मानव आवाज

२०८३ असोज २१ गते
00: 00: 00
२०८३ असोज २१ गते

अस्पतालमा भेटिएका भगवान् !

बिमला देवकोटा आचार्य

केही दिनदेखि म आफैँभित्र एउटा प्रश्न बोकेर हिँडिरहेकी छु-किन यति धेरै परीक्षा मेरै जीवनमा ? जीवनका केही मोड यस्ता हुँदा रहेछन्, जहाँ मानिस अरूलाई होइन, आफैँलाई प्रश्न गर्न थाल्छ। आफ्नै भाग्यसँग संवाद गर्छ । आफ्नै यात्रालाई पछाडि फर्केर हेर्छ । अनि आफूले पार गरेका बाटाहरू, सहिएका पीडा र भेटिएका मानिसहरूलाई सम्झिन थाल्छ ।

नौ-नौ पटकका शल्यक्रिया, दीर्घरोगसँगको निरन्तर सहयात्रा, नियमित औषधि, इन्सुलिनसँगको दैनिकी र शरीरले दिएका अनगिन्ती चुनौतीहरू सम्झँदा कहिलेकाहीँ मन थाक्छ । शरीर पीडा सहँदै बाँच्न सिक्दो रहेछ तर मनले सहनुपरेका केही चोटहरू शरीरका घाउभन्दा पनि गहिरा हुँदा रहेछन् । शरीरमा लागेको घाउ देखिन्छ । त्यसको उपचार हुन्छ । पट्टी बाँधिन्छ । समयसँगै निको पनि हुन सक्छ । तर, मानिसको व्यवहारबाट लागेको घाउ कहाँ देखिन्छ र ? त्यसको कुनै पट्टी हुँदैन रहेछ । कुनै औषधि बनेको रहेनछ ।

कतिपय शब्द र व्यवहारका चोट धारिलो हतियारले काटेको घाउभन्दा पनि गहिरा हुन्छन् । ती बाहिर देखिँदैनन् तर मनको गहिराइसम्म पुग्छन् । जीवनमा केही मानिसहरू आफ्नो स्वार्थ पूरा गर्न असाध्यै नजिक आउँछन् । आत्मीयताको भाषा बोल्छन् । विश्वासको हात समाउँछन् । तर, स्वार्थ पूरा भएपछि त्यही आत्मीयता कहाँ हराउँछ, पत्तै हुँदैन । शब्द फेरिन्छन्, व्यवहार फेरिन्छ, दृष्टिकोण बदलिन्छ । हिजो आत्मीय लाग्ने मानिस आज पराईजस्तो भएर उभिन्छ । यस्ता क्षणहरूले मानिसको वास्तविक परिचय उसको बोलीमा होइन, कठिन समयमा देखिने व्यवहारबाट थाहा हुन्छ भन्ने सिकाउँदोरहेछ ।  सायद त्यसैले होला म अहिले मानिसलाई अलि फरक ढङ्गले हेर्न थालेकी छु ।

हामी मन्दिरमा भगवान् खोज्छौँ । मूर्तिअगाडि उभिएर प्रार्थना गर्छौँ । आफ्नो दुःख सुनाउँछौँ । तर, जीवनका कठिन घडीहरूले बिस्तारै सिकाउँदा रहेछन्-भगवान् सधैँ मूर्तिभित्र मात्र हुनुहुन्न । कहिलेकाहीँ उहाँ कुनै मानिसको स्वरमा भेटिनुहुन्छ । कसैको सहानुभूतिपूर्ण व्यवहारमा भेटिनुहुन्छ । काँपिरहेको मनलाई थामिदिने हातमा भेटिनुहुन्छ । ‘कस्तो छ ?’ भनेर साँचो अर्थमा सोधिने एउटा प्रश्नमा भेटिनुहुन्छ । अस्पताल त्यसबेला उपचार गर्ने ठाउँ मात्र रहँदैन । त्यो एउटा मन्दिरजस्तै पवित्र लाग्न थाल्छ । सेता भित्ताबlच पीडासँग लडिरहेको मानिसलाई आश्वस्त पार्ने चिकित्सक पनि त्यसबेला चिकित्सकको सीमाभन्दा माथि उठेर पीडित मनका लागि भगवान्को रूपजस्तै बन्न पुग्छन् ।

यस्तै एउटा प्रसङ्ग केही वर्षअघिको हो । श्रीमान्जीको पुरानो स्वास्थ्य समस्या फेरि बल्झियो । उपचार केही जटिल थियो । बिरामीका लागि रोग सानो हो कि ठूलो, शल्यक्रिया सामान्य हो कि जटिल भन्ने कुरा त्यतिबेला गौण हुँदो रहेछ । बिरामी र परिवारका लागि हरेक समस्या ठूलो नै हुन्छ । उहाँको उपचारमा चिकित्सकीय दक्षता, प्रविधि र औषधिको भूमिका स्वाभाविक रूपमा महत्वपूर्ण थियो । तर, त्यसलाई सहज बनाउने अर्को पक्ष पनि थियो-मानिसबिचको आत्मीयता, सद्भाव, विश्वास र भावनात्मक सम्बन्ध ।

हामीलाई जोड्ने एउटा सुन्दर संयोग थियो-सर्जन डाक्टर आचार्य र मुटुरोग विशेषज्ञ डाक्टर देवकोटा । म आचार्यकी छोरी, उहाँ देवकोटाका छोरा । त्यतिबेला लाग्यो, कहिलेकाहीँ थर परिचय मात्र हुँदैन रहेछ । थरले सम्बन्धको एउटा अदृश्य पुल पनि बनाइदिँदो रहेछ । आचार्य र देवकोटा-दुई फरक थर । दुई परिवारका फरक परिचय । तर, त्यो क्षणमा ती दुई थरभन्दा माथि उठेर एउटा भावनाले अर्को भावनालाई भेटेको अनुभूति भयो । पहिलो भेटमै चियाको न्यानो कपसँगै एउटा सहज वातावरण बन्यो । त्यहाँ औपचारिकताभन्दा आत्मीयता ठूलो थियो । चियाको स्वादभन्दा त्यसमा मिसिएको अपनत्व न्यानो थियो ।

केही सम्बन्ध परिचयको औपचारिकताबाट सुरु हुन्छन् । केही सम्बन्ध भने पहिलो भेटमै मनको ढोकासम्म आइपुग्छन् । त्यहाँ धेरै कुरा भन्नुपर्दैन । व्यवहारले नै धेरै कुरा भनिसकेको हुन्छ । उहाँहरूको सदाशयता, आत्मीय व्यवहार र शालीनतालाई शब्दमा उतार्न खोज्दा शब्दहरू नै अपुग लाग्छन् । जीवनमा यस्ता अवसरहरू दुर्लभ हुन्छन्, जहाँ उपचारको जटिलता मानवीय सम्बन्धको न्यानोपनले केही सहज बनाउँछ । जहाँ चिकित्सकीय जिम्मेवारीसँगै सेवाभाव र मानवीय संवेदना जोडिएको अनुभूति हुन्छ ।

त्यही क्षणमा मैले फेरि महसुस गरेँ-मानिसको सबैभन्दा ठूलो परिचय उसको थर होइन, उसको व्यवहार रहेछ । तर, कहिलेकाहीँ थरले एउटा आत्मीय ढोका खोलिदिँदो रहेछ । आचार्य र देवकोटा थरबिचको त्यो भावनात्मक निकटताले हामीलाई सहज बनायो । अनि त्यो सहजताले उपचारलाई मात्र होइन, मनलाई पनि केही हलुका बनायो । समाजसेवा गर्ने मानिसहरू धेरै छन् । तर, समाजसेवा सधैँ ठूलो अभियान, ठूलो संस्था वा ठूलो कामको नाम मात्र होइन रहेछ । कसैको कठिन समयमा उसको मन बुझिदिनु, डर कम गरिदिनु, उपचारको कठिन घडीमा आत्मीयता दिनु, बिरामी परिवारलाई ‘तिमीहरू एक्लै छैनौ’ भन्ने अनुभूति गराउनु-सायद समाजसेवाको सबैभन्दा मानवीय रूप यही हो ।

आज केही दिनदेखि तनावमा रहेकी मभित्र यिनै घटनाले एउटा प्रश्न उठायो–किन नलेखूँ ? लेख्नु भनेको सधैँ अरूलाई सुनाउनु मात्र होइन रहेछ । कहिलेकाहीँ लेख्नु आफैँभित्र वर्षौँदेखि थुप्रिएका अनुभूतिलाई एउटा सुरक्षित ठाउँ दिनु पनि रहेछ । केही पीडालाई अक्षरमा राखेर मन हलुका बनाउनु पनि रहेछ । केही मानिसप्रति मनमा बाँकी रहेको कृतज्ञतालाई शब्दमार्फत नमन गर्नु पनि रहेछ ।

जीवनले मलाई धेरैपटक अस्पताल पुर्‍याएको छ । शल्यक्रियाका कोठा देखाएको छ । औषधिका गन्धसँग परिचित गराएको छ । पीडासँग संवाद गर्न सिकाएको छ । रातका सुनसान क्षणमा आफूभित्रको साहस खोज्न बाध्य बनाएको छ । तर, त्यही जीवनले अस्पतालका सेता भित्ताभित्र मानवीयताको उज्यालो पनि देखाएको छ । त्यसैले आज मलाई लाग्छ-मन्दिरमा भगवान् खोज्ने हामीले अस्पतालमा भेटिने भगवान्लाई पनि चिन्न सक्नुपर्छ ।

कहिलेकाहीँ भगवान् बोल्नुहुन्छ । सान्त्वना दिनुहुन्छ । ‘कस्तो छ ?’ भनेर सोध्नुहुन्छ । चिया सम्झनुहुन्छ । उपचारको कठिन घडीमा साथ दिनुहुन्छ । र, कुनै असाधारण काम नगरी, एउटा साधारण मानवीय व्यवहारबाटै मनभित्र आशाको सानो दीप बालिदिनुहुन्छ । सायद यही कारणले आज मेरो मनमा एउटा धरहरा उठेको छ । थरबाट सुरु भएको परिचय, भावनासँग जोडिएको सम्बन्ध र मानवीय सद्भावले बनेको एउटा अदृश्य धरहरा । त्यसको जगमा आत्मीयता छ । भित्तामा विश्वास छ । झ्यालबाट कृतज्ञताको उज्यालो पस्छ । र, त्यसको टुप्पो सायद आकाश छुन लागिसकेको छ । म त्यही धरहराको फेदमा उभिएर सोचिरहेकी छु-जीवनले दिएका सबै घाउहरू गन्न सकिँदैनन् । केही घाउ समयले पनि मेट्न सक्दैन । तर, ती घाउमाथि राखिएका केही आत्मीय हातहरू भने जीवनभर सम्झन सकिन्छ ।

कहिलेकाहीँ एउटा शब्दले जीवनभर साथ दिन्छ । कहिलेकाहीँ एउटा भेटले मनको दिशा बदलिदिन्छ । कहिलेकाहीँ एक कप चियाले अपरिचितलाई आत्मीय बनाइदिन्छ । अनि कहिलेकाहीँ एउटा थरले खोलेको ढोकाबाट प्रवेश गरेको सम्बन्ध थरभन्दा धेरै माथि पुगेर मानवीयताको सम्बन्ध बन्न पुग्छ । त्यस्तो सम्बन्धको ऋण तिर्न सकिँदैन होला । तर, सम्झन सकिन्छ । मनमा राख्न सकिन्छ । र, शब्दहरूमा सानो श्रद्धा अर्पण गर्न सकिन्छ । सायद साहित्य पनि यही त हो-आफूले भोगेको पीडालाई आफ्नै पीडामा सीमित नराखी, त्यसबाट जन्मिएको उज्यालोलाई शब्द बनाएर अरूसम्म पुर्‍याउनु ।

आज म त्यही उज्यालो सम्झिरहेकी छु । र, मनमनै भनिरहेकी छु- थरले परिचय दिन सक्छ, तर व्यवहारले सम्बन्ध बनाउँछ । सम्बन्धले आत्मीय बनाउँछ र आत्मीयताले कहिलेकाहीँ मानिसभित्रकै भगवान्सँग भेट गराउँछ ।

(बिमला प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरमा कार्यरत हुनुहुन्छ ।)

देवकोटाका प्रकाशित अन्य सामग्रीहरू

एउटा पुस्तक, पाँच घण्टा र जीवनभरको स्मृति
जीवनको मूल्य र पीडाको अदृश्य अनुहार

Author

सम्बन्धित समाचार