ललितपुर । इकुडोलको माझखण्डमा रहेको महारुद्रेश्वर परिसरलाई शिवधामका रुपमा विकास गर्नुपर्नेमा १००८ स्वामी रमणानन्द गिरीले जोड दिनुभएको छ ।
बृहत् पाशुपत पदयात्राका क्रममा २०८२ वैशाख ३ गते महारुद्रेश्वर पुग्नुभएका गिरीले तपोभूमिका रुपमा रहेको यो क्षेत्रलाई शिवधामका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको हो ।
काठमाडौं उपत्यका हुँदै विभिन्न जिल्लाहरू समेटिएको ऐतिहासिक तथा आध्यात्मिक पदयात्रा अहिले विशेष आकर्षणको केन्द्र बनेको छ ।
६४ सिद्धज्योतिर्लिङ्गहरूको दर्शन-पूजन गर्ने उद्देश्यसहित अघि बढिरहेको यस यात्रामा सहभागी तीर्थयात्रीहरूले हालसम्म १५ ओटा सिद्धज्योतिर्लिङ्गमा पूजा अर्चना सम्पन्न गरेका छन् ।

१६औँ सिद्धज्योतिर्लिङ्गतर्फ अघि बढ्ने क्रममा टोलीले दक्षप्रजापतिको यज्ञस्थलका रूपमा परिचित तथा महारुद्रेश्वर स्वरूपमा विराजमान भगवान शिवको मन्दिरमा विशेष पूजा सम्पन्न गरेको छ ।
ललितपुरको माझखण्डमा अवस्थित यो मन्दिरमा १००८ स्वामी रमणानन्द गिरीलगायतले पुजाअर्चना गर्नुभएको हो ।
झण्डै १ सय जना भक्तजनहरू सहभागी रहेको यस पदयात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरताको सशक्त सन्देश दिएको छ ।
तीर्थयात्रीहरूले आध्यात्मिक ऊर्जा भरिएको पावन भूमि माझखण्डमा सामूहिक रूपमा पूजा, भजन र आराधना गर्दै वातावरणलाई भक्तिमय बनाएका थिए ।
पूजा सम्पन्न गरेपछि टोली आगामी गन्तव्य नटराम्मेश्वर महादेवतर्फ प्रस्थान गरेको छ । ६४ ओटै धाममा पैदल यात्रा गर्ने यो टोली वैशाख ३ गते बेलुका भट्टेडाँडामा बसेको छ ।
यस यात्राले सिन्धुलीदेखि सुरु भई दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, धादिङ, नुवाकोट, भक्तपुर हुँदै काठमाडौंसम्मका विभिन्न धार्मिक स्थलहरूलाई समेट्दै अघि बढिरहेको छ ।
कुशेश्वर महादेवदेखि रुद्रागारेश्वर महादेवसम्म फैलिएको ६४ सिद्धज्योतिर्लिङ्गहरूको यो श्रृङ्खला हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

धार्मिक पर्यटनको प्रवर्धन, सांस्कृतिक सम्पदाको संरक्षण तथा आन्तरिक एकताको सन्देश बोकेको यस पदयात्राले स्थानीय स्तरमा पनि उत्साह थपेको छ ।
विभिन्न स्थानका स्थानीय बासिन्दाले तीर्थयात्रीहरूको स्वागत गर्दै सहयोग पुर्याइरहेका छन् भने यसले धार्मिक चेतना अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
आयोजकका अनुसार सम्पूर्ण ६४ सिद्धज्योतिर्लिङ्गहरूको दर्शन-पूजन सम्पन्न गरेपछि यात्रा समापन गरिनेछ ।
यस किसिमको लामो धार्मिक पदयात्राले श्रद्धालुहरूमा आत्मिक शान्ति, अनुशासन र समर्पण भाव अभिवृद्धि गराउने विश्वास गरिएको छ ।

१००८ स्वामी रमणानन्द गिरीले यो यात्रालाई धार्मिक आन्दोलनका रुपमा बुझ्न आग्रह गर्नु भएको छ ।
उहाँले भन्नु भयो-‘यो हाम्रो धार्मिक आन्दोलन हो । यो दबाब अभियान हो । सरकारलाई सहकार्यका लागि गरिएको आह्वान हो ।’
राष्ट्रदेव पशुपतिनाथ मन्दिर प्रति श्रद्धा प्रकट गर्दै तथा पाशुपत क्षेत्रको संरक्षण, प्रवर्धन र आध्यात्मिक महत्त्वलाई थप सुदृढ बनाउने उद्देश्यले ‘पाशुपत पदयात्रा’ आयोजना गरिएको छ ।
आयोजकले पञ्चसूत्रीय सङ्कल्पसहित सुरु गरिएको उक्त पदयात्राले धार्मिक, सांस्कृतिक तथा सामाजिक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
पदयात्राको प्रमुख उद्देश्यहरूमा शिवापराधको क्षमायाचना, पाशुपत क्षेत्रलाई मानवीय तथा राजनीतिक प्रदूषणबाट मुक्त राख्न राज्यलाई खबरदारी, तथा हिन्दु, बौद्ध र किराँत समुदायको साझा आस्थाको केन्द्रका रूपमा रहेको क्षेत्रलाई आध्यात्मिक समन्वयको प्रतीकका रूपमा विकास गर्ने लक्ष्य समेटिएको छ ।
साथै, मठमन्दिर तथा देवमूर्तिको नित्य पूजाआजा र साधुसन्तहरूको निवास व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय र अनुगमन गर्ने योजना पनि अघि सारिएको छ ।
आयोजकका अनुसार पदयात्राका क्रममा ६४ सिद्धज्योतिर्लिङ्गहरूको दर्शनपूजन, बागमती परिक्रमा तथा ‘पशुपति संवाद’ जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
यसले पाशुपत क्षेत्रको महिमा उजागर गर्दै धार्मिक पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
पदयात्रामा सहभागी पदयात्री तथा तीर्थयात्रीहरूलाई आयोजकले शुभकामना व्यक्त गर्दै यस अभियानले नेपाललाई ‘गुरुराष्ट्र’का रूपमा चिनाउने दिशामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।