ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको सभाहल २०८३ जेठ २९ गते केही फरक देखिन्थ्यो ।
गाउँको विकास, प्रशासनिक बैठक र औपचारिक कार्यक्रमका लागि प्रयोग हुने हल जेठ २९ गतेका दिन साहित्य, कला र संस्कृतिको सुगन्धले भरिएको थियो ।
कविताका हरफहरू गुन्जिरहेका थिए, तामाङ भाषाका सिर्जनाहरूले वातावरणलाई थप जीवन्त बनाइरहेका थिए र सहभागीहरू शब्दको संसारमा हराइरहेका थिए ।
यहाँको वातावरण छन्दमय भएको थियो । कविता भन्नेहरू छन्दमा हराइरहेका थिए भने सुन्नेहरू शब्दमा डुबिरहेका थिए ।
कार्यक्रममा साहित्यिक विमर्श, कविता वाचन, पुस्तक लोकार्पण तथा स्थानीय पाठ्यक्रम, नेपाली भाषा शिक्षण र सिर्जनात्मक लेखनसम्बन्धी कार्यशाला एकैसाथ सम्पन्न भए ।
कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा २८ जना नेपाली विषयका शिक्षकहरूको सहभागिता रहेको थियो ।
स्थानीय पाठ्यक्रम, नेपाली भाषा शिक्षण र सिर्जनात्मक लेखनसम्बन्धी कार्यशाला भने जेठ २८ र जेठ २९ गते सञ्चालन गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण साहित्यिक विमर्शसँगै दुई महत्वपूर्ण कृतिको लोकार्पण रह्यो ।

कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठानको वार्षिक मुखपत्रको तेस्रो अङ्क तथा ‘कोन्ज्योसोम गाउँपालिकाको सांस्कृतिक दर्पण’ सार्वजनिक गरियो ।
स्थानीय संस्कृति, इतिहास र पहिचानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले प्रकाशित ‘सांस्कृतिक दर्पण’ शिक्षकद्वय राजेश घिमिरे र बेलबहादुर लामा घिसिङले लेख्नुभएको हो भने रमेशप्रसाद तिमल्सिना र रोशन दाहालले सम्पादन गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. देवी नेपालले भौतिक विकाससँगै बौद्धिक विकासलाई पनि समान महत्व दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले समाजको समृद्धि सडक, भवन र पूर्वाधारले मात्र नाप्न नसकिने बताउँदै भाषा, साहित्य, शिक्षा र सिर्जनशीलताको विकासलाई दीर्घकालीन समृद्धिको आधारका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले साहित्यिक सिर्जनाले समाजको संस्कृति र पहिचानलाई जीवन्त राख्ने बताउनुभयो ।
उहाँले कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठानले भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले आगामी वर्ष प्रतिष्ठानसँग सहकार्य गरी साहित्यिक पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
साहित्य, संस्कृति र पर्यटनलाई एकआपसमा जोडेर स्थानीय विकासको नयाँ सम्भावना खोज्न सकिने उहाँको विश्वास थियो ।
कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले आगामी वर्ष अझ रचनात्मक र परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

इतिहास र संस्कृतिलाई अभिलेखित गर्न पुस्तक प्रकाशनको महत्व औँल्याउँदै उहाँले यस्ता प्रकाशनले भावी पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीको काम गर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा साहित्यिक रचनाहरूको वाचनले विशेष आकर्षण थप्यो । महाङ्काल प्रज्ञा प्रतिष्ठानका सदस्य कवि रत्न विरहीले कविता वाचन गर्दै साहित्य समाज परिवर्तनको प्रभावकारी माध्यम भएको बताउनुभयो ।
कवि कमलप्रसाद तिमल्सिना, मधुसुदन उपाध्याय, विना न्यासुर, हिरामाया घिसिङलगायतले कविता वाचन गर्दा सभाहल बारम्बार तालीले गुञ्जिएको थियो ।
विशेषगरी तामाङ भाषामा प्रस्तुत गरिएका रचनाहरूले स्थानीय भाषिक पहिचान र सांस्कृतिक गौरवलाई उजागर गरेका थिए ।
सहभागीहरू केवल श्रोता मात्र बनेनन्, उनीहरू आफ्नै समाज, संस्कृति र जीवनका अनुभूतिहरूसँग जोडिए ।
कार्यक्रमले एउटा महत्वपूर्ण सन्देश पनि दियो-समाजको विकास केवल भौतिक पूर्वाधार निर्माणमा सीमित हुँदैन ।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनले मात्रै समुदायको आत्मा जोगाउन सक्छ । कोन्ज्योसोममा आयोजित यो साहित्यिक जमघट त्यही आत्माको उत्सव बनेर स्मरणीय रह्यो ।