मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

विना न्यासुर तामाङ

जन्मघरले पराइ भन्यो, कर्मघरले आफ्नो ठानेन

मनभित्रका घाउहरू कसैले देखेन, कसैले जानेन

जीवनभरि अरूकै खुसीका लागि बाँचेकी नारीले

आखिर आफ्नै भन्न सक्ने एउटा कुनो पनि पाइन

बाबुको आँगन छोडी सपनाको डोली चढेर आइ

आफ्नै संसार बनाउने हजारौं रहर मनमै सजाइ

तर यहाँ पनि परीक्षा, यहाँ पनि प्रश्नहरू मात्रै

उसले खोजेको माया कतै भेटिएन हात फैलाइ

कहिले शब्दले पोलियो, कहिले व्यवहारले घोचियो

कहिले आफ्नै भनिएकाहरूबाट मन बेस्सरी रोइयो

आँसु लुकाएर मुस्कुराउने बानी बसाल्दा बसाल्दै

उसको आफ्नै अस्तित्व नै कताकता हरायो

माइती जाँदा पनि पहिलेको जस्तो आँगन कहाँ हुन्छ ?

समयसँगै सम्बन्धमा पनि पराइपन थपिँदै जान्छ

मनभरि पीडा बोकेर फर्किने ती छोरीहरूलाई

आखिर संसारमा निःशर्त आफ्नो भन्ने ठाउँ कहाँ हुन्छ ?

सबैलाई घर दिने नारी, सबैको खुशी बन्ने नारी

किन सधैँ आफ्नै जीवनमा रहिरहन्छे बेचारी ?

एक दिन चुपचाप आकाशतिर हेरेर सोध्छे

“हे भगवान्, मेरो आफ्नै घर आखिर कहाँ छ नि?”

नारीको घर इँटा र ढुङ्गाको चार भित्ताभित्र होइन

जहाँ सम्मान हुन्छ, त्यहीँ उसको संसार हो

जहाँ आँसुको मूल्य हुन्छ, त्यहीँ उसको आश्रय हो,

जहाँ ऊ डरविनै बाँच्न पाउँछे, त्यहीं उसको घर हो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार