिकामा ललितपुरको ३३ हजार ७ सय (जम्मा ५.११ प्रतिशत) जनसङ्ख्या बसोबास गर्छ । घरधुरी सन्ख्याको आधारमा हेर्ने हो भने दक्षिणमा करिब ५ हजार ५ सय घरधुरी वा परिवार सङ्ख्या छ । हरेक परिवारलाई घर सहितको एक रोपनी जग्गा दिने हो भने जम्मा जम्मी ५ हजार ५ सय रोपनी जग्गा आवश्यक छ जबकी भागावनको क्षेत्रफल १५ हजार ६ सय ४२ रोपनीको छ । बाँकीको जमिनमा ५ हजार ५ सय रोपनीमा सडक सञ्जाल र आधुनिक बसपार्क सहितको अन्य आवश्यक भौतिक पुर्वाधार बनाउँदा रङ्गशालाको लागि ४,६४२ रोपनी जग्गा रहन्छ । नेपालकै ठूलो मध्येको एक रङ्गशाला भागावन क्षेत्रभित्र बनाउन सकिन्छ, जो यस आसपासको  क्षेत्रको समृध्दि र विकासको आधार बन्न सक्छ । 

हाल तीन गाउँपालिकाको वार्षिक प्रशासनिक तथा विकास खर्च १ अर्ब ५० करोड रुपियाँ छ भने केन्द्र र प्रदेश सरकारले विविध विकास खर्च अन्तर्गत वार्षिक २ अर्ब ५० करोड रुपियाँ खर्च गर्दै आएको देखिन्छ । कुल मिलाएर दक्षिण ललितपुरको लागि वार्षिक ४ अर्ब रुपियाँ हाराहारी आर्थिकभार राज्य कोषमा छ ।

यदि दक्षिण ललितपुरका बासिन्दाले भागाबनमा बसोबासको लागि थातथलो पाउने हो भने दक्षिणमा हुँदै आएको राज्यकोषको लगानी दामासाहीले भाग मात्र लगाउँदा पनि हरेक एक व्यक्तिले मासिक १० हजार रुपियाँ र एक घर परिवारले मासिक ६० हजार रुपियाँ रकम प्राप्त गर्न सक्छ । राजनीतिले भुगोल, जनसङ्ख्या र आर्थिक वितरणलाई पुनर्विचार गर्न जरुरी देखिन्छ ।

खाली भएको दक्षिण ललितपुरमा आर्थिक गतिविधि

दक्षिण ललितपुर खाली हुनु भनेको ललितपुरको २ सय ३१ वर्ग किमि (६० प्रतिशत) जमिन  खाली हुनु हो । खाली भएको क्षेत्रमा विशाल आर्थिक गतिविधि गर्न सकिन्छ । ठुलाठुला खानी क्षेत्र सञ्चालन गर्न सकिन्छ । सिमेन्ट फ्याक्ट्री र औद्योगिक क्षेत्र सञ्चालन गर्न मिल्छ । वनपैदावरको विशाल विकास गर्न सकिन्छ । निश्चित क्षेत्रफलमा शिकार आरक्ष क्षेत्र सञ्चालन गर्न सकिन्छ । पर्यटन, पशुपालन र कृषि बृहत् स्तरमा गर्न सकिन्छ ।

स्थानान्तरित बस्तिको जिबिकोपार्जनको सवाल

भागाबन खाली गर्न सकिन्छ, खाली भएको जमिनमा दक्षिण ललितपुरको बासिन्दालाई स्थानान्तरण गर्न सकिन्छ, भन्ने सवालमा चर्चा गरिरहँदा, त्यो भन्दा महत्त्वपूर्ण सवाल हो, त्यसरी स्थानान्तरण भएर आएका मानिसहरूको जिबिकोपार्जन कसरी हुन्छ ? भन्ने सवाल ।

दक्षिणका तीन गाउँपालिकालाई स्थानान्तरण गरेर भागावनमा पुनर्बास गराइरहँदा नेपाल सरकारले वार्षिक रुपमा दक्षिण ललितपुरको लागि गर्दै आएको ४ अर्ब जोगिन जान्छ, त्यो नेपाल सरकारलाई प्रत्यक्ष लाभ हो । भागावनमा थपिएको ३३ हजार ७ सय जनसङ्ख्या  गोदावरीको ९७ हजार जनसङ्ख्यामा मिल्न जाँदा गोदावरीको कुल जनसङ्ख्या १ लाख ३१ हजार हाराहारी पुग्न जान्छ । जनसङ्ख्याको साथमा प्राप्त हुने विशाल २ सय ३१ वर्ग किमि जमिन र त्यसमा सञ्चालन भएको उद्योगबाट प्राप्त हुने राजश्वको एक अङ्श मात्र रोयल्टिको रुपमा स्थानान्तरित बासिन्दा र गोदावरी नगरबासीलाई दिने हो भने नेपालको वार्षिक प्रतिव्यक्ति आय भन्दा धेरै रकम आफ्ना नागरिकलाई बाँड्ने हैसियत गोदावरी नगरले राखेको हुनेछ ।

विचार गरौँ

यतिबेला ललितपुर निर्वाचन क्ष्त्र नं १ का मतदातालेरास्वपाका उम्मेदवार बुध्दरत्न महर्जनलाई सङ्घीय सांसद बनाएका छन् । उहाँको पार्टी दुई तिहाइ निकटको एकल सरकार चलाइरहेको छ । यसै क्षेत्रका पुर्ववर्ती सांसद उदयशम्शेर राणा, प्रमुख प्रतिपक्षी दलको निर्वाचित महामन्त्री हुनुहुन्छ । अर्का पुर्ववर्ती सांसद प्रहरी प्रशासनको  उच्च  पदाधिकारी समेत हुनुहुन्थ्यो । त्यस्तै २०६४ सालका सभासद् वर्षमान पुन अर्थमन्त्रीको अनुभव सहित अहिले पनि संसद मै हुनुहुन्छ । सडकमा पहिरोले खसालेको एक थुप्रो ढुङ्गामा कसले कसरी लाभ लियो भनेर कागको पछाडि नदौडिकन, सिङ्गो ललितपुर क्षेत्र न.१ को विकास र समृध्दिलाई के कसरी सहि तरिकाले अगाडि लैजान सकिन्छ गम्भीर चिन्तन मनन गरौँ । उपायको खोजी गरौँ। समस्या जहाँ छ, त्यहीँ खोतलिरहँदा समस्या झनै गहिरिन्छ । मौजुदा समस्याको समाधान राज्यको नीतिमा खोजौँ । कृतघ्नताबाट माथि उठौँ । एउटै नीति र राजनीतिक निर्णयले ललितपुर क्षेत्र न.१ को भाग्य र भविष्य बदल्न सक्छ । २०८३ सालको दशैँले सबैको सकारात्मक बुध्दी फिरोस्, शुभकामना ! (फोटोः एआइ जेनेरेटेड)

सनोजको कुरोकन्थो

पहिरोमा खसेको एक थुप्रो ढुङ्‌गामा अड्किएको हाम्रो चेतनास्तर  !
पछि हट्नुहोस् ‘माननीय’, सडक खुल्न दिनुहोस

Author

सम्बन्धित समाचार