मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

चर्को घाममा जीवनसँग जुध्दै सिन्धुलीका पौरखी महिलाहरू

रुद्रबहादुर खड्का, सिन्धुली

यतिखेर वैशाखको चर्को घामले जमीन तातेको छ । घामबाट जोगिने छहारी कतै छैन । छाता ओढेर ग्राहकको प्रतीक्षामा बसिरहेका छन्-ढाटिमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइवा । छाताले टाउको त ढाकेको छ, तर जीवनका सङ्घर्षहरू ढाकिएका छैनन् । फागुन-चैतको आँधी होस्, वैशाख-जेठको तातो घाम वा असार-साउनको झरी-यी महिलाहरू दैनिक हाट र फुटपाथमा जीवनसँग जुधिरहेका हुन्छन् ।

७१ वर्षीया ढाटिमाया दर्जीको व्यापारिक यात्रा झन्डै तीन दशक लामो छ । २८ वर्षअघि ३५ रुपियाँको सानो लगानीबाट सुरु भएको उहाँको व्यवसायिक यात्रा आज करिब ३५ हजार रुपियाँसम्म आइपुगेको छ । “किसानसँग दुई रुपियाँमा किनेको फापरको साग पाँच रुपियाँमा बेच्दा पहिलोपटक नाफा कमाएँ ।” उहाँ विगत सम्झनुहुन्छ-“त्यही सानो सुरुवातले आजसम्म धानेको छ ।”

पहिले सिन्धुलीसँगै रामेछाप र दोलखाका हाट-मेलामा पुग्ने उहाँ अहिले पनि सदरमुकाम सिन्धुलीमाढीको शनिबारे हाटमा नियमित रूपमा व्यापार गर्नुहुन्छ । साग, अदुवा, बेसार, केरा, खुर्सानीदेखि गुन्द्रुकसम्म-गाउँमै उत्पादन भएका सामानहरू उहाँको थलोमा सजिएका हुन्छन् ।

“आफ्नै पौरखमा बाँचेकी छु ।” उहाँ भन्नुहुन्छ- “आजसम्म कसैसँग हात फैलाउनु परेको छैन ।” तर, आज आमाको मुख हेर्ने दिनमा पनि उहाँका आँखामा सन्तानको प्रतीक्षा छ । आठ सन्तानमध्ये धेरैलाई गुमाइसक्नुभएकी उहाँसँग बाँचेका दुई छोराको पनि साथ छैन । घामको तापभन्दा बढी उहाँलाई सन्तानको सम्झनाले पोल्छ ।

ढाटिमायाकै सहयात्री हुनुहुन्छ ८० वर्ष पार गरिसकेकी सुकुमाया थिङ । ३५ वर्षदेखि हाटहाटमा घुमेर व्यापार गर्दै आउनुभएकी उहाँ भन्नुहुन्छ-“आफ्नो गोडामा उभिएपछि कसैले हेप्न सक्दैन । शरीरले साथ दिएसम्म मिहेनत गरिरहन्छु ।” भिमानदेखि सिन्धुलीमाढी हुँदै दोलखासम्मका हाटमा पुग्नुभएकी उहाँ अझै पनि सक्रिय हुनुहुन्छ । सानो लगानीमै पनि जीवन धान्न सकिन्छ भन्ने उहाँको अनुभवले सिकाएको पाठ हो ।

७२ वर्षीया फूलमाया वाइवाको जीवन पनि उस्तै सङ्घर्षले भरिएको छ । ३१ वर्षदेखि शनिबारे हाटमा व्यापार गर्दै आउनुभएकी उहाँ गाउँका अर्गानिक उत्पादन बेच्दै जीविका चलाउनुहुन्छ । “छोरा सेनामा जागिरे छ । तर मैले उसलाई दुःख दिएकी छैन ।”-उहाँ भन्नुहुन्छ-“आफ्नै कमाइले बाँचेकी छु । काम गर्दागर्दै मर्न पाए पुग्छ ।” बजारमा महङ्गी बढ्दा उहाँलाई चिन्ता लाग्छ, तर हिम्मत भने टुटेको छैन ।

हाट मात्रै होइन, सिन्धुलीमाढीका फुटपाथहरू पनि यस्तै सङ्घर्षका कथाले भरिएका छन् । ६० वर्षीया सावित्री थापाले चार वर्षदेखि फुटपाथमा व्यापार गर्दै आउनुभएको छ । बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म उहाँ खुर्सानी, अण्डा, केरा र जडीबुटी बेच्दै बस्नुहुन्छ । बिरामी छोराको जिम्मेवारीले उहाँलाई यो बाटोमा ल्यायो । “दैनिक चार सयदेखि हजार रुपियाँसम्म हुन्छ ।”-उहाँ भन्नुहुन्छ- “त्यहीले घर चलेको छ ।” ८० वर्षीया देवकुमारी भुजेल पनि फुटपाथमै सङ्घर्षरत हुनुहुन्छ । सामाजिक सुरक्षा भत्ताले औषधि नपुगेपछि उहाँ अझै काम गर्न बाध्य हुनुहुन्छ । सन्तानको उपेक्षाले उहाँ एक्लै कोठा भाडामा बसेर जीवन धानिरहनुभएको छ ।

अनितादेवी रामको कथा अझ पीडादायी छ । पतिको निधनपछि तीन सन्तानको जिम्मेवारी उहाँको काँधमा आयो । जुत्ताचप्पल सिलाउने काम उहाँले बाध्यताले सिक्नुभयो । “पहिला घरधन्दामै सीमित थिएँ ।”-उहाँ भन्नुभुन्छ-“छोराबाट सिकेर यो काम थालेँ ।” आज उहाँ बिहान घरधन्दा सकेर फुटपाथमा बस्नुहुन्छ । दिनभरि जुत्ता सिलाउँदा औँला छेडिन्छन्, पाखुरा दुख्छ । “दुःखको काम हो, तर नगरी हुँदैन ।”-उहाँ भन्नुभुन्छ । महिला भएकै कारण ग्राहक कम आउने गुनासो पनि छ । “कतिपयले ‘यो काम पुरुषले गर्ने हो’ भनेर हेला गर्छन् ।”-उहाँ सम्झनुहुन्छ । तैपनि, उहाँले हार मान्नुभएको छैन । छोराछोरीलाई पढाउँदै, पसिना बगाउँदै उहाँ अघि बढिरहनुभएको छ ।

फुटपाथका साना व्यापारीहरूलाई बेलाबेलामा नगर प्रहरीले हटाउँछ । स्थायी व्यवस्थापन नहुँदा उहाँहरू झन् समस्यामा पर्नुहुन्छ । स्थानीय तहले प्रयास गरेको दाबी गरे पनि समस्या ज्यूँका त्यूँ छ । तर, यी महिलाहरूमा गुनासोभन्दा बढी आत्मसम्मान छ । थोरै विस्मात आफ्नो भाग्यसँग भए पनि उहाँहरू कसैलाई दोष दिनुहुन्न । चर्को घाममा पसिना बगाउँदै उहाँहरू एउटा विश्वास बोकेर बस्नुभएको छ-आजको सङ्घर्षले भोलिको जीवन केही सजिलो बनाउनेछ ।

Author

Related News