मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

उर्जाबाट उद्यमशीलता, सेवाबाट समृद्धि

टुकी बत्तीदेखि बिजुलीको चिमसम्म !

२०६१ सालमा ‘लहराबाट बिजुली बल्छ’ भन्दा अचम्म मान्ने १०९ वर्षीय विश्वनाथ तिमल्सिनाको जीवन अन्ततः बिजुलीकै उज्यालोसँग जोडिएर टुङ्गियो । पङ्क्तिकारसँग २०६१ सालतिर उहाँले सोध्नुभएको थियो-“लहराबाट पनि बत्ती बल्छ र ?” समयले उहाँलाई आफैँले सोधेको प्रश्नको उत्तर दिन बाध्य बनायो । पछि उहाँ आफ्नै हातले स्वीच थिचेर बत्ती बाल्ने र निभाउने गर्नुहुन्थ्यो । १९६८ सालमै उहाँको घरभन्दा पारीबाट बिजुली निकालिएको थियो । नेपालकै पहिलो जलविद्युत् आयोजना फर्पिङ नजिकैको देवीचौरमा उहाँको घर । विश्वनाथ दुई वर्षको हुँदा नेपालमा पहिलोपटक बिजुली बलेको थियो, तर आफ्नै घरमा भने ९५ वर्षको उमेरमा मात्र बत्ती बल्यो त्यो पनि समुदायको पहलमा ।

दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारीले २०६१ साल भदौ २ गते देवीचौरबाट ग्राहक सेवा सुरु गर्‍यो । नेपालकै पहिलो विद्युत् सहकारीले सेवा दिएको दुई दशक नाघिसकेको छ । अभियान सुरु भएको २७ वर्ष र सहकारी दर्ता भएको २५ वर्ष पूरा भइसकेको छ । यस अवधिमा दक्षिण ललितपुरका तीन गाउँपालिकाका १८ ओटा वडा र गोदावरी नगरपालिकाको वडा नं ७ गरी १९ वडाका ७  हजार ५ सय भन्दा बढी घरधुरीमा विद्युत् सेवा पुगेको छ । सहकारीले बत्ती बालेका गाउँपालिकाहरूमा बागमती महाङ्काल र कोञ्ज्योसोम हुन् । यि काठमाडौँ उपत्यका तीन जिल्ला काठमाडौँ भक्तपुर र ललितपुरमा भएका गाउँपालिका हुन् । यि तीन जिल्लामा यिबाहेक अरू सबै नगरपालिका छन् ।

समुदायको शक्तिः अँध्यारो चिर्दै उज्यालो

दक्षिण ललितपुरका घरघरमा बिजुली बाल्ने सपना समुदायको सामूहिक प्रयासले साकार पारेको हो । यो उपलब्धि सजिलै आएको होइन । लामो सङ्घर्ष, धैर्य र सहकार्यको परिणाम हो । सुरुमा १९ गाविसमा सेवा विस्तार गरिएको थियो । देवीचौरका केही वडामा प्राधिकरणको सेवा भए पनि अहिले ती क्षेत्रका बासिन्दासमेत सामुदायिक विद्युततर्फ आकर्षित भइरहेका छन् । यसको मुख्य कारण हो–अपनत्व र सहभागिता । अहिले पनि बुरुञ्चुलीका ग्राहक देवीचौरको जस्तै सुविधा चाहन्छन् । सहकारीले व्यवस्थापनको जिम्मेवारी लिएका गाउँमा मर्मतसम्भार पनि छिटो भएका उदाहरणबाट अन्यत्रका ग्राहक पनि समुदायको मातहत रहन उत्प्रेरित भएका हुन् । विशेषगरी २०८१ असोज १२ गते गएको बाढीबाट विद्युत्को क्षेत्रमा परेको क्षतिबाट पुनर्निर्माण गरेको छोटो अवधिलाई अन्यत्रका उपभोक्ताले नमूनाका रुपमा लिएका छन् । समुदाय जुरुक्कै उठेपछि समस्या समाधानका लागि निकै सहज हुने धेरै उदाहरण छन् । सामुदायिक वनजस्तै सामुदायिक विद्युत् पनि सफल नमूना बनेको छ । समुदायले आफ्नै समस्या समाधान गर्न सक्ने क्षमता राख्छ भन्ने यसको प्रमाण हो । २०५१ सालको “आफ्नो गाउँ आफैँ बनाउँ” अभियानजस्तै, यहाँ पनि समुदायले नेतृत्व र व्यवस्थापन दुबै सम्हालेको छ ।

विस्तारको कथाः सदस्यतादेखि सेवासम्म

सुरुमा ३५ २०६१/०६२ मा २ सय ५९ सदस्यबाट सुरु भएको सहकारी २०८१/०८२ सम्म आइपुग्दा ५ हजार ५ सय ६३ सदस्यसम्म पुगेको छ । यो करिब दुई दशकमा २१ गुणा वृद्धि हो । प्रारम्भिक वर्षहरूमा वृद्धि मध्यम थियो-संरचना निर्माण र जनचेतना विस्तारकै चरण । तर, २०६७/०६८ पछि सदस्यता तीव्र रूपमा बढ्न थाल्यो । २०७३/०७४ मा त उल्लेखनीय उछाल देखियो, जसले संस्थाको प्रभाव र विश्वास दुवै बढेको सङ्केत दिन्छ । पछिल्ला वर्षहरूमा वृद्धि स्थिर भए पनि निरन्तर छ । यो संस्थाको परिपक्वताको सङ्केत हो । त्यस्तै, २०८२ पुससम्म आइपुग्दा ७ हजार ७ सय ५ घरधुरी र व्यवसायमा विद्युत् सेवा पुगेको छ । सहकारी हुनुअघि यो अभियान समितिका नामले सक्रिय थियो । अभियान समितिले केही समय पार गरेपछि मात्रै सहकारीको जन्म भएको हो ।

सामुदायिक ढाँचाको सफलता

प्राधिकरणले घना बस्तीमा प्राथमिकता दिएको अवस्थामा सहकारीले दुर्गम र पातलो बस्तीमा सेवा विस्तार गर्‍यो । यही कारण समुदायमा यसको स्वीकार्यता बढ्यो । विद्युत् पुगेपछि गाउँमा साना उद्योग फस्टाए, विद्यार्थीको पढाइमा सुधार आयो, स्वास्थ्य सेवा सहज भयो । मटितेलको टुकी विस्थापित भएसँगै स्वास्थ्य जोखिम पनि घट्यो । गाउँ झिलिमिली हुँदा जनजीवन पनि झन् उज्यालो बनेको छ ।

आकर्षणको केन्द्र बन्दै सामुदायिक विद्युत्

गोदावरी नगरपालिका-७, देवीचौर (साविक देवीचौर गाविसका वडा नं १,२ र ३ बुरुञ्चुली)का बासिन्दाले पनि सामुदायिक विद्युत् सेवा लिन चाहना व्यक्त गरेका छन् । गाउँमै सहज रूपमा महसुल बुझाउन पाइने व्यवस्था, छिटो र भरपर्दो सेवा, साथै सेवाप्रदायकप्रति अपनत्वको भावले यसतर्फको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ । सामुदायिक ढाँचाले स्थानीय स्तरमै निर्णय र व्यवस्थापन सम्भव बनाएकाले सेवाप्रति विश्वास अझ बलियो बनेको छ, जसले नयाँ क्षेत्रहरूमा विस्तारको मागलाई पनि तीव्र बनाइरहेको छ ।

यसका साथै, प्राविधिक चुहावट बाहेक अन्य प्रकारका चुहावट नगन्य रहनु अर्थात् विद्युत् चोरी प्रायः शून्य हुनु सामुदायिक व्यवस्थापनको एक महत्वपूर्ण उपलब्धि हो । स्थानीयको प्रत्यक्ष सहभागिता र जिम्मेवारीबोधले पारदर्शिता र अनुशासन कायम राख्न मद्दत गरेको छ । यही कारणले सामुदायिक विद्युत् सेवा केवल सुविधा मात्र नभई विश्वास, उत्तरदायित्व र दिगोपनको उदाहरणका रूपमा स्थापित हुँदै आकर्षणको केन्द्र बन्दै गएको छ ।

अनुभवले सिकाएको सत्य

सुरुमा ‘सरकारले नसकेको काम’ भनेर आलोचना गर्नेहरू नै अहिले सहकारीका शेयर सदस्य बनेका छन् । केही समय राजनीतिक पूर्वाग्रहका कुरा पनि आए । तर, राजनीतिक पूर्वाग्रह लामो समय टिक्न सकेन । बत्ति बाल्ने उपभोक्ता सबै शेयर सदस्य हुने व्यवस्थाका कारण राजनीतिका कुरा गरेर साध्य हुने पनि भएन । शेयर सदस्यता अनिवार्य भएकाले स्थानीयमा अपनत्व बढेको छ । आफ्नै लगानीमा आफ्नै घर उज्यालो पार्दा गर्व पनि बढेको छ । दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी केवल सेवा प्रदायक संस्था होइन–यो समुदायको शक्ति, विश्वास र सहकार्यको ज्वलन्त उदाहरण हो । यसले देखाएको बाटो स्पष्ट छ–जब समुदाय जाग्छ, विकास सम्भव हुन्छ ।

अबको बाटो

दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्थाको अथक प्रयासले आज दक्षिण ललितपुरका प्रायः सबै घरधुरीमा उज्यालो पुगेको छ । ऊर्जा पहुँच विस्तारसँगै शिक्षा, स्वास्थ्य, सूचना र दैनिक जीवनका आधारभूत पक्षहरूमा सकारात्मक परिवर्तन देखिएको छ । उज्यालोले केवल घर झलमल्ल बनाएको छैन, यसले सम्भावनाका नयाँ ढोका पनि खोलेको छ । त्यसैले अबको ध्यान विद्युत आपूर्तिमा सीमित नरही, ‘ऊर्जाबाट उद्यमशीलता, सेवाबाट समृद्धि’ को मूल मन्त्रलाई आत्मसात् गर्दै आर्थिक रूपान्तरणतर्फ उन्मुख हुनुपर्छ ।

अबको चरणमा विद्युतलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्दै स्थानीय नागरिकलाई उद्यमशील बनाउन आवश्यक छ । साना तथा मझौला उद्योग, कृषि प्रशोधन, पर्यटन सेवा, सूचना प्रविधिलगायतका क्षेत्रमा ऊर्जा प्रयोग गरी रोजगारी सिर्जना गर्नु पर्छ । सहकारी संस्थाले गुणस्तरीय सेवा, सिप विकास र लगानी सहजीकरणमार्फत सदस्यहरूलाई उद्यमशील यात्रामा अगाडि बढाउन भूमिका खेल्नुपर्छ । यसरी ऊर्जा र सेवाको प्रभावकारी उपयोगले मात्र दिगो समृद्धि हासिल गर्न सकिन्छ र उज्यालो गाउँलाई समृद्ध समाजमा रूपान्तरण गर्न सकिन्छ ।

Author