नेपालीको महान चाड विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना सहित यो आलेख शुरु गर्न चाहन्छु । सदा झैँ, कुनै एक प्रसङ्गमा रहेर घटना र विचारलाई प्रस्तुत गर्नुको साटो कुरोकन्थोको यो भागमा सप्ताह भरी भएका घटनाको वस्तुनिष्ठ समीक्षा गर्न चाहेको छु ।
प्रसङ्ग नं.१ : चन्द्रकुबेर खापुङको विवादित दशैँ शुभकामना र दशैँ तिहार
नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक चन्द्रकुबेर खापुङ लेख्नुहुन्छ-“पहाडिया नेपाली समुदायको प्रमुख चाड बडादशैँ तथा तिहारको शुभकामना ।” उहाँको यो लेखाइ सँगसँगै एउटा बहस छेडिन्छ वास्तबमा दशैँ र तिहार कसको चाड हो, समग्र हिन्दुको ? नेपाली मात्रको ? वा चन्द्रकुबेरले भने झैँ पहाडिया नेपाली समुदायको ?

पहिलो कुरा त दशैँ र तिहार एउटा “शरद उत्सव” हो । धार्मिकताभन्दा माथि उठेको, प्रकृतिसँग जोडिएको बलियो परम्परा । भौतिक पुर्वाधारको विकास नभएको त्यतिबेलाको समयमा खोलाको वारपार र लामो यात्रा वर्षायाममा गरिँदैन थियो । पहाडी समुदाय वर्षा शुरु भएपश्चात् आआफ्नो खेतिपातिमा व्यस्त हुन्थे । उर्लिएका भेलबाढीले तोडेका पहाडका सम्बन्ध वर्षा शान्त भएर खोलाको बहाब घटेसँगै पुनः स्थापित हुन्थ्यो । पहाडी समुदायका मुख्य बाली मकै र धान यसै शरद ऋतुमा भित्र्याइन्छ । वर्षापछि सफा खुलेको आकाश, शरद ऋतुको समशितोष्ण मौसम आवागमनको सहजता र धनसारमा थुप्रिएका अन्न बालीले दिने उमङ्ग एक आपसमा बाँड्दै, इष्टमित्र भेट्ने, खुशियाली साट्ने र शुभकामना दिने-लिने परम्पराको रुपमा पहाडी समुदाय र राज्यहरूले बसाएको परम्परा हो, दशैँ ।
काठमाडौं उपत्यका होस् वा बाइसी, चौबिसे वा हुन् गोर्खा, लमजुङ्ग, विजयपुर र चौदण्डी यी सबै पहाडी राज्य नै थिए । एक समानका भौगोलिक परिस्थिति र मौसम भएका यी राज्यहरुले दशैँ र तिहार उत्सवको रुपमा मनाउँदा यी चाड मौलिक चाडको रुपमा विकास भए । तराईसहितको आजको नेपाल केही सय वर्ष अगाडि मात्र बन्यो । वेद र उपनिषद्मा यी चाडलाई महत्वका साथ वर्णन गरेको नपाइनुले, दशैँ, समग्र हिन्दुको चाड होइन भन्ने प्रमाणित गर्छ, तराईमा छठको जुन महत्व छ, त्यो महत्व दशैँ-तिहारको नभएबाट चन्द्रकुबेर ठिकै देखिनुहुन्छ । सबैभन्दा धेरै हिन्दु भएको भारतमा यसलाई दशहराको रुपमा मनाइए पनि टिका, जमरा, आफन्त भेटघाट र शुभकामना आदानप्रदानको जुन बृहदता नेपाली पहाडी समुदायमा छ, त्यो अन्यत्र छैन । लामो समयको निरन्तरको परिश्रम पछिको थकान मेट्न पशुपन्छिको मासु आहारको व्यापकता दशैँको अर्को पक्ष हो । मानिसले आफू अनुकुल विकास गरेको धर्म-देवीदेवता र तिनको व्याख्या विश्लेषण ती आफ्ना ठाउँमा छन् ।
हिन्दु धार्मिक परम्परामा पण्डित-पुरोहितको जुन वर्चश्व छ, त्यो वर्चश्व यी मौलिक पर्वमा नहुनु, खस सम्प्रदायले पुजन गर्ने १२ भाइ मष्टोका नौ दिदी बहिनीको रुपमा नवदुर्गा पुजनले दशैँलाई नेपाली पहाडी परम्पराको मौलिक चाड नै हो भन्न हिच्किचाउनु पर्ने देखिन्न । वैदिक परम्परा भन्दा बाहिरको, शरद उत्सवको रुपमा मनाइने, धार्मिक मूल्य मान्यता भन्दा बढी प्रकृति पुजनसँग जोडिएको यो परम्परा समग्र पहाडी समुदायको रैथाने चाड हो । आर्यहरुको आगमन र अन्तरघुलनसँगै यस चाडले क्रमशः हिन्दुकरण झेल्दै आयो र आज हिन्दुहरुको मुख्य चाडको रुपमा अङ्गिकार हुँदै आएको परिस्थिति छ ।
प्रसङ्ग नं. २ : डा . मित्र परियारको पुच्छर बहिष्कार अभियान र दशैँमा दलित सवाल
दशैँको मुखैमा दमाह र नगरा बजाउँदै डा. मित्र परियारले दमाई समुदायलाई पुच्छर बहिष्कारको लागि अपिल गर्नुभयो । हिन्दु वर्णाश्रम प्रथा अनुसार दलित समुदाय माथि हुँदै आएको जातीय भेदभादको कटु आलोचक र अभियानकर्ता हुनुहुन्छ, मित्र परियार।

हिन्दु वर्णाश्रम व्यवस्था र त्यसको आधारमा गरिने जातिय भेदभाव र छुवाछुत पहाडी समुदायमा धेरै ढिला मात्र आइपुग्यो । सायद, मुगलले खेदेका पुरोहित-पण्डितको नेपाल आगमनसँगै यो सामाजिक विकृति नेपाल भित्रियो । मष्टो पुजक र प्रकृति पुजक पहाडी समुदायमा यो विभाजनले स्थायी रुप लिन लामो समय लगायो । त्यसैले भारत र नेपालकै तराईमा जस्तो दलित अवस्था पहाडी भुभागमा छैन । पहाडका अधिकाङ्श दलितहरुको थोर बहुत मात्र भए पनि जिविकाको लागि आफ्नै निजी जमिन छ, जुन भारत र तराई दलितमा पाइन्न । पुर्वी पहाडको लिम्बू समुदायमा दलित थर देखिए पनि जातीय छुवाछुत र भेदभाव छैन । काठमाडौं उपत्यकाको नेवार समुदयमा जातीय विभाजनको तिथि मिति नै स्पष्ट छ । प्राय आदिवासी-जनजातिमा जात प्रथाको कुनै नामोनिसान छैन । पहाडी दलितहरु सामाजिक र राजनीतिक बहिष्करणमा परेका खस जातिको एउटा हिस्सा मात्र हुन् ।
पुर्वी पहाड होस् वा पश्चिमी पहाड, जति महत्व पुरोहितलाई दिइएको छ, त्यति नै महत्व दमाई जातिलाई दिएका छन् खस समुदायले । बिहे र ब्रतबन्ध जस्ता महत्वपूर्ण उत्सवहरु दमाई जाती बेगर कल्पना नै गरिएको छैन । सके बाजागाजासहित दमाई टोलीलाई अघि लगाएर थालनी गर्ने, नसके आफूले मान्दै आएको (काम लिँदै आएको) दमाईलाई नयाँ लुगा सहित टोपी, फेटा, पगरी गुथेर अगाडि लगाउने परम्परा छ, पहाडी खस समुदायमा । बिहे, ब्रतबन्ध र अन्य कुनै पनि शुभकार्य दमाई बेगरको कल्पना पहाडी खस समुदायमा नरहेको र अधिकाँश पहाडी राज्यहरु खस शासकबाट नियन्त्रित रहेको अवस्थाकै कारण मष्टो पुजनदेखि देवी-देवताको पुजनमा दमाह र नगराको महत्व रहेको हो । ब्राम्हणले मात्र बजाउने बाजाहरु शङ्ख र डमरुको प्रचलन वैदिक ब्राम्हणले पछि मात्र नेपाल भित्र्याएका हुन् ।
डा. मित्र परियार र अभियानी दमाई समुदायका साथीहरुलाई आग्रह गर्न चाहन्छु, जातीय भेदभावको प्रथा नेपाली मौलिक सभ्यता र परम्पराको हिस्सा होइन । यो ब्राम्हणबादको निकृष्ट अतिक्रमण हो । करिव १४ प्रतिशत दलित समुदायले झेल्दै आएको यो अमानवीय व्यवहारको हिस्सा आदिबासी जनजाति त हुँदै होइनन्, नेपालको परम्परागत शासक खलक, खसहरु, ब्राम्हणबादको शिकार हुँदै गर्दा बसेको थिति मात्र हो । पण्डित-पुरोहित नहुँदा चल्ने कैयन पुजा, परम्परा र प्रथा पहाडी खस समुदायमा दमाई नहुँदा चल्दैन । आफ्नो सामर्थ्यलाई बुझ्नुहोस, ती मन्दिरहरु जहाँ दमाह र नगरा बजाउनु अनिवार्य छ, ती बिहे-ब्रतबन्ध र सामाजिक कार्यहरू जहाँ “ दमाईलाई अगाडि नलगाई शुभ साइत हुँदैन”-भन्ने मान्यता छ । त्यहाँ समान हैसियत र अगुवाई खोज्नुहोस, जो जसले जहाँ जहाँ जातीय विभेद गर्छ, ती उत्सव र पुजा बहिष्कार गर्नुहोस् । मष्टो पुजक र प्रकृति पुजक पहाडी समुदायले तपाइँलाई अलग राख्नै सक्दैन ।
यदि हिन्दु वर्णाश्रम व्यवस्थाको हिस्सा पहाडी समुदाय थियो भने-“दलितको छायाँ मात्र पनि ठूलो पाप हुने परम्पराको ठिक विपरित हरेक शुभ कार्यमा दमाईको अनिवार्यता र अगुवाईको परम्परा हुने थिएन ।” दमाईको दशैँ पुच्छर बहिष्कारमा मात्र नरुमल्लियोस, समानता र सम्मानको लागि बाजा बहिष्कारमा सामूहिक रुपमा उत्रियोस। जातीय छुवाछुत र विभेदको जरोकिलो उखेलिन्छ ।
प्रसङ्ग नं. ३ : कांग्रेस महाधिवेशन
यो हप्ता कांग्रेस महाधिवेशनको नतिजा सार्वजनिकरण भयो । त्यसो त आलोचकहरु नेपाली कांग्रेसलाई भाइ कम्युनिष्ट भन्छन् । सैद्धान्तिक रुपमा समाजवाद स्विकार्नु र साङ्गठानिक तौरतरिकामा क्याडर बेस पार्टी सङ्गगठमा निर्भर रहेका कारण आलोचकको प्रतिक्रिया आफैँमा गलत छैनन् । समाजवादको च्यादर उतारेर उदार अर्थतन्त्र र लोक कल्याणकारी राज्य व्यवस्थाको सैद्धान्तिक मुल्य मान्यतामा कांग्रेस प्रवेश गरोस भन्ने उसका हितैषीको मन, कांग्रेस महाधिवेशनले कुँडाएको छ ।

बेलाबेलामा देखिने कांग्रेस भित्रका ठुला ज्वारभाटाको पछिल्लो संस्करणका नायक हुनुहुन्छ, गगन थापा । उहाँ १५ औं महाधिवेशनबाट सभापति बन्दै गर्दा, सधै झैँ, सानो आकारमा रहने महाधिवेशन प्रतिनिधिको सङ्ख्या ह्वात्तै बढेर ७ हजार १ सय १४ पुगेको छ । अब पहिले पहिले झैँ-“म कांग्रेसको महाधिवेशन प्रतिनिधि” भनेर चिया चौतारोमा गर्व गर्ने परिस्थिति कांग्रेसिजनको रहने छैन । यो महाधिवेशनले, त्यो शाख खोसेको छ । १ सय ६५ जनाको केन्द्रिय समिति बढेर २ सय ९७ पुर्याइएबाट केन्द्रिय नेताको मानसम्मानमा समेत आच आउने नै छ । क्रियाशील सदस्य वितरण गर्दा, एकाघरको सम्पुर्ण सदस्य मण्डली नै सोलोडोलो सदस्यता भर्ने, सदस्य सङ्ख्या धेरै देखाउने रोगबाट शुरु भएको सङ्क्रमण महाधिवेशन प्रतिनिधि सङ्ख्या हुँदै केन्द्रिय समिति र पदाधिकारी सङ्ख्याको बढोत्तरी सम्म नै पुग्यो ।
विचार र एजेन्डामा बहस हर्न रुचि नराखेको गगन कांग्रेस समावेशिताको नाममा सङ्गठन र क्याडर बेस पार्टीको रुपमा थप कम्युनिस्टकृत हुन पुगेको छ । यसले एकातिर नेताहरुको सामाजिक छवीमा आँच ल्याएको छ भने, अर्को तर्फ कम्युनिष्टको झैँ मुल नेतृत्वमा शक्ति केन्द्रिकरण गरेको छ । स्मरण रहोस्, नेकपा माओवादीले ०६४ सालमा आफूलाई चिनियाँ कम्युनिष्ट पार्टी पछिको ठूलो सङ्गठन भएको पार्टी घोषणा गरेको थियो भने केन्द्रिय समितिको आकार बढाउँदै नारायणी किनारमा सम्पन्न भएको नेकपा एमालेको महाधिवेशनले उसलाई कहाँ पुर्यायो ? लोकतन्त्रको नाममा दलतन्त्र र नेतातन्त्रको अभ्यास कति महङ्गो पर्यो भन्ने उदाहरण जेन्जी आन्दोलन हो । त्यही आन्दोलनको आडमा पार्टी सत्ता हत्त्याउन सफल गगनमा सो चेत नरहनु दुखद् पक्ष हो । फेरि पनि देशको पुरानो लोकतान्त्रिक पार्टीप्रति शुभेच्छा र शुभकामना ।
प्रसङ्ग नं. ४ : राष्ट्रिय स्वतन्त्र पार्टीको क्याण्डिडेट क्लब
कलाकारिता र नेतागिरी दुवै ग्लामर जगत हो । मान, सम्मान, शक्ति, हैसियत र पैसा यी दुवै क्षेत्रमा छन् । दुवै नसा हो, नसाको कुरा गर्दा जाडको नसा र गाजाको नसा फरकफरक नसा हुन् । जब जाँडले मात्तिएको मान्छेमा गाजाको नसा थपिन्छ, त्यसले जोखिम अधिक नित्याउँछ । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिमा कलाकारितालाई जोड्ने जुन प्रयास गरेको छ, त्यसैको नाम हो-“क्यान्डिडेट क्लब ।”

राजनीति सर्वाधिक खोज-अनुसन्धान र अभ्यासको क्षेत्र हो । नयाँनयाँ प्रयोगलाई यसले बर्जित त गर्दैन तर लामो अभ्यास र राजनीतिको सैद्धान्तिकरणले यो प्रकारको गतिविधि कहिँ कतै गरेको देखिँदैन । आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको रुपमा प्राइमरी इलेक्सन भने सर्वाधिक सफल अभ्यास भएका उदाहरण पाइन्छ । क्यान्डिडेट क्लब सफल हुँदा र यसले ल्याएको परिणामले सार्थकता पाउँदा विश्व राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको विशिष्ट योगदानको रुपमा उसको यो अभ्यासले स्थान पाउने नै छ । लोकप्रियताको बलमा राजनीतिमा प्रवेश गरेको पार्टीले यी हर्कत गर्नु स्वभाविक देखिन्छ, सामाजिक सञ्जालको लोकप्रियता र बलमा संसदसम्म पुग्नुभएका खगेन्द्र सुनार, आशिका तामाङलगायतले गरेको ‘हैरानी’ र दिक्दारी भने स्मरण योग्य छ । हरेक स्थानीय तहहरू तमासेको सर्कस घर नबनोस्, क्याण्डिडेट क्लबलाई पनि दशैँको शुभकामना ।
प्रसङ्ग नं. ५ : एक महिनासम्म नपन्छिएको टाहाखेल-टिकाभैरब सडक खण्ड

चुन ढुङ्गाको उत्खनन् सहित काठमाडौँ उपत्यकाको मुख्य निर्माण सामग्री उत्पादनको हब रहेको टाहाखेल-टिकाभैरब सडक खण्डमा खसेको एक थुप्रो ढुङ्गा पन्छाउन राजनीतिले एक महिना लगाइसकेको छ । ती र त्यस्ता ढुङ्गे पहिरो यहाँका खानीमा दैनिक खस्छन् र सयौँ ट्रक-ट्रीपरमा लोड भएर आआफ्नो गन्तव्यमा पुग्छन् । कांग्रेस र रास्वपाको घनचक्करमा परेर जुन हैरानी र सास्ती आम नागरिकले पाए, त्यो भर्त्सना योग्य छ ।
क्षेत्राधिकार मिच्दै स्थानीय तहको अधिकारलाई सङ्कुचन गर्ने सङ्घीय सांसददको हर्कत जति निन्दनीय थियो त्यति नै भर्त्सना योग्य गोदावरी नगरको कामकारवाही देखियो । आवश्यक यन्त्र-उपकरण र जनशक्तिले सशक्त गोदावरी नगरले अनुभव र क्षमता भएका ठुला खानी सञ्चालकको सहायता लिएर पहिरोलाई समयमा पन्छाउने भन्दा सङ्घीय सांसदको मानमर्दन भइरहोस् भन्ने उद्देश्यका साथ सडक खुलाउन ढिलासुस्ती गरेको व्यहोरा घाम जति छर्लङ्ग छ । राजनीतिको निकृष्ट चालबाजीबाट यो क्षेत्र मुक्त होस्, शुभकामना ।
प्रसङ्ग नं. ६ : आनी छोइङको नियुक्ति

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्तिलाई लिएर सामाजिक सञ्जाल गर्माएको छ । झट्ट हेर्दा नेपाली समाज पहाडी खस-आर्य बाहेकका नागरिकप्रति पुर्वाग्रही देखिँदै आएको छ । नेपालको पछिल्लो राजनीतिक इतिहासमा कैयन प्रधानमन्त्रीहरु देश बाहिर जन्मिएका नागरिक भएका छन् भने केहीका पुर्ख्यौली थातथलो नेपाल बाहिर रहेको थियो । एकजना प्रधानमन्त्रीले विदेशी नागरिकता लिएर, विदेशमा नै देहत्याग समेत गरेको इतिहास छ, ती सबै चर्चा गरिएका प्रधानमन्त्री खस-आर्य समुदायका भएका कारण खासै नकारात्मक चर्चा भएनन् । आनी छोइङले नेपाली समाज र राज्यलाई पुर्याएको योदान, मानवीयताप्रति उहाँको समर्पण र बौध्द धर्मप्रति उहाँको आस्थामा प्रश्न उठाउन पर्ने ठाउँ छैन । विदेशी पिआर र ग्रीन कार्डको प्रतीक्षामा नागरिकता त्याग्न गोडा उचालेको समाजले आनीको नागरिकतामाथि प्रश्न उठाउने हैसियत राख्दैन ।
प्रसङ्ग नं.७ : विविध

यो सप्ताह सांसद खगेन्द्र सुनार र एक जना राजनीतिक महिलाको अडियो प्रकरणले सनसनी खेज रह्यो । राज्यको नीति निर्माण तहमा रहेका सांसदद र शासक रहिसकेकी पुर्वमन्त्री जोडिएको घटना स्वतः नेपाल सरकारको अनुसन्धान क्षेत्र भित्र पर्नु पर्ने विषयवस्तु हो । “यस्ता गम्भीर विषय सिधै राज्यको सरोकार नभइकन किन पार्टीगत छानविनको विषय बनाइन्छ ? नेपाली समाजले दशैँको मासु चपाउँदै विचार गर्ने छ ।”-भन्ने अपेक्षा छ ।
किशोर श्रेष्ठ प्रकरणले सिङ्गो पत्रकार जगतको शिर उठाउन यो सप्ताह सफल रह्यो । हिमेश पन्तको उजुरीमा “GOOD MORNING”भएका किशोर श्रेष्ठ “सामाजिक सञ्जालमा जथाभावी नलेख्न हिमेशलाई सहमत गराउँदै, चित्त नबुझेका समाचार उपर प्रेस काउन्सिलको बाटो देखाउन सफल भए ।” सत्य निष्ठाको आङ्शिक जित सहित असत्य, रुढिबाद र लाचारी माथिको प्रहार सहित बडादशैँको शुरुवात भएको छ । असत्यमाथि सत्यको जित र आम नागरिकमा रहेको भ्रमको पर्दा च्यातियोस्, बडादशैँ (शरद उत्सव) को सबैसबैमा शुभकामना ।