जयराम तिमल्सिना
उद्योगीले बिजुली महशुल नतिरेका हैन रहेछन् । प्राधिकरणले तिमीहरूले परारको साल तिरेको पैसाले पुगेन अरु पैसाले भन्दै चिठी (बिल होइन) पठाएको रहेछ । उद्योगीले त्यतिबेला प्रयोग गरेको बिजुलीको पूरा विवरण हेरेर मात्र पैसा तिर्छौँ भनेका रहेछन् । प्राधिकरणले त्यो विवरण दिएको रहेनछ । मतलब झगडा क्रेता र बिक्रेताको बिल नमिलेको झगडा रहेछ । बसेर खातापाता हेरेर हिसाब मिलाउनु पर्ने थियो । दुबै विजेता हुने थिए ।
प्रधिकरणले ३० वटा उद्योगको लाइन काटेको छ रे । ति उद्योगले प्रधिकरणबाट दैनिक (३०० मे.वा.) अथवा मोटामोटी ८ करोड रुपियाँ बराबरको बिजुली खपत गर्ने रहेछन् । उक्त बिजुली प्रधिकरणले अहिले भारतलाई बेचिरहेको होला । या विद्युत गृह नचलाई राखेको होला । मेरो हिसाबमा भारतलाई दिँदै होला ।
नेपाली उद्योगलाई प्रति युनिट १२ रुपियाँमा बेच्ने प्रधिकरणले भारतलाई प्रतियुनिट लगभग भारतीय ३ रुपैयामा (आधा मूल्यमा) बेचेर राम्रै नाफा कमाउँदै होला । मतलब ८ करोडको सामान ४ करोडमा यस्तै भनौँ । मेरो सोझो हिसाब ।
माथिको त प्राधिकरण र उद्योगीको कुरा भए । अब बजारको कुरा गरौँ ।
उत्पादनको क्षमताका बारेमा जान्नेहरू बिजुलीको ३५ देखि ४५ प्रतिशतसम्म उत्पादन हुने मान्यता राख्ने रहेछन् । यसको मतलब ८ करोड रुपियाँ मूल्य बराबरको बिजुली किनेर उद्योगीले ५० करोड रुपिपयाँ बराबरको सामान उत्पादन गरेर बजार पठाउने रहेछन् । उक्त सामानको ट्रेडिङ हुँदै उपभोक्तासम्म पुग्दा १ अरब रुपियाँभन्दा माथिको बजार बनेको हुने रहेछ । यस मूल्यमा अन्तशूल्क, भ्याट र कर आदि गरेर ३० प्रतिशत सरकारको खातामा पुग्ने रहेछ । मतलब दैनिक ३० करोड सरकारको राजश्व गुम्यो । अब यो सामान कुन् देशबाट किनेर ल्याउने हो । प्रधिकरणका ठेकेदार पनि तयार होलान् । लगानी उठाउन ।
उद्योगहरू बन्द हुँदा प्रत्यक्ष २५ हजार जनाको रोजगारी गुम्या छ रे । बजारमा सामान पुगेपछि प्रमुख विक्रेता, विक्रेता, खुद्रा पसल, ढुवानी गर्ने सवारी साधनलगायतका जनशक्ति सबै गर्दा अरू २५ हजारको रोजगारीमा समस्या छ भन्दा रहेछन् । मलतब ५० हजार गुणस्तरीय मजदुर खाडीले पाउने सम्भावना भयो अब ।
घाटा र समस्याको सूची
- विद्युत गृहले पूर्ण क्षमतामा चलाउन नपाउँदा उत्पादन गृहको घाटा ।
- प्रधिकरणको दैनक ४ करोडको घाटा ।
- सरकारको दैनिक ३० करोडको राजश्व घाटा ।
- ५० हजार मजदुरको भोको पेट ।
आउनुहोस् हामी सबै मिलौँ । स्वाभिमानी होऔँ । घर जलाएपछि खरानीको के खाँचो । अब खरानीकै व्यापार गरौँ । खरानीकै दलाली गरौँ । विश्वसामु नयाँ निर्माणको नमुना बनौँ । *(लेखकको निजी विचार)