मानव आवाज

२०८३ जेष्ठ २ गते
00: 00: 00
२०८३ जेष्ठ २ गते

हामी बारीको खुला फाँटमा थियौँ । पहिलो गरो खेतलाई कुहिनाले टेकेर पार गरेपछि म तल्लो गरोमा झरें। तर अझै ढुक्क हुन सकिने स्थिति थिएन । त्यसैले म फेरि कुहिनाले टेकेर घसिँदै अगाडि बढें । मैले अर्को गरो पनि काटें ।

“अब भने उभिन सकिन्छ” मेरो मनले आँटी भएर भन्यो । म विस्तारै चाल सुन्दै उठे। संसार निस्पट्ट अन्धकारमा डुबेको थियो । माथि आकाशका ताराहरू झिमझिम आँखा झिस्क्याउँदै हामीलाई हेरिरहेको थिए । तर ताराहरूसँग हामीले डराउनु पर्ने कुनै कारण थिएन । ती त अब अनन्त यात्राका स्थायी मार्गदर्शक पो बन्दै थिए ।

मैले अँध्यारोलाई छिचोलेर वरपर चियाउने प्रयत्न गरें । मभन्दा दुई-हात अगाडि एक जना साथी टुक्रुक्क बसेर आफ्नो साहसलाई बलियो पार्ने प्रयल गरिरहनु भएको थियो । मैले उभिएको पहिलो पाइलो चालें र सासको स्वरमा भनें-“उठौं ।”

सुरुङबाट बाहिर निस्केपछि मेरो मुखबाट निस्केको पहिलो शब्द त्यही थियो। साथी जुरूक्क उठ्नु भयो । मैले नियालेर हेरें भिष्म धिमाल हुनुहुँदोरहेछ । उहाँको ठूलो ज्यानले मेरो सानो शरीरलाई ढपक्कै ढाक्यो । मैले विस्तारै भनें-“हिँड्नोस् अघि बढौं, नक्खु र बागमतीको दोभान हामी सबैको भेट्ने ठाउँ हो ।”

अगाडि पाइला चाल्नुभन्दा पहिले मलाई पछिल्तिर फर्केर हेर्न मन लाग्यो । सारा नक्खु क्षेत्र अन्धकारको भँवरीमा डुवेको थियो। अँध्यारो स्वाँ-स्वाँ गरेर कराइरहेको थियो । बत्तीको पिलपिले उज्यालो कतै थिएन । हामीलाई जिन्दगीभर थुनेर राख्ने मनसाय बोकेर अग्लिएको भ्यालखानाको पर्खाल त्यो अन्धकारभित्र कालो राक्षस जसरी लमतन्न परेर सुतेको थियो ।

“खबरदार…!” दक्षिण-पश्चिम चोसोको बुर्जामा बसेको पुलिस बेस्सरी करायो । म नजानिदो पाराले मुस्कुराएँ ।

“तिम्रो खबरदार, शब्दको भुँवरीमा रूमल्ली रहोस् । हामीलाई जेलमै सडाएर मार्ने तिम्रो पर्खाल यसरी नै भूत जसरी सुतिरहोस् । नमस्ते भाइ, हामी मुक्त मन लिएर विचरण गर्न गइरहेका छौं ।”

भिष्म दुई चार पाइला अघि बढिसक्नु भएको थियो । भावुक भएर पर्खाल र पुलिसको बारेमा सोचिरहने फुर्सद मसँग थिएन । म हतार हतार उहाँको पछि लागें ।

अँध्यारोले हाम्रा पाइलालाई अप्ठेरोमा पारे पनि तिनले हाम्रो बाटोलाई थुन्न सकेका थिएनन् । डिल र आलुका बुटाहरूबाट जोगिँदै हामी विस्तारै पश्चिमतिर लाग्यौं । पहिलो पल्ट गराबाट तल ओर्लदा म र भिष्म दुवै जना डङ्ग्रङ्ग लड्यौं । रातको एक्लो सन्टामा हाम्रो पछराइ ढप्प गरेर थर्कियो । आफू पछारिएको आवाजले आफैलाई एक पल्ट नराम्ररी तर्सायो । म विस्तारै उठें र होशियार भएर अगाडि बढ़ें। मेरा आँखाहरू अलि अलि गर्दै अँध्यारोमा अभ्यस्त हुँदै थिए । अर्को डिलले मलाई लडाउन सकेन । म विस्तारै डिल नाघेर तल ओर्लिए । तर खै के भएछ कुन्नि मेरो अघि अघि हिँड्नुभएको भिष्म कतै हराउनु भयो ।

 एक्लोपनको त्रासले मलाई कचक्क समात्यो । अहिलेसम्म छेउछाउमा नआएको डरले मेरो मन र मस्तिष्कलाई फनक्क बेर्यो। हिँड्दै गरेका मेरा पाइलाहरू एक्कासी रोकिए । मैले आफू अगाडिको अँध्यारोलाई निक्कै परसम्म छिचोल्ने प्रयास गरें। अहँ, अगाडि गाडि कुनै मान्छेको छायाँ थिएन । मैले दाहिने र देब्रेतिर अनुहार घुमाएँ : अहँ त्यता पनि कुनै आकृतिको नामोनिशान थिएन ।

“एक्लै भए पनि दोभानमा त प्रग्नैपर्छ ।” मैले मनमनै भनें । । विस्तारै मेरा पाइलाहरू अगाडि बढे । मैले अरू दई तिन वटा गराहरू नाचें । भवाम्प अगाडि आएको आकतिले मेरो बाटो छेक्यो । मेरा हात गोडाहरू एकैचोटी चिसा भए । आफ्नोभन्दा झण्डै दई गुणा ठूलो शरीर मेरो बाटो छेकेर उभिएको थियो । मेरा नौनारी गले । त्यो आकृतिले मलाई च्याप्प समात्यो ।

“म त दोभान पग्नै सकिनँ, कता पर्छ ?” बोली सनेपछि मात्र मेरो चेतना फर्कियो । हर्क खडकाको ठूलो शरीरले मेरो बाटो छेकेको थियो । आफूलाई समातिरहेको उहाँका हातहरू हटाउँदै भने, “हामी देब्रेतिर लम्किन पर्छ, अलिकति हिँडेपछि दोभान भेटिन्छ ।”

मोडिनै आँटेको बेला पश्चिमतिरबाट अर्को आकृति फेरि हामीतिरै आयो। “बाटो नचिनेर साथीहरू भौंतारिँदै छन् ।” मेरा मनले भन्यो । मेरो मनआबाट शत्रुको भय हराइसकेको थियो । त्यसैले त त्यो आकृतिलाई पर्खेर बसिरहें । आउने अशोक न्यौपाने हुनुहुँदोरहेछ । उहाँ पनि एक पल्ट झसङ्ग हुनुभयो । नियालेर हाम्रो अनुहारमा हेरेपछि उहाँले भन्नुभयो “मैले त बाटो हराएँ, साथीहरू पनि छुट्नुभो, अब कता जाने ?”

सुरुङबाट निक्किएका हामी सबै बरालिएका थियौँ । साथीहरू भेटिन्थे अनि फेरि छुट्टिन्थे। । फेरि भेटिन्थे अनि फेरि हराउँथे । अन्यौल र आश‌ङ्काले मनलाई स्थीर हुन दिइरहेको थिएन र गोडालाई पनि सही दिशातिर तन्किन दिइरहेको थिएन ।

“नआत्तिनोस् हामी दोभानको नजिकै छौं” मैले विस्तारै भनेँ । “यहाँबाट दाहिने हुँदै अलिकति पश्चिम गएपछि दोभान भेटिन्छ । बरू हामी नछुटौँ । एकले अर्कालाई समातेर हिँडौँ । त्यसो हुँदा राम्रो हुन्छ ।”

हामी तीनै जना बाटो लाग्यौं । दुई-तीन मिनेट नबित्दै हामी नक्खुर बागमतीको बलौटे बगरमा पुग्यौँ ।

गर्मीको याम भए पनि काठमाडौँको रात चिसै थियो । तर उत्तेजनाले हाम्रो शरीरलाई गर्माइरहेको थियो । खोलाको किनारमा काला आकतिहरू ढुङ्गा जसरी ठस्स बसेका थिए । हामी टक्क अडियौँ । त्यसै बेला खोलाको डिलबाट टक्-टक् गरेर तीनचोटि जिब्रो पड्काएको आवाज आयो । त्यो सम्पर्कको सङ्केत थियो । हामीले पनि त्यसै गरी जिब्रो पड्कायौँ । फेरि उताबाट जिब्रो पड्काएको आवाज आयो । हामी विस्तारै अघि बढ्यौँ ।

त्यहाँ बीर बहादुर, सी.पी. राजेन, शेखर र नरेश हुनुहुन्थ्यो ।

नक्खु खोलाको सानो पानीको कुल कुल आवाज हाम्रो कानैबाट बगिरहेको थियो । बागमती भने ख्यार-ख्यार आवाज निकालेर सुतिरहेको दमको बिरामी जस्तै लाग्यो । आफ्नो आवाजलाई सकेसम्म सानो पार्न सकियोस् र एक अर्काका कुराहरू प्रस्टै सुनियोस् भनेर हामी नजिक नजिक टाँसिएर बस्यौं ।

“अरू साथीहरू खै ?” यो प्रश्न कसले सोध्यो थाहा भएन तर यसको उत्तर कसैसँग थिएन । “हामी एकछिन पौँ, आउनु होला ।” हामी नबोली पर्खिन थाल्यौं । अरू बेला प्रतीक्षाको समयमा घडीको सुइ पनि अल्छि लाग्दो पाराले ढिलो ढिलो घुमे जस्तो लाग्थ्यो । त्यति बेला त त्यो सधैँभन्दा झन् झन् छिटो कुदे जस्तो लाग्न थाल्यो । पाँच मिनेट बित्यो । अहँ सात जना साथीको अत्तोपत्तो नै पाइएन ।

“सिरोज र बीरबहादुर खोज्न जानोस् । तपाईंहरूलाई यहाँको भूगोलको जानकारी छ । हामी पर्खेर बस्छौं । भेटिएका साथीलाई यही पठाइदिनु होला” सी.पी.ले भन्नुभयो ।

माधवलाई भेट्न सकिन्छ भन्ने हामीलाई लागेकै थिएन । किनभने उहाँ एक्लै, एक डेढ घण्टा अगाडि नै निक्कनु भएको थियो र यतिञ्जेल उहाँ त्यतै पर्खेर बस्ने कुनै सम्भावना थिएन । ‘गोपाल त नहराउनु पर्ने ! काठमाडौँको बारेमा उहाँ हामीभन्दा बढी जानकारी राख्नुहुन्थ्यो र नक्खुको दोभान, सुरुङको मुखबाट कता पर्छ भन्ने उहाँलाई राम्रै थाहा थियो ।’ साथीहरूलाई खोज्न जानु अघि मैले मनमनै हिसाब लगाएँ। तर यो हिसाबलाई जोड घटाउ गरेर त्यहाँ बस्ने बेला थिएन । जति सक्दो चाँडो हामीले साथीहरूलाई खोजेर त्यहाँ भेला पार्नुपर्ने थियो । त्यसैले म र बीर बहादुर जुरुक्क उठेर खेततिर लाग्यौँ ।

हामी अलिकति हिँड्थ्यौँ र गराको आडमा उभिएर आँखा च्याती-च्याती वरिपरि हेर्थ्यौँ । फेरि हामी अलिकति हिँड्थ्यौँ र आलीमा टुसुक्क बसेर वरिपरि नियाल्थ्यौँ । हामी फेरि दुई-चार पाइला चाल्थ्यौँ र सानो स्वरमा जिब्रो टक्-टक् पारेर सङ्केत गर्थ्यौँ, अनि प्रतिसङ्केत सुन्न एकछिन अड्किन्थ्यौँ ।

हामीलाई आफै पनि छुटौँला कि भन्ने त्रासले अलिकति समातेकै थियो । त्यसैले हामी सकेसम्म सँगसँगै हिँड्ने कोसिस गरिरहेका थियौँ। त्यस्तै, भ्यालखानामा अकस्मात बत्ती आउला, हाम्रो खोजी होला र पुलिसहरू बटारिँदै यतै हान्निएलान् भन्ने त्रासले पनि हामीलाई समातेकै थियो । त्यसैले हामी घरिघरि भ्यालखानातिर पनि नियाल्दै थियौँ ।

झण्डै १० मिनेटपछि हामीले आफ्नो टकटकको जवाफ पायौँ । त्यो आवाजको दिशा पहिल्याउँदै र सतर्कताका पाइला चाल्दै हामी अँध्यारोलाई नियाल्दै धि बढ्यौं । परमेश्वर र भिष्म एउटा आलीको आडमा उभिएर हामीतिरै हेरिरहनुभएको रहेछ ।

“हामी त हरायौँ” भिष्मले मेरो अनुहारमा नियालेर हेरपछि भन्नु भयो-“तपाइले मलाई कता छोडनु भो ? म त हिँड्दा हिंड्दै पर खोलामा पुगेँ । त्यहाँबाट कता जाने थाहै भएन । फेरि फर्किंदा कमरेडसँग भेट भो ।”

भिष्मको कुराले मलाई हँसायो तर मैले तर्क नगरी भनेँ, “अब यहाँ छलफल नगरौँ । जाउँ, ढिला भइसक्यो ।”

दुई जनालाई लिएर हामी दोभानमा पुग्यौँ । अरू कोही साथी थपिनु भएको थिएन । हामी सुरुङबाट निस्केको आधी घण्टा भइसकेको थियो ।

“भरखरै माथि जावलाखेलतिरबाट एउटा गाडी आयो” त्यहाँ बसेको कसैले भन्नुभयो । “अब यहाँ धेरै बेर अलमलिनु हुँदैन। बत्ती बल्ने वित्तिकै हामो खोजी सुरु भइहाल्छ ।”

म र बीरबहादुर नबोली फर्कियौँ । फेरि पहिलकै जस्तै खोजी सुरु भयो । पाँच मिनेट पनि नबित्दै हामीले धर्म घिमिरे र जीवन मगरलाई भेट्यौँ । धर्म एउटा गराको डिलमा उभिएर अल्मलिएको ढङ्गले यताउता हेर्दै हुनुहन्थ्यो। जीवन चाहिँ त्यहाँभन्दा एक गरा तलतिर आलीको आडमा उभिएर साथीभाइ खोजिरहेका थिए ।

दुवैलाई लिएर हामी फेरि दोभानमा आयौँ । अहँ गोपाल, नारद र माधवको कुनै अत्तो-पत्तो नै थिएन । “गोपाल त नहराउनु पर्ने, के भएछ ?” कसैले सानो स्वरमा भन्यो । तर सबैको मनमा त्यही प्रश्न भएको कसैले त्यसके जवाफ दिन सकेन । हामी फेरि खोजीमा निस्कियौँ ।

पन्ध्र मिनेट भौँतारिदा पनि हामीले दुवै जनालाई भेट्न सकेनौ । तै दोभानतिरै पुग्नुभयो कि ! एकातिर त्रास र अर्कोतिर दिक्दारीले थलिएको हाम्रो मनले भन्यो, बरू जाउँ उतै । हामी फर्केर बगरमा पुग्यौं । गोपाल र नारदको कनै अत्तो पत्तो थिएन तर माधव भने कतैबाट भरखर आइपुग्नु भएको रहेछ ।

“कस्तो आपत पार्नुभो तपाईंले ? कता पुग्नु भाथ्यो ?,” उहाँलाई देख्ने बित्तिकै खुशी मनले मैले सोधेँ । “म त पहिले नै निस्किहालें तर यो खोलो पनि काट्न नपाउँदै बत्ती झलमल्ल बल्यो” उहाँ सके हामी आइपग्नु अघि यहीँ कुरा सुनाइरहनु भएको थियो । त्यसैले अङ्कलिई अड्‌ङ्कलिई उहाँले भन्नुभयो- “बत्ती बलेपछि मेरो त सातो पुत्लो नै गयो। बुर्जाको बत्ती सिधै सुरुङको मुखमा पर्थ्यो र पुलिसको आँखा अलिकति मात्रै गाडियो भने पनि उसले त्यो भ्वाङ परेको ओडार देखिहाल्थ्यो । सातो गएको मनले म, फेरि बत्ती जाला कि भनी एकछिन पर्खेर बसें तर अहँ बत्ती निभ्दै निभेन। त्यसपछि यहाँ बसेर कुनै उपाय हुँदैन भनेर म खोला पारीवाट सडकमा निस्किए । सडकमा त्यस्तो बत्ती निभाउने ठाउँ कुनै छ कि भनी म नक्खु बजारसम्म गएँ । त्यस्तो कतै देखिनँ । त्यसपछि फर्केर म गाउँतिरै लागे । एक ठाउँमा बिजुलीको तार धेरै होचोमा रहेछ । त्यो दुई वटा लाइनको कनेक्सान मिलाइदिन सके तार पड्किने थियो भन्ने मलाई थाहा थियो । त्यसैले म, कतै फलामको छड् पाइन्छ कि भन्दै खोजीमा लागें । त्यसै बेला यहाँ फ्याट्ट बत्ती निभ्यो । एकछिन त हो कि होइन भनेर म पर्खेर बसिरहे । तर बत्ती निभेकै थियो । धेरै बेरसम्म बत्ती नआएपछि कमरेडहरू निस्क्नु भयो भन्ने खुशी बोकेर म यतै फर्किएँ । यहाँ कसैलाई नदेखेपछि म घसिँदै सुरुङको मुखसम्म पुगें । तर त्यहाँभित्र पनि मान्छेको चालचुल थिएन । सुरुङको मुखका आलुका बोटहरू नराम्ररी माडिएका थिए । त्यसैले मलाई साथीहरू पक्कै निस्कनु भयो भन्ने विश्वास भयो र म तपाईंहरूलाई खोज्दै यहाँसम्म आइपुगे ।”

“अब उहाँहरूलाई नपर्खौँ” माधवको कुरा सकिसकेपछि सी.पी.ले भन्नु भयो, “गोपाललाई यताको सबै थाहा छ। हामी गएतिरै आउन सक्नुहुन्छ ।”

सी.पी.को यो प्रस्तावलाई कसैले काटेन । १३ जनाको हाम्रो टोली बसेको ठाउँवाट जऱ्याक-जुरूक उठ्यो । हामीले जुत्ता-मोजा खोल्यौं र पेन्टलाई अलिक माथिसम्म सार्‍यौँ । नक्खु खोलाको पातलो पानीले हाम्रो गोडालाई मात्र पनि राम्ररी भिजाउन सकेन । हामीले खोलाको पारिपट्टि पुगेर जुत्ता मोजा लगायौँ । हाम्रो टोलीको अगुवा बीरबहादुर हुनुहुन्थ्यो । त्यो रातभर हामीले उहाँकै निर्देशनमा हिँड्नु पर्ने थियो । त्यो सम्पूर्ण क्षेत्रको बारेमा सबभन्दा राम्रो जानकारी राख्ने उहाँ नै हुनुहन्थ्यो ।

खोला तरेर हामी दक्षिण-पश्चिम दिशातिर उकालो लाग्यो । मध्य रातको फेरोमा सारा संसार मस्त निदाइरहेको छ जस्तो लाग्थ्यो । माथि पाचामा बलिरहेको पिलपिले बत्तीले सन्नाटालाई चिर्न बल गरिरहेको थियो ।

हामी गाउँको किनारमा आएपछि दाहिनेतिर मोडियौँ । अगाडि हिडिरहन भएका बीर बहादरलाई त्यताको बाटोघाटोको राम्रो जानकारी थियो । उहाँका पाइलाहरू नअलमलिइ तन्किरहेका थिए र हामी सबै अंध्यारोलाई छिचोल्दै तो पाइलाको अनुसरण गरिरहेका थियौँ ।

झण्डै पन्ध्र मिनेट पश्चिम हिँडेपछि हामी एउटा चौतारीको डिलमा आएर उभियौँ ।

“अब हामी ओरालो लाग्छौं” बीर बहादुरले फुसफुसाएर भन्नुभयो । “अलिकांत ओरालो झरेपछि हामी पुलमा पुग्नेछौं । पुल अप्ठेरो र अग्लो छ। यो पुत्र चोभार गल्छीको पुल हो। अलिक होशियार भएर हिँड्नु होला ।”

नजानिँदो डरले हामी सबैलाई समात्यो । बाटो सजिलै भए पनि हामी कई झण्डै हातपाउ टेकेर ओरालो झर्न थाल्यौं । अँध्यारोको मध्यमा पुल कालो खाडीमाथि तेर्सिएर बसेको कोक्रो जस्तो लाग्दथ्यो ।

दुवै हातले पुलको बारलाई बेस्सरी समातेर हामीले बागमती पार गर्‍यौँ । अगाडि अप्ठ्यारो र ढुङ्ग्यानो बाटो थियो । फेरि हातले भित्ताको आड लिएर हामी देब्रेतिर करैचे ओरालो बाटो हिँड्न थाल्यौं । झण्डै पाँच मिनेट हिंडेपछि हाम्रा खुट्टाहरू घाँसे मैदानमा रमाउन थाले। घाँसे मैदानलाई हामीले एकैछिनमा पार गर्‍यौँ ।

हाम्रो अगाडि लमतन्न बटारिएका सर्प जस्तो अलकत्रे बाटो थियो । मैले थाहा पाएँ-हामी चोभारको गहिरो भागमा थियौँ र हाम्रो अगाडि तेर्सिएको बाटो दक्षिणकालीतिर हान्निएको थियो ।

“अब वैरीका बाघे पन्जाबाट हामी मुक्त भयौँ” अलकत्रे सडकमा पाइलो हालेपछि मेरो मनले भन्यो। त्यति बेला मलाई लागेको थियो हामीले सुरुका, तर सबभन्दा अप्ठेरा बाधाहरूलाई पन्छाइरहेका छौं र अब आउने अवरोधहरूलाई त भाँचभुँच पारेर पनि मिल्काउन सकिन्छ ।

एउटै लाइन बनाएर हामी दक्षिणकाली सडकको दाहिने किनारबाट पश्चिमतिर लाग्यौं । त्यो खस्रो र मोटो सडकमा हाम्रा पाइलाहरू ढप ढप बज्दथे र घरिघरि हामी आफ्नै पाइलाका आवाजसँग डराउँथ्यौं ।

तल कता वागमती खोलो सुसाएको हो कि, माथिको वन सुसाएको हो, केही ठम्याउन सकिन्नथ्यो । तर एक खालको निरन्तर आवाजले हाम्रो यात्रालाई स्वागत गरिरहेको छ जस्तो लाग्दथ्यो । मुक्त मनले झण्डै दुई घण्टा खुला जमीनमा टेकिसकेकाले होला हामी सबैको आत्मविश्वास बढेको थियो र हाम्रो मन क्रमशः चङ्गा हुर्दै थियो। हामी अब पहिलेभन्दा अलिक ढुक्कले खास खास खुस खुस पनि गर्न थालेका थियौँ ।

आधा घण्टापछि हाम्रो यात्रा रोकियो। हामी एउटा खोल्सी जस्तो कोप्चोमा गुजमुज्ज भेला भयौँ र एक-अर्काले अनुहारमा हेराहेर गर्न थाल्यौँ । सी.पी.ले अगाडि सरेर भन्नुभयो-“यसरी सडकै सडक हिँड्दा नोक्सान हुन्छ । अहिलेसम्म जेलमा बत्ती आइसक्यो होला । शायद हाम्रो खोजी पनि सुरु भयो होला । पुलिसहरू सडकको बाटो चारैतिर छरिन सक्छन् । त्यसैले हामीले सडक छोड्नुपर्छ र गोरेटो समात्नु पर्छ ।”

गोरेटो हिँडाउने जिम्मा पनि बीरबहादुरकै काँधमा थियो । अब त बाटो र त्यो क्षेत्रको जानकार उहाँ मात्रै हुनुहुन्थ्यो । हामी सबैको। हामी सबैको अनुहार उहाँतिरै फर्कियो । उहाँले चिउँडोमा औंलो ठड्याएर एकछिन् केही सोचेपछि भन्नु भयो-“ठिक छ, हामी देब्रेतिरको पाखामा लागौं । पाखैपाखा हामी दक्षिणकाली काटेर सुरक्षित स्थानमा जान सक्नेछौँ ।”

सडकै सडक अलिकति अगाडि एउटा गोरेटो समातेर हामी उकालो लाग्यौँ । त्यति बेलासम्म हाम्रा आखाँहरू अँध्यारोसँग राम्ररी नै अभ्यस्त भइसकेका थिए । अब हामी ताराहरूको उज्यालोको भरमा आफू अगाडिको सोतो जस्तो गोरेटोलाई राम्ररी उभ्याउन सक्ने भएका थियौँ ।

हामी सबै चुपचाप थियौँ । त्यो शून्यतामा खोलाको आवाज पहिलोभन्दा प्रष्ट ढङ्गले हाम्रो कानमा परिरहेको छ जस्तो हामीलाई लाग्थ्यो । म र मेरो अघिपछि हिँड्नु भएका साथीलाई लागिरहेको थियो, हामी क्रमशः उकालो गइरहेका छौं र बाटालाई हामीले धेरै तल छोडिसकेका छौं ।

हामी झण्डै अर्को दुई घण्टाहिँडिसकेका थियौँ र त्यस अवधिमा हामीले काँडे झाडी, अप्ठ्यारो खोल्सी खसेर लडिने पो हो कि जस्तो अप्ठ्यारो बाटो पार परेका थियौँ ।

हाम्रो देवेतिर निकै तल एउटा सेतो सेतो हामीलाई लगातार पच्छ्‌याउँदै आइरहेको थियो । मभन्दा अगाडिको साथीले टक्क उभिएर सोध्नुभयो “तल देखिएको सोतसो बागमती खोला हो ?”

रातको अन्योलमा मैले यसै भन्न सकिनँ । त्यसैले मैले पनि रोकिएर आफूभन्दा पछाडिको साथीसँग त्यही कुरा सोधेँ । उहाँले पनि जबाफ दिन सक्नुभएन । उहाँले अझै पछाडिको साथीसँग त्यही कुरा सोध्नुभयो । यसरी सोध्ने क्रममा हामी सबैको हिंडाई एकछिनको लागि रोकियो । हामी अलिकति चउर जस्तो ठाउँमा फोर गुजुमुज्ज भयौँ । त्यहाँ कसैले यो तल देखिएको खोलो होइन ?  भनेर सोध्यो हाथी सबैले अनुमोदनमा टाउको हल्लाए ‘हो’ को सङ्केतमा जबाफ दियौँ । त्यसैले एकपल्ट सबैले अनुमोदनमा टाउको हल्लाए जस्तो लाग्यो । सायद साढे तीन घण्टाभन्दा लामो निरन्तर यात्राबाट थाकेर हो कि ! हामी सबैले धेरैबेर सोचेनौ र एकै मनले त्यसलाई खोलो भनेर अघि बढ्‌यौँ ।

झण्डै १० मिनेट लगातार हिँडेपछि मेरो पछाडिको साथीले मलाई भन्नुभयो-“यो त खोलो होइन सडक जस्तो पो छ, एकपल्ट बीरबहादुरलाई सोध्नुहोस् न ।”

म पनि अलमल्ल परें । सडकै हो त ! यति लामो समयदेखि खोलो भनेर सुरक्षा महसुस गरिरहेको मेरो भन सडक भनेको सुन्ने बित्तिकै आत्तियो । म अगाडि हिँडिरहेका साथीहरूलाई पार गर्दै सबभन्दा अगाडि पुगें र बीरबहादुरका पाइलासँग पाइला मिलाउदै मैले भने-“होइन, कमरेड, त्यो त दक्षिणकाली सडक जस्तो पो छ त ।”

“कल्ले भन्यो ?”

“सबै साथीहरू त्यसै भन्दै हुनुहुन्छ ।”

फेरि हाम्रो यात्रा रोकियो । हामी सबै पाखामा ढेप्पिएर बस्यौँ । हाम्रो बसाइले पनि दर्शाउँथ्यो त्यति बेला हाम्रो मन फेरि आतिएको थियो । हामी सबैको भरोसा बीरबहादुर भाव हुनुहुन्थ्यो । त्यसैले सबैका आँखा उहाँमाथि नै टाँसिएका थिए ।

“हो जस्तो छ” भनेर उहाँ बसेको ठाउँबाट जुरूक्क उठ्नु भयो र हात खुट्टाको भर लिएर घस्रिदै घसिदै तल झर्नुभयो । अँध्यारोमा पनि उहाँको कालो छाया हामी छर्लङ्गै देखिरहेका थियौँ । उहाँ पुछारमै पुग्नुभयो । त्यहाँ एकछिन बस्नु भयो र पहिलेकै जसरी घस्रिदै माथि आउनु भयो । हामी सबै उहाँको बोली सुन्न आतुर थियौँ र उहाँले त्यो बाटो होइन, खोलो हो भनिदिए हुन्थ्यो भनेर हाम्रो मन जमजमाइरहेको थियो । तर हाम्रो मनलाई निराश पार्दै उहाँले भन्नुभयो, “त्यो त बाटो रहेछ ।”

“अब त बाटो छोड्‌नै पर्छ हामी सबैको एउटै अठोट थियो । हामीले अझै उकालो लाग्ने विचार गर्यो। पाँच मिनेट उकालो चढेर हामी एउटा ढिस्कोमा पुग्यौं । ढिस्कोको उतापट्टिको झिलीमिली उज्यालोले हाम्रो आँखा खायो । झसङ्ग भएर हामी ठिङ्ग उभियौँ। अँध्यारोसँग अभ्यस्त हाम्रा आँखाहरूले झिमझिम गरेर आफूलाई सन्तुलित बनाए । तर हाम्रा पाइलाहरू अघि सर्नै माननेन् ।

“त्यो फर्पिङ बजार हो” बीरबहादुरले गुजमुज्ज पारेर हामी सबैलाई सुनाउने गरी अलिकति स्वर उचालेर भन्नुभयो “त्यहाँ एउटा पुलिस चौकी छ, हामी बजारबाट जान सक्दैनौँ । बजारमाथिबाट पनि बाटो काट्न सकिन्न । बाटै छैन । हामीले तलबाट बजार काट्नुपर्छ ।”

बीरबहादुरको सल्लाह मानेर हामी फेरि तलतिर ओरालो लाग्यौँ । बाटोमा नपुग्दै बजारमा कोही मान्छेका ख्वाक्क आवाज आयो । हाम्रा पाइलाहरू ठिङ्ग रोकिए । हामीमध्ये केहीले टाउको घुमाएर बजारलाई नियाल्यौं । तर हाम्रो अगुवा हुनुभएको बीरबहादुरले खोकीको वास्तै गर्नुभएन । उहाँ होशियार भएर तलतिर ओर्लिरहनु भएको थियो । हामी पनि उहाँलाई पछ्याउँदै ओरालो लाग्यौँ ।

हामी बाटोमा झर्‍यौँ, तर बाटोमा हिँडेनौँ । पाँच-छ पाइला पिचमा हिँडेपछि हामी एउटा सानो गोरेटोबाट तलतिर झर्‍यौँ । बाटोको तलतिर खेत थियो । खेत सुक्खा थिएन । सायद नजिकै कतै कुलो थियो र कुलोको पानी बगेको आवाजले रातको सुनसानभित्र सङ्गीतको आवाज दिइरहेको थियो ।

खेतको आलीमा होशियार भएर हिँड्दा पनि हाम्रा जुत्ताहरू छप छप गर्दै पानीमा र हिलोमा डुब्ने गर्थे । जुत्ता डुब्दा आउने छाप आवाजले हामी सबैलाई झसङ्ग पार्थ्यो र त्यस्तो बेलामा हामी फर्पिङ बजारको उज्यालोतिर नियाल्न पुग्थ्यौँ । मनभित्र मान्छेले थाहा पाउलान् कि भन्ने त्रास र अनुहारको मोहोडा घरि घरि बजारतिर घुम्ने गर्नाले हामी धेरैजसो कुठाउँमा पाइलो टेक्न पुग्थ्यौँ र लडौँला लडौँला जसरी लर्बरिन्थ्यौँ । हुँदाहुँदै जीवन त एउटा आलीबाट तल्लो गरामा ब्ल्याङ्गै पछारिइहाले ।

‘धप्प’ गरेर हामी वरपरिको वातावरणलाई नै झस्काउँदै आएको आवाजले हाम्रो सातो नै लग्यो । बीर बहादुर जीवनलाई सम्हाल्न तल्लो गरामा झर्नु भयो । धन्न तल्लो गरो सुख्खा रहेछ। जीवनलाई केही भएको थिएन । हाम्रो यात्रा नरोकिइ अगाडि बढ्यो ।

फर्पिङ बजार विस्तारै पछाडि छुट्‌यो । हामी धेरै पर पुगिसकेका थियौँ । उज्यालोले हामीलाई तर्साउन पनि छोडिसकेको थियो। एउटा कुइनेटाले त्यो उज्यालोलाई पनि छोपिदियो ।

अब हामी फेरि उकालो लाग्यौं ।

गाउँ ब्यूँझन थालिसकेको थियो । मान्छेहरूको खाक खाक खुक खुक विस्तारै बढ्दै थियो । बीर बहादुर जबरजस्ती यात्रालाई तन्काउन खोजिरहनु भएको थियो । हामीले भुइँमा उज्यालो खस्नु अघि नै जङ्गल पुगिसक्नु पर्ने थियो ।

उज्यालो खस्न लागेको बेलामा पाँच-सात जना दाउरेनीहरूले हामीलाई भेटे हाम्रो लामो लस्कर देखेर उनीहरू छक्क परे र ठिङ्ग उभिएर हामीलाई टुलु टुलु हेर्न थाले ।

अब मूल बाटोबाट हिँड्न बिलकुलै सम्भव थिएन । छ्याङ उज्यालो हुनै लागेको बेलामा एउटा निर्जन स्थानमा हामी बाटो छाडेर चन्द्रागिरिको जङ्गलतिर लाग्यौं ।

‘नक्खु जेलमा यति बेला के भइरहेको होला ?’ मैले मनमनै भनेँ । (क्रमश… २०८३ जेठ ९ गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

Author

Share the News

Recent News

Related News