मानव आवाज

२०८३ श्रावण १ गते
00: 00: 00
२०८३ श्रावण १ गते

सम्झनामा साउने संक्रान्ति !

कमलप्रसाद तिमल्सिना
४० बसन्त पार गरिसकेपछि बाल्यकालका ती दिनहरू सम्झँदा आज पनि मनमा एक किसिमको आनन्दको अनुभूति हुन्छ । करिब ८–१० वर्षको हुँदा टाउकोमा जुम्रा पर्ने, शरीरमा लुतो आउने, हात–गोडामा घाउ–खटिरा देखिने, हिलो पाक्ने जस्ता समस्याहरू सामान्य नै थिए । ती सबै पीडादायी भए पनि आज सम्झँदा तिनै दिनहरू जीवनका सबैभन्दा रमाइला पलहरू जस्ता लाग्छन् ।

गोटीखेलमा त्यतिबेला सिडिएचपी भनेर चिनिने एउटा स्वास्थ्य संस्था थियो । त्यसको पूरा नाम के थियो भन्ने अहिले पनि थाहा छैन । हामी सबैका लागि भने त्यो नै ठूलो अस्पताल थियो । शरीरमा लुतो, घाउ–खटिरा वा हिलो पाकेपछि उपचारका लागि त्यहीँ पुगिन्थ्यो । वर्षैपिच्छे हात–गोडामा घाउ पाक्ने समस्या हुँदा पाँच दिनसम्म लगातार इन्जेक्सन लगाएको सम्झना अझै ताजा छ ।

गाउँघरमा हरेक चाडपर्वको आफ्नै महत्व थियो । तीमध्ये साउने संक्रान्ति वर्षको सुरुवाती पर्वका रूपमा मनाइन्थ्यो । यसलाई “लुतो फाल्ने” वा “लुतो मिल्काउने संक्रान्ति” भनेर चिनिन्थ्यो । बालापनको सरल सोचले गर्दा साउने संक्रान्तिमा लुतो फाल्नैपर्छ भन्ने दृढ विश्वास थियो । वर्षभरि कहिले सुकेको त कहिले पाकेको लुतो लाग्थ्यो, सिडिएचपीबाट औषधि पनि पाइन्थ्यो, तर साउने संक्रान्तिमा लुतो नमिल्काए निको हुँदैन भन्ने मान्यता मनमा गहिरो बसेको थियो । त्यसैले यो पर्व मेरो बालमस्तिष्कबाटै विशेष महत्वका साथ बसेको छ ।

हाम्रो गाउँमा यो पर्व अत्यन्त रमाइलो गरी मनाइन्थ्यो । साउन लागेसँगै स्थानीय आरु र नासपाती पाक्न थाल्थे । बजारका फलफूल खाने चलन थिएन, आफ्नै बारीका फलफूल नै स्वादका स्रोत थिए ।

लुतो फाल्नका लागि गाउँका बालबालिका समूह बनाएर जुट्थ्यौँ । कसको समूहमा को पर्ने, को नपर्ने भन्ने विषयमा कहिलेकाहीँ सानोतिनो झगडा पनि हुन्थ्यो । ठूला दाजु–दिदीहरूको छुट्टै समूह हुन्थ्यो भने हामी साना बालबालिकाको छुट्टै । खर्का चौर, थुम्का पोखरी र भालुकाटे चौर जस्ता स्थानहरू लुतो फाल्ने मुख्य स्थल बन्थे ।

जेठ–असार लाग्नासाथ छाप्रो कसरी बनाउने भन्ने योजना सुरु हुन्थ्यो । छाप्रोका लागि खामाबला, पराल र छ्वाली कहाँबाट ल्याउने भन्ने योजना बनाइन्थ्यो । बुबाआमाले थाहा नपाउने गरी खामाबला काट्नुपर्थ्यो । कहिलेकाहीँ त घाँसका लागि बचाएर राखिएको रुखसमेत काटिन्थ्यो । धसिँगरे, सरो, पटपटे र कुरिलो जस्ता वनस्पति जङ्गलबाट खोजेर ल्याइन्थ्यो । समूह–समूहबिच कसको छाप्रो ठूलो र राम्रो भन्ने प्रतिस्पर्धा नै चल्थ्यो ।

सबैको बगैंचामा फलफूल नहुने भएकाले कहिलेकाहीँ अरूको बारीबाट चोरेर ल्याउनु पनि बालापनको एउटा “अभियान” नै हुन्थ्यो । साँझ परेपछि छ्वाली र पराल पनि अलिअलि “सापटी” ल्याइन्थ्यो, जुन अहिले सम्झँदा हाँसो लाग्छ ।

यति धेरै दुःख गरेर बनाएको छाप्रो साउने संक्रान्तिकै दिन भने प्रायः वर्षाले भिजाइदिन्थ्यो । बिहानैदेखि ढकमक्क कुहिरो र झरी सुरु हुन्थ्यो, साँझतिर त झन् मूसलधारे पानी पर्थ्यो । तर, मौसमले जति दुःख दिए पनि कार्यक्रम कहिल्यै रद्द हुँदैनथ्यो । पानीको मेसो मिलाउँदै छाप्रो बनाइन्थ्यो र उत्साहका साथ पर्व मनाइन्थ्यो ।

साँझ परेपछि घरघरमा सेलरोटी पकाइन्थ्यो। त्यसलाई प्रसादका रूपमा बोकेर थाल ठटाउँदै गाउँभरि घुमिन्थ्यो। सबैले एकै स्वरमा गाइन्थ्यो-

“वारि गाउँले, पारि गाउँले, मेरो लुतो लैजाऊ।”

त्यसरी लुतो फाल्ने परम्पराले गाउँभरि हाँसो, रमाइलो र उत्साह छाइरहन्थ्यो ।

आज ती दिनहरू हराइसके । न छाप्रो बनाउने चलन बाँकी छ, न त लुतो फाल्ने बालबालिकाका समूहहरू। अहिलेका बालबालिकालाई यी कुरा सुनाउँदा कुनै कल्पनाको कथा जस्तै लाग्छ ।

तर, साउने संक्रान्ति आउँदा मन आज पनि बाल्यकालमै पुग्छ । त्यो लुतो फाल्ने संक्रान्ति, त्यो साउने झरी, त्यो साथीभाइसँगको मिलन, त्यो छाप्रो बनाउने होड, त्यो बालापनको निष्कपट चोरी-यी सबै सम्झनाहरू आज पनि मनको कुनामा अमिट भएर बसेका छन् । समय बिते पनि ती दिनहरूको मिठास कहिल्यै मेटिँदैन ।

Author

Share the News

Recent News

Related News